ओम प्रकाश यादव,लहान, वैशाख २४ । सिरहा जिल्लाको उत्तरी विकट क्षेत्र धनगढीमाई नगरपालिका–१३ स्थित भालटारमा पत्रकार विनोद मण्डल उर्फ “विनोद अविरल”को पहलमा निर्माण गरिएको माता रक्तमाला देवी मन्दिरको आज एक विशेष समारोहका बीच उद्घघाटन गरिएको छ। सामाजिक तथा धार्मिक कार्यमा सक्रिय रहँदै आएका पत्रकार मण्डलले आफ्नै पहलमा मन्दिर निर्माण गराएर पुनः एकपटक समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेका छन्।
विगतदेखि नै सामाजिक सेवामा रुचि राख्दै आएका पत्रकार मण्डलले स्थानीयको धार्मिक आस्था र आवश्यकतालाई मध्यनजर गर्दै मन्दिर निर्माण अभियान सुरु गरेका थिए। शिलान्यासदेखि उद्घघाटनसम्मको यात्रामा उनले विभिन्न ठाउँमा पुगेर चन्दा संकलन गरेका थिए। स्थानीय बासिन्दा, समाजसेवी तथा शुभेच्छुकहरूको सहयोगमा निर्माण सम्पन्न भएको उक्त मन्दिर आज विधिवत रूपमा स्थानीय समुदायलाई हस्तान्तरण गरिएको हो।
धार्मिक वातावरणमा सम्पन्न उद्घघाटन कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका अध्यक्षता जग्गादाता अर्जुन तामाङले गरेका थिए भने प्रमुख अतिथिको रूपमा वडा नं. १३ का वडा अध्यक्ष सुर्यमान तामाङ उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा एलएमसी सेकेन्डरी बोर्डिङ स्कुलका सञ्चालक तथा समाजसेवी पाण्डव हमाल सहभागी भएका थिए।
त्यसैगरी कार्यक्रममा गोकुल पोखरेल, समाजसेवी अनिल सिंह, पुजारी इन्द्र बहादुर लामा, अमर लामा, क्षितिज मोक्तान, बद्री प्रसाद लम्साल, धनकुमारी तामाङ, मैती तामाङ, रत्नमाया तामाङलगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। उद्घघाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष सुर्यमान तामाङले विकट क्षेत्रमा धार्मिक संरचना निर्माण हुनु गौरवको विषय भएको बताए। उनले पत्रकार विनोद मण्डलले पत्रकारितासँगै समाजसेवामा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाउने बताए।
विशिष्ट अतिथि पाण्डव हमालले पनि पत्रकार मण्डलको कार्यको खुलेर प्रशंसा गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक संरक्षणमा युवाहरूको सक्रियता आवश्यक रहेको धारणा राखे। उनले भालटारजस्तो दुर्गम क्षेत्रमा मन्दिर निर्माण हुनु स्थानीयका लागि ठूलो उपलब्धि भएको बताए। साथै यस्ता कार्यमा मेरो सदैव साथ र सहयोग रहने तथा मेरो आस्था भनेको मठ मन्दिरको लागि आफु सदैव अगाडी रहने र चाहिएको बेला खुलेरै सहयोग गर्न मेरो खुट्टा अलिकती पनि पछाडी नहुने समेत उहाले बताए । साथै मन्दिरमा मेरो सहयोग सदैव रहने छन् ।
कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले पनि पत्रकार विनोद मण्डलको निरन्तर सामाजिक योगदानको चर्चा गरेका थिए। उनीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र धर्मका लागि गरिएको कार्य अनुकरणीय रहेको बताए। विशेषगरी विकट क्षेत्रमा रहेका स्थानीय समुदायलाई धार्मिक आस्थाको केन्द्र उपलब्ध गराउनु ठूलो पुण्यको काम भएको वक्ताहरूको भनाइ थियो।
पत्रकार विनोद मण्डलले कार्यक्रममा बोल्दै मन्दिर निर्माण आफ्नो व्यक्तिगत स्वार्थ नभई स्थानीय समुदायको चाहना र धार्मिक भावनाको सम्मानका लागि गरिएको बताए। उनले सहयोग गर्ने सम्पूर्ण दाताहरू, स्थानीयवासी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे। साथै आगामी दिनमा पनि समाजहितका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
स्थानीयवासीहरूले समेत मन्दिर निर्माणपछि गाउँमा धार्मिक तथा सांस्कृतिक गतिविधि बढ्ने विश्वास व्यक्त गरेका छन्। यसअघि पूजा–आराधनाका लागि टाढा जानुपर्ने बाध्यता रहेको भन्दै अब आफ्नै गाउँमा धार्मिक कार्यक्रम गर्न सहज हुने उनीहरूको भनाइ छ।
भालटार क्षेत्रलाई सिरहाकै दुर्गम स्थानमध्ये एक मानिन्छ। यातायात, शिक्षा तथा अन्य पूर्वाधारको पहुँच सीमित रहेको यस क्षेत्रमा पत्रकार मण्डलको पहलमा निर्माण भएको मन्दिरले स्थानीयमा नयाँ उत्साह थपेको छ। धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सद्भाव कायम राख्न मन्दिरले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic