Siraha Times
ताजा समाचार

हिंसाले जले २० करोडका दुई व्यवसाय पीडित व्यवसायीको भावुक अपिल

  • साउन १७, २०८३
  • १५०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, साउन १७ । सिरहा जिल्लाको गोलबजारमा गत बिहीबार भएको हिंसा तथा आगजनीबाट पूर्ण रूपमा व्यवसाय गुमाएका पीडित व्यवसायीले सरकार, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, उचित क्षतिपूर्ति तथा व्यवसाय पुनःस्थापनाका लागि सहयोगको माग गरेका छन्।

हिंसाका क्रममा गोलबजारस्थित नेहाल आइरन स्टोर र अहान प्लाइउड सप्लायर्स पूर्ण रूपमा जलेर नष्ट भएको पीडित पक्षले जनाएको छ। ती व्यवसायका सञ्चालक सबिर खानका अनुसार नेहाल आइरन स्टोरमा करिब १५ करोड रुपैयाँ बराबरको सामान तथा अहान प्लाइउड सप्लायर्समा करिब ५ करोड रुपैयाँ बराबरको सामग्री रहेको थियो। आगजनीका कारण दुवै व्यवसाय पूर्ण रूपमा नष्ट हुँदा करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको उनको दाबी छ।

सबिर खानले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “वर्षौँदेखि पसिना बगाएर, ऋण–लगानी गरेर र दिनरात मेहनत गरेर बनाएको हाम्रो व्यवसाय केही समयमै खरानीमा परिणत भयो। यो केवल पसल जलेको घटना मात्र होइन, हाम्रो परिवारको भविष्य, हाम्रो संघर्ष र जीवनभरको सपना जलेको पीडा हो।”

उनका अनुसार यी दुवै व्यवसाय नै परिवारको मुख्य आम्दानीको आधार थिए। यही व्यवसायबाट परिवारको दैनिक खर्च, घरपरिवारको जिम्मेवारी तथा तीन जना छोरीहरूको शिक्षा सञ्चालन हुँदै आएको थियो। हाल तीनै जना छोरीहरू घरभन्दा टाढा बसेर आफ्नो भविष्य निर्माणका लागि अध्ययनरत छन्। व्यवसाय पूर्ण रूपमा नष्ट भएपछि उनीहरूको पढाइ, पारिवारिक जीवनयापन र भविष्य नै अन्योलमा परेको उनले बताए।

“हामी अहिले अत्यन्तै ठूलो आर्थिक संकटमा मात्र होइन, गहिरो मानसिक पीडामा पनि छौँ। जीवनभरको कमाइ एकैछिनमा समाप्त भयो। अब फेरि शून्यबाट सुरु गर्ने अवस्था आएको छ,” उनले भावुक हुँदै भने। पीडित परिवारले नेपाल सरकार, गृह प्रशासन, स्थानीय प्रशासन तथा सम्बन्धित सबै निकायसँग घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै आगजनीबाट भएको ठूलो आर्थिक क्षतिको यथार्थ मूल्याङ्कन गरी पीडित परिवारलाई राहत, उचित क्षतिपूर्ति तथा व्यवसाय पुनः सञ्चालनका लागि विशेष सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।

सबिर खानले हिंसा र आगजनी कुनै पनि समस्याको समाधान हुन नसक्ने उल्लेख गर्दै समाजमा शान्ति, सद्भाव र कानुनी शासन कायम हुनुपर्नेमा जोड दिए। “हामी सबै धर्म, जाति र समुदायको सम्मान गर्छौँ। समाजमा सद्भाव, सहिष्णुता र आपसी विश्वास कायम रहोस् भन्ने हाम्रो चाहना हो। हिंसाले कसैको पनि भलो गर्दैन,” उनले भने। उनले सम्पूर्ण सञ्चारमाध्यम, नागरिक समाज, मानवअधिकारकर्मी तथा सरोकारवाला निकायलाई आफ्नो परिवारले भोगेको पीडा देशभर पुर्यामइदिन आग्रह गर्दै भने, “हामीलाई कसैप्रति प्रतिशोध होइन, न्याय चाहिएको हो। हामीलाई फेरि उभिन सक्ने अवसर चाहिएको हो। सरकारले हाम्रो पीडा बुझोस् र हाम्रो परिवारलाई न्याय तथा सहयोग प्रदान गरोस्।”

गोलबजारमा भएको हिंसा तथा आगजनीको घटनाले स्थानीय व्यवसायीमा त्रास र असुरक्षाको भावना बढाएको छ। पीडित परिवारले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था, कानुनी कारबाही र सामाजिक सद्भाव कायम गर्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा सक्र ...

ओम प्रकाश यादव सप्तरी भदौ ३१ । खडक नगरपालिकामा सक्रिय क्षयरोग (TB) खोजपडताल तथा AI-XRAY सहितको निःशु ...

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१