रंजित चौरसिया,वीरगंज २६ जेठ। नेशनल मेडिकल कलेज प्रालि, वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताले कृषि अनुसन्धान निर्देशनालयमा कार्यरत कर्मचारी, कामदार तथा उनीहरूका परिवारजनलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशका निर्देशक एवं वरिष्ठ वैज्ञानिक डा. विश्वेश्वर प्रसाद यादवले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी तथा कामदारहरूले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा सामाजिक सुरक्षा कोष अन्तर्गत उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवाहरू प्राथमिकताका साथ प्राप्त गर्नेछन्। यस्ता लाभग्राहीका लागि अस्पतालमा विशेष सामाजिक सुरक्षा कोष काउन्टरमार्फत सेवा प्रदान गरिने व्यवस्था गरिएको छ। साथै, सामाजिक सुरक्षा कोषबाट व्यहोर्न बाँकी रहने सहभुक्तानी रकम निर्धारित अवधिभित्र भुक्तानी गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ।
त्यसैगरी, सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कर्मचारी तथा उनीहरूका परिवारजनले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा प्रयोग्य सामग्रीबाहेकका उपचार सेवामा २० प्रतिशत विशेष छुट प्राप्त गर्नेछन्। अस्पतालको फार्मेसीबाट खरिद गरिने औषधिमा समेत ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
दुवै संस्थाबीच भएको सहकार्यअन्तर्गत वार्षिक स्वास्थ्य परीक्षण, पूर्व–रोजगारी स्वास्थ्य परीक्षण, आवश्यकता अनुसार संस्थामै स्वास्थ्य सेवा उपलब्ध गराउने तथा प्रत्येक त्रैमासिकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने विषयमा पनि सहमति भएको छ।
यस्तै, कृषि अनुसन्धान निर्देशनालयले आयोजना गर्ने विभिन्न कार्यक्रममा नेशनल मेडिकल कलेजलाई मेडिकल पार्टनरका रूपमा सहभागी गराउने तथा आवश्यकता अनुसार संयुक्त कार्यक्रम र सहकार्यका अन्य गतिविधि सञ्चालन गर्न सकिने व्यवस्था पनि सम्झौतामा समेटिएको छ।
सम्झौताले कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी, कामदार तथा परिवारजनको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै गुणस्तरीय उपचार सेवा प्राप्त गर्न थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ। सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई. प्रदीपकुमार चौधरीसहित दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic