Siraha Times
ताजा समाचार

देवानगन्ज घटनामा नेपाल कुशवाहा कल्याण समाज लहानको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग

  • साउन १२, २०८३
  • ५२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, साउन १२ । नेपाल कुशवाहा कल्याण समाज नगर कार्यसमिति लहान, सिरहाले सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका–३ (साविक कप्तानगन्ज–४) शंकरपुर टोलमा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाजले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेको हो।

समितिका अध्यक्ष रामु महतोद्वारा जारी विज्ञप्तिअनुसार २०८३ साउन १० गते राति करिब ११:१५ बजे दुई समुदायबीच उत्पन्न विवादका क्रममा भएको गोली प्रहारबाट १३ जना स्थानीय र २९ जना नेपाल प्रहरीका सुरक्षाकर्मी घाइते भएका थिए। घाइतेमध्ये उपचारका लागि अस्पताल लैजाँदै गर्दा करिब २२ वर्षीय ओमप्रकाश मेहताको निधन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। मृतक ओमप्रकाश मेहता कृष्णदेव मेहताका छोरा हुन्। समाजले दिवंगत ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

साथै घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ। विज्ञप्तिमार्फत नेपाल सरकारसमक्ष तीन बुँदे माग राखिएको छ। पहिलो, घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि निष्पक्ष र कडा कानुनी कारबाही गर्नुपर्ने। दोस्रो, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने। तेस्रो, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा न्याय सुनिश्चित गर्नुपर्ने माग गरिएको छ। नेपाल कुशवाहा कल्याण समाजले यस घटनाले सामाजिक सद्भावमा असर पुग्न सक्ने भन्दै सम्पूर्ण समुदायलाई संयमता अपनाउन आग्रह गरेको छ। समाजले धार्मिक सहिष्णुता, सामाजिक एकता तथा शान्ति–सुरक्षा कायम राख्दै कानुनी प्रक्रियामार्फत न्याय प्राप्तिका लागि एकजुट हुन सबै पक्षसँग अपिल गरेको छ।

विज्ञप्तिमा नगर कार्यसमिति लहानका अध्यक्ष रामु महतो तथा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, सिरहाका अध्यक्ष राम उदगार महतोले हस्ताक्षर गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न र अफवाहको पछि नलागी कानुनी प्रक्रियामा विश्वास गर्न सबैलाई अनुरोध गरेका छन्। समाजका अनुसार घटनाको निष्पक्ष अनुसन्धान र पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ। साथै यस्ता घटनाले सामाजिक सद्भाव र आपसी विश्वासमा नकारात्मक असर पार्ने भएकाले सबै समुदायबीच संवाद, सहिष्णुता र आपसी समझदारीलाई थप मजबुत बनाउनुपर्नेमा पनि जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१