Siraha Times
ताजा समाचार

लक्ष्मीपुर पतारीमा निःशुल्क पशु स्वास्थ्य शिविर, पशुपालक किसानलाई उपचारदेखि परामर्शसम्मको सेवा

  • जेठ २०, २०८३
  • ४८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , जेठ २० । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ मा पशुपालन व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी तथा रोगमुक्त बनाउने उद्देश्यले एकदिने निःशुल्क पशु स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गत आयोजना क्लस्टर इकाई सप्तरीको आयोजनामा सञ्चालन गरिएको शिविरबाट चार वटा वडाका पशुपालक किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

रामपुर चोकमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको उक्त शिविरमा लक्ष्मीपुर पतारी गाउँपालिकाका वडा नम्बर १, २, ३ र ६ का किसानले आफ्ना पशुहरूको स्वास्थ्य परीक्षण, उपचार तथा विभिन्न प्राविधिक सेवा प्राप्त गरेका थिए। गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा किसानहरू उत्साहित देखिएका थिए।

शिविर सञ्चालनका लागि लक्ष्मीपुर पतारी गाउँपालिकाले प्राविधिक सहयोग गरेको थियो भने ग्लोबल एग्रिकल्चर एन्ड फुड सेक्युरिटी प्रोग्राम (GAFSP) को आर्थिक सहयोग रहेको थियो। नेपाल सरकारको कृषि तथा वन मन्त्रालय अन्तर्गत सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले कार्यक्रमको व्यवस्थापन गरेको जनाएको छ।

शिविरमा बाख्रामा लाग्ने अत्यन्त संक्रामक तथा घातक रोग पिपिआर (PPR) विरुद्ध खोप लगाउने कार्यलाई विशेष प्राथमिकता दिइएको थियो। यसका साथै गाई, भैंसी तथा बाख्राको कृत्रिम गर्भाधान, गोबर परीक्षण, जुकाविरुद्धको औषधि वितरण, मिनरल मिक्स्चर तथा लिभर टोनिक वितरण लगायतका सेवा निःशुल्क रूपमा प्रदान गरिएको थियो। खसी बन्ध्याकरण सेवा पनि शिविरकै माध्यमबाट उपलब्ध गराइएको थियो।

त्यसैगरी पशुहरूमा देखिने विभिन्न रोगहरूको उपचार समेत गरिएको थियो। सामान्य घाउचोट, छालासम्बन्धी समस्या, पाचन प्रणालीका समस्या तथा अन्य रोगबाट प्रभावित पशुहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि तथा उपचार प्रदान गरिएको आयोजकले जनाएको छ।

पशु उपचारसँगै किसानलाई पशुपालन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गराउने उद्देश्यले विशेष परामर्श कार्यक्रम पनि सञ्चालन गरिएको थियो। भेटेरिनरी चिकित्सकहरूले आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण, बाझोपन समस्या व्यवस्थापन, सन्तुलित आहार व्यवस्थापन, पशु पोषण सुधार तथा रोग रोकथामका उपायबारे जानकारी दिएका थिए। शिविरमा तीन जना पशु चिकित्सक अधिकृतको प्रत्यक्ष सहभागिता रहेको थियो।

सेवा प्रवाहका लागि डा. निरन्जन यादव, डा. योगेन्द्र प्रसाद शर्मा र डा. रामजगत ठाकुर खटिएका थिए। उनीहरूसँगै ११ जना प्राविधिक कर्मचारीले किसानलाई आवश्यक सेवा प्रदान गरेका थिए। कार्यक्रमका सहभागी किसानहरूले गाउँमै विशेषज्ञ चिकित्सकको सेवा प्राप्त हुनु सकारात्मक भएको बताएका छन्। पशु बिरामी पर्दा उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको र निःशुल्क रूपमा औषधि तथा प्राविधिक परामर्श पाउँदा ठूलो राहत मिलेको उनीहरूको भनाइ छ।

आयोजकका अनुसार पशुधनमा लाग्ने रोग नियन्त्रण, उत्पादन वृद्धि तथा किसानको आम्दानी बढाउने लक्ष्यसहित यस्ता शिविरहरू सञ्चालन गरिँदै आएको छ। ग्रामीण क्षेत्रमा पशु स्वास्थ्य सेवा पहुँच विस्तार गर्न र खाद्य तथा पोषण सुरक्षामा सुधार ल्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१