ओम प्रकाश यादव,लहान जेठ २७ । सिरहा प्रहरीले छुट्टाछुट्टै दुई कारबाहीमा अवैध रूपमा बिक्री वितरण भइरहेको ठूलो परिमाणको डिजेल तथा प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ। घटनामा संलग्न भनिएका व्यक्तिहरू फरार रहेका छन् भने प्रहरीले खोजी तथा थप अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।
प्रहरीका अनुसार जेठ २६ गते राति करिब ९ बजे गोलबजार नगरपालिका–९ पूर्वीस्थित कार्की होटलमा अवैध रूपमा डिजेल बिक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त भएको थियो। चिनियाँ कम्पनीको डिजेल भण्डारण स्टोरबाट डिजेल चोरी गरी होटलमार्फत बिक्री भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले मिर्चैया नगरपालिका–६ जीवाटोल निवासी महेश कुमार कार्कीले सञ्चालन गर्दै आएको कार्की होटलमा खानतलासी गर्दा विभिन्न ड्रम, ग्यालेन तथा अन्य भाँडाहरूमा भण्डारण गरी राखिएको करिब १ हजार ७ सय ५० लिटर डिजेल फेला पारेको थियो। बरामद डिजेललाई स्थानीयवासीहरूको रोहबरमा कानुनी प्रक्रिया पूरा गरी जेठ २७ गते बिहान करिब ९ः३० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद डिजेल हाल थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ।
घटनापछि होटल सञ्चालक महेश कुमार कार्की फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको तथा डिजेलको स्रोत र बिक्री वितरण सञ्जालबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, जेठ २७ गते दिउँसो करिब ३ बजे सखुवानन्कारकट्टी गाउँपालिका–५ ईटहर्वामा प्रहरीले ठूलो परिमाणमा गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ।
स्थानीय ४४ वर्षीय आनन्द कुमार यादवले आफ्नो गोठघरमा लागुऔषध लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा गोठघरमा कोही पनि नभएको र बाहिरबाट ताल्चा लगाइएको अवस्थामा फेला परेको थियो। स्थानीयवासीहरूको उपस्थितिमा कानुनी प्रक्रिया पूरा गरी गोठघरको ताल्चा फोडेर खानतलासी गर्दा बाँसको भकारीभित्र लुकाईछिपाई राखिएको अवस्थामा फरक–फरक ६ वटा झोला, ब्याग तथा बोरामा राखिएको ७६ किलोग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थलाई मुचुल्का तयार गरी इलाका प्रहरी कार्यालय लहानमा ल्याइएको छ। फरार रहेका आनन्द कुमार यादवको खोजी भइरहेको र बरामद पदार्थको परीक्षणसहित घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले अवैध इन्धन कारोबार तथा लागुऔषध ओसारपसार र भण्डारणविरुद्ध प्रहरीको निगरानी तथा कारबाही निरन्तर जारी रहेको बताए। उनले यस्ता गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई कानुनको दायरामा ल्याइने र अनुसन्धानका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए। प्रहरीका अनुसार दुवै घटनामा फरार रहेका व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ भने बरामद सामग्रीको स्रोत, संलग्न व्यक्तिहरू र सम्भावित सञ्जालबारे विस्तृत अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic