Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टीमा सर्वपक्षीय सहमति : साउन १८ गते शान्ति–सद्भाव र्‍याली निकालिने

  • साउन १७, २०८३
  • ६१० पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान, १७ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि तराई–मधेशका विभिन्न स्थानमा विकसित परिस्थितिलाई मध्यनजर गर्दै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा शनिबार सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न साउन १८ गते (सोमबार) शान्ति–सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष केदारनाथ यादवको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा पालिकाभित्रका विभिन्न जातजाति र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बैठकमा सुनसरीको कप्तानगञ्ज घटनामा गोली प्रहारबाट ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिरहाको औरही गाउँपालिकाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। बैठकले पछिल्ला घटनाक्रमले तराई–मधेशमा सामाजिक सद्भावमा चुनौती सिर्जना गर्न सक्ने भएकाले सबै पक्षले संयम अपनाई आपसी भाइचारा, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्नुपर्नेमा जोड दिएको छ। यसै निर्णयअनुसार साउन १८ गते बिहान ७:०० बजे वडा नं. ५ स्थित महेशवारी थाना चोकबाट सुरु हुने शान्ति–सद्भाव र्‍याली वडा नं. ३ को परिहारपुर चोक हुँदै खरबोना चोकमा पुगेर समापन गरिने कार्यक्रम तय गरिएको छ।

गाउँपालिका अध्यक्ष केदारनाथ यादवले सम्पूर्ण राजनीतिक दल, विभिन्न जातजाति, धर्म, संस्कृति तथा सबै क्षेत्रका नागरिकलाई र्‍यालीमा सहभागी भई शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्न हार्दिक आग्रह गरेका छन्।

बैठकको निर्णयसहित जारी गरिएको प्रेस विज्ञप्तिमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा, समाजसेवी, युवा नेता, कर्मचारी तथा सञ्चारकर्मीसहित विभिन्न पक्षका प्रतिनिधिहरूले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

सर्वपक्षीय बैठकले वर्तमान परिस्थितिमा अफवाहको पछि नलाग्न, सामाजिक सद्भाव बिग्रने गतिविधिबाट टाढा रहन र शान्तिपूर्ण वातावरण कायम राख्न सबै नागरिकलाई आह्वान गर्दै सामाजिक एकता नै वर्तमान समयको सबैभन्दा ठूलो आवश्यकता भएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१