Siraha Times
ताजा समाचार

सुरुङ्गा नगरपालिकाको १७औँ नगरसभा अधिवेशन सम्पन्न, १ अर्ब ४ करोड ३७ लाख २२ हजार ५०६ रुपैयाँको बजेट सर्वसम्मत पारित

  • असार ३२, २०८३
  • २५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र कुमार यादव सप्तरी असार ३२ । सुरुङ्गा नगरपालिकाको १७औँ नगरसभा अधिवेशनअन्तर्गत दोस्रो बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभा हल, मधुपट्टीमा बिहीबार सम्पन्न नगरसभाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ४ करोड ३७ लाख २२ हजार ५०६ रुपैयाँको कुल बजेट सर्वसम्मत रूपमा पारित गरेको हो ।

नगर प्रमुख गीता चौधरीको अध्यक्षतामा सम्पन्न नगरसभा बैठकमा नगर उपप्रमुख रुद्रबहादुर कार्की विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, नगरपालिकाका सम्पूर्ण वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका शाखा प्रमुखहरू तथा नगरसभाका सदस्यहरूको उपस्थिति रहेको थियो ।

नगरसभामा आगामी आर्थिक वर्षका लागि नगरपालिकाको आय तथा व्ययसम्बन्धी अनुमान, विभिन्न स्रोतबाट प्राप्त हुने राजस्व, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको बजेट प्रस्तुत गरिएको थियो । छलफलपछि नगरसभाले प्रस्तुत बजेटलाई सर्वसम्मत रूपमा पारित गरेको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न आन्तरिक तथा बाह्य स्रोतबाट प्राप्त हुने रकमलाई समेटेर बजेट निर्माण गरेको जनाएको छ । बजेटको आय संरचनाअनुसार गत आर्थिक वर्षको अल्या रकमबाट ७ करोड ९० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, नगरपालिकाको आन्तरिक आयतर्फ १३ करोड ५९ लाख ४२ हजार ५०६ रुपैयाँ अनुमान गरिएको छ ।

प्राकृतिक स्रोत तथा साधनको उपयोगबाट प्राप्त हुने  तथा प्राकृतिक स्रोत उपयोग करबाट १ करोड २० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडअन्तर्गत प्रशासनिक खर्चका लागि ११ करोड ६२ लाख ८० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरी, संघीय सरकारको समानिकरण अनुदानतर्फ १३ करोड ३० लाख रुपैयाँ बजेटमा समावेश गरिएको छ । प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदानतर्फ ९० लाख रुपैयाँ तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ८० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । मालपोत रजिष्ट्रेशनबाट प्राप्त हुने रकमतर्फ पनि ८० लाख रुपैयाँ अनुमान गरिएको छ ।

उल्लेखित विभिन्न स्रोतबाट प्राप्त हुने रकममध्ये बाँडफाँडयोग्य बजेटतर्फ कुल ५० करोड १२ लाख २२ हजार ५०६ रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ । उक्त रकमलाई नगरपालिकाको प्राथमिकता, आवश्यकता तथा विकासका विभिन्न क्षेत्रमा परिचालन गर्ने योजना बनाइएको छ । नगरपालिकाको कुल बजेटमा संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान चालुतर्फ ३१ करोड ९३ लाख रुपैयाँ समावेश गरिएको छ । संघीय सरकारको विशेष अनुदानतर्फ १ करोड रुपैयाँ र समपूरक अनुदानतर्फ ८७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ ९५ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ३० लाख रुपैयाँ तथा समपूरक अनुदानतर्फ २० लाख रुपैयाँ बजेट समावेश गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रमका लागि मात्रै १९ करोड रुपैयाँ बजेट छुट्याइएको छ । नगरपालिकाका अनुसार निशर्ततर्फ ५० करोड १२ लाख २२ हजार ५०६ रुपैयाँ तथा सशर्त, विशेष, समपूरक अनुदान र सामाजिक सुरक्षासहितका शीर्षकमा ५४ करोड २५ लाख रुपैयाँ गरी कुल बजेट १ अर्ब ४ करोड ३७ लाख २२ हजार ५०६ रुपैयाँ पुगेको हो ।

नगरसभाबाट बजेट सर्वसम्मत रूपमा पारित भएसँगै सुरुङ्गा नगरपालिकाको आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा विकास योजनाहरू कार्यान्वयन गर्ने बाटो खुलेको छ । नगरपालिकाले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्दै उपलब्ध स्रोत र साधनको प्रभावकारी परिचालन गर्ने जनाएको छ । नगरसभामा सहभागी जनप्रतिनिधिहरूले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए । बजेटमा नगरवासीको आवश्यकता, स्थानीय विकास, सेवा प्रवाह र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको बताइएको छ ।

नगर प्रमुख गीता चौधरीले नगरसभाबाट पारित बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नगरपालिकाको समग्र विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले जनताको आवश्यकता र अपेक्षाअनुसार योजना तथा कार्यक्रम सञ्चालन गर्न नगर सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नगर उपप्रमुख रुद्रबहादुर कार्कीले बजेट कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारितालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले प्रशासनिक तथा वित्तीय व्यवस्थापनलाई व्यवस्थित गर्दै बजेट कार्यान्वयनमा आवश्यक सहजीकरण गरिने जानकारी दिनुभयो ।

नगरसभाको दोस्रो बैठक सर्वसम्मत निर्णयका साथ सम्पन्न भएपछि सुरुङ्गा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विकास निर्माण, सेवा प्रवाह तथा सामाजिक कार्यक्रमहरूलाई अघि बढाउने तयारी गरेको छ । नगरपालिकाले स्थानीय तहको स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान र अन्य आयका स्रोतलाई समन्वय गरी नगरवासीको हितमा अधिकतम उपयोग गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सडक नाटकबाट लहानमा स ...

लहान असार ३२ । स्वच्छ घरबाट स्वस्थ परिवार र स्वस्थ परिवारबाट सभ्य समाज निर्माण हुने विश्वाससहित लहान ...

युवाहरूलाई स्वरोजगार ...

रासिन्द्र कुमार यादव सप्तरी असार ३२ । युवाहरूलाई सीपमूलक ज्ञान प्रदान गरी स्वरोजगार तथा आत्मनिर्भर ब ...

शौचालय बनेपछि विद्या ...

लहान । विद्यालयमा सुरक्षित, सफा र प्रयोगयोग्य शौचालय निर्माण भएपछि किशोरी विद्यार्थीको विद्यालय जीवन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१