रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएपछि स्थानीयवासी र आफन्तले शवसहित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। धनगढीमाई नगरपालिका–१० निवासी किशन देव महतो केही दिनअघि मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए।
उपचारका क्रममा उनको मृत्यु भएपछि आक्रोशित स्थानीय र परिवारजनले आइतबार धनगढीमाई बजार क्षेत्रमा शव बोकेको एम्बुलेन्स सडकमा राखी चक्काजाम गरेका हुन्। स्थानीयका अनुसार महतो आफ्नो सिटी रिक्सा रोकेर दही किन्न जाने क्रममा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको थियो।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र हालसम्म पक्राउ नपरेको बताइएको छ। दुर्घटनामा संलग्न चालकलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयहरूले राजमार्ग अवरुद्ध गरेका छन्। चक्काजामका कारण पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ भने दुवैतर्फ लामो दूरीका सवारीसाधन रोकिएका छन्।
घटनास्थलमा नेपाल प्रहरी परिचालन गरिएको छ र अवस्था सामान्य बनाउन स्थानीय प्रशासन, प्रहरी तथा आन्दोलनरत पक्षबीच छलफल भइरहेको जनाइएको छ। मृतक महतो दैनिक ज्यालादारी स्वरूप सिटी रिक्सा चलाएर परिवारको जीविकोपार्जन गर्दै आएका थिए।
उनको निधनपछि परिवार शोकमा डुबेको छ भने दोषीलाई कारबाहीको माग गर्दै स्थानीयस्तरमा व्यापक आक्रोश देखिएको छ। प्रहरीले फरार मोटरसाइकल चालकको खोजी कार्य तीव्र बनाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic