Siraha Times
ताजा समाचार

सिरहाको गोलबजारमा आगजनीबाट करिब ५ करोडको क्षति भएको दाबी, पीडित व्यवसायीले न्याय र राहतको माग गर्दै पत्रकार सम्मेलन

  • साउन १७, २०८३
  • १००२ पटक पढिएको
  • रहमुल
alt

लहान, १७ साउन । सिरहाको गोलबजार नगरपालिका–८, पुरानो चोहर्वास्थित न्यू असलम बस्त्रालयमा साउन १४ गते बिहिवार सुनसरी घटनाको विरोधमा भएको आन्दोलनका क्रममा आगजनी हुँदा करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको पीडित व्यवसायी असलम खानले दाबी गरेका छन्। उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो परिवारले भोगिरहेको पीडा सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै खानले आगजनीका कारण पसलमा रहेको सम्पूर्ण कपडा तथा अन्य सरसामान जलेर नष्ट भएको, करिब २ लाख रुपैयाँ नगद समेत जलेको र तीन तले घरमा आंशिक क्षति पुगेको बताए। उनका अनुसार उक्त घटनाले पाँच जनाले रोजगारी गुमाएका छन् भने आफ्नो परिवार पूर्ण रूपमा आर्थिक संकटमा परेको छ। भावुक हुँदै उनले भने, “वर्षौंदेखि यस बजारमा सबै जातजाति, भाषा, धर्म र समुदायसँग मिलेर व्यापार गर्दै आएका थियौँ। कहिल्यै कसैसँग विवाद भएन। तर आज हाम्रो परिवार नै सडकमा पुग्ने अवस्था आयो। आखिर हाम्रो गल्ती के थियो?”

खानका अनुसार आगलागीमा पसलका सामान मात्र होइन, करिब २ करोड रुपैयाँ बराबरको उधारो कारोबार सम्बन्धी बहिखाता समेत जलेर नष्ट भएको छ। आगजनी भएको समयमा पसलभित्र रहेका पाँच जना कामदार पनि जोखिममा परेका थिए। उनीहरू कठिन प्रयासपछि सकुशल बाहिर निस्कन सफल भएको उनले बताए। उनले आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै भने, “कहाँको रिस कहाँ पोखियो? यसको मार निर्दोष व्यवसायीले खेप्नुपर्‍यो। यस्तो घटना अत्यन्तै दुःखद र सोचनीय छ।”

आफ्नो आर्थिक अवस्थाबारे जानकारी दिँदै खानले गोलबजार नगरपालिका–११ बलकावास्थित जग्गा बन्धकी राखेर एनआईसी एशिया बैंकबाट २ करोड ८ लाख रुपैयाँ कर्जा लिई व्यापार विस्तार गरेको बताए। तर समयमै कर्जा चुक्ता गर्न नसक्दा बैंकले उक्त सम्पत्ति लिलाम गरिसकेको र अझै पनि करिब २ करोड रुपैयाँ दाबी गरिरहेको उनको भनाइ छ।

उनका अनुसार आर्थिक अभावका कारण पसलको बीमा समेत गर्न नसकिएको थियो। “परिवार चलाउनै मुस्किल भइरहेको बेला यस्तो ठूलो विपत्ति आइपरेको छ। अब हामी कहाँ जाने, के गर्ने?” साहुमहाजन बाट ल्याएको उधारो लत्ताकपडाको रकम कहाँ बाट चुक्ता गर्ने भन्दै उनले भावुक बनेर आफ्नो पीडा सुनाए। खानले सुनसरी र सिरहामा आन्दोलनका क्रममा ज्यान गुमाएका तीन जनाप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घटनाका दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न र आफ्नो परिवारको पुनःस्थापनासहित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

उनले आफू सबै धर्म र समुदायका मानिससँग सद्भावपूर्ण सम्बन्धमा रहेको उल्लेख गर्दै भने, “हामी सबैको सुखदुःखमा सहभागी हुन्थ्यौँ, उहाँहरू पनि हाम्रो घर आउनुहुन्थ्यो। कहिल्यै धर्म वा जातका आधारमा विभेद भएन। तर आज यस्तो अवस्था किन आयो? हामीलाई न्याय चाहिएको छ बताए।

पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका यी सबै दाबी पीडित पक्षले प्रस्तुत गरेको विवरणमा आधारित रहेको छ। उक्त पत्रकार सम्मेलनको भिडियो सामग्री सञ्चारमाध्यमसँग सुरक्षित रहेको छ। घटनाबारे सम्बन्धित निकायबाट हुने छानबिन, क्षतिको आधिकारिक मूल्यांकन तथा सरकारी धारणा आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा सक्र ...

ओम प्रकाश यादव सप्तरी भदौ ३१ । खडक नगरपालिकामा सक्रिय क्षयरोग (TB) खोजपडताल तथा AI-XRAY सहितको निःशु ...

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१