Siraha Times
ताजा समाचार

विद्यालय व्यवस्थापन समिति गठनमा विवाद, हर्कट्टी आधारभूत विद्यालयमा शैक्षिक सुधार प्रभावित

  • असार १, २०८३
  • ४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठनको विषयलाई लिएर विवाद चर्किँदा विद्यालयको शैक्षिक गतिविधि तथा सुधार अभियान प्रभावित भएको छ। अभिभावक, स्थानीय युवा तथा सरोकारवालाबीच आरोप–प्रत्यारोप बढेसँगै व्यवस्थापन समिति गठन प्रक्रिया अन्योलमा परेको हो।

विद्यालयका निमित प्रधानाध्यापक प्रमोद सिंहले आफूले २०८२ चैत १२ गतेदेखि पदभार ग्रहण गरेपछि विद्यालयको शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन सुदृढीकरण तथा भौतिक पूर्वाधार विकासका योजना अघि सारेको भए पनि विभिन्न पक्षबाट पटक–पटक अवरोध सिर्जना भएको बताएका छन्।

प्रधानाध्यापक सिंहका अनुसार विद्यालयमा हाल शिक्षकको अभाव रहेको छ भने विद्यालय व्यवस्थापन समिति समेत गठन हुन नसक्दा विद्यालय सञ्चालनमा कठिनाइ भइरहेको छ। “एकातिर शिक्षकको अभाव छ, अर्कोतिर विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन। यस्तो अवस्थामा विद्यालयको समग्र सुधारका लागि आवश्यक निर्णय तथा योजना कार्यान्वयन गर्न समस्या भइरहेको छ,” उनले बताए।

यता स्थानीय युवाहरूले विद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने माग गरेका छन्। उनीहरूले विद्यालयलाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउने प्रयास भइरहेको आरोप लगाउँदै शैक्षिक सुधारका लागि योग्य र सक्षम व्यक्तिहरूको सहभागितामा व्यवस्थापन समिति गठन हुनुपर्ने बताएका छन्।

स्थानीय युवा सन्तोष कुमार यादव, रविन्द्र यादव, ललिता कामैत, सिता कुमारी ठाकुर, प्रियंका कुमारी पासमान, सुधिर कामैत, पुनिता कुमारी पासमान तथा खुश्बु पासमानलगायतले विद्यालयको हितलाई केन्द्रमा राखेर पारदर्शी प्रक्रिया अपनाउन आग्रह गरेका छन्।

उनीहरूका अनुसार विद्यालय व्यवस्थापन समिति गठनका लागि हालै अभिभावक भेला आयोजना गरिएको थियो। उक्त भेलामा शिक्षा शाखाका अधिकृत पुष्कर बालाकोटीले व्यवस्थापन समिति गठन प्रक्रिया अघि बढाएका थिए। प्रचलित व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समितिका सदस्य बन्न कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ। तर भेलामा प्रस्ताव गरिएका अधिकांश अभिभावकले उक्त न्यूनतम शैक्षिक योग्यता पूरा नगरेको देखिएपछि समिति गठन प्रक्रिया रोकिएको स्थानीयको दाबी छ।

स्थानीयका अनुसार विद्यालयमा हाल २४४ जना विद्यार्थी अध्ययनरत छन्। व्यवस्थापन समिति गठनका लागि प्रस्तुत गरिएको ६१ जनाको नामावलीमा ३९ महिला र २२ पुरुष समावेश थिए। तर नामावलीमा रहेका अधिकांश व्यक्तिले आवश्यक शैक्षिक योग्यता पूरा नगरेको भन्दै युवाहरूले आपत्ति जनाएका छन्। “विद्यालयको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यवस्थापन समिति गठन गर्दा योग्य, सक्षम र विद्यालयप्रति जिम्मेवार व्यक्तिहरूको छनोट हुनुपर्छ। अयोग्य व्यक्तिलाई अघि सारेर समिति गठन गर्न खोजिनु दुर्भाग्यपूर्ण हो,” स्थानीय युवाहरूले बताएका छन्।

युवाहरूले वडा नं. १ का अध्यक्ष रतन नायकसहित केही पक्षले आफूअनुकूल व्यक्तिहरूलाई व्यवस्थापन समितिमा ल्याउने प्रयास गरेको आरोप समेत लगाएका छन्। यद्यपि यस विषयमा वडा अध्यक्ष नायकको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

स्थानीयवासीहरूले विद्यालयको शैक्षिक वातावरण बिग्रन नदिन सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अनुसार योग्य अभिभावकहरूको सहभागितामा विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार विद्यालयलाई राजनीतिक विवादबाट टाढा राखेर विद्यार्थीको भविष्यलाई केन्द्रमा राखी निर्णय गरिनु आवश्यक छ।

विद्यालय व्यवस्थापन समिति गठनको विवाद समाधान हुन नसके विद्यालयको शैक्षिक सुधार, प्रशासनिक निर्णय तथा विकास निर्माणका कामहरू थप प्रभावित हुन सक्ने चिन्ता स्थानीय सरोकारवालाहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१