Siraha Times
ताजा समाचार

सुखीपुर नगरपालिका अस्तव्यस्त: आन्दोलनपछिको क्षति मर्मत नहुँदा सेवा प्रवाह ठप्पजस्तै

  • वैशाख १६, २०८३
  • ४६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। जेन्जी आन्दोलनका क्रममा भएको क्षतिपछि हालसम्म पनि नगरपालिका भवन मर्मत हुन नसक्दा सेवा प्रवाहमा गम्भीर असर परेको स्थलगत अवलोकनले देखाएको छ। स्थानीयवासीको आग्रहमा संयुक्त मिडिया हाउस लहानको टोली नगरपालिकामा पुग्दा कार्यालयको अवस्था अत्यन्तै दयनीय देखिएको थियो।

कार्यालय भित्र सामग्रीहरू लथालिङ्ग अवस्थामा रहेका छन् भने कर्मचारीहरू बस्ने उचित व्यवस्था समेत नभएको पाइयो। एउटै कोठामा साधारण कुर्सी राखेर सबै कर्मचारीहरू काम गर्न बाध्य भएको दृश्यले कार्यालय व्यवस्थापनको कमजोर अवस्थालाई उजागर गरेको छ। स्थानीयका अनुसार जेन्जी आन्दोलनका क्रममा नगरपालिका भवन भित्र ठूलो क्षति पुगेको थियो। तर, महिनौं बितिसक्दा पनि मर्मत तथा पुनःसंरचना कार्य सुरु हुन नसक्दा दैनिक सेवा लिन आउने सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।

कार्यालयको कामकाज बारे बुझ्दा प्रमुख प्रशासकीय अधिकृत लामो समय देखि कार्यालयमा उपस्थित नभएको गुनासो व्यापक रूपमा सुनियो। “हाम्रो सानातिना कामका लागि पनि धेरै दिन धाउनुपर्छ, तर जिम्मेवार अधिकारी भेटिँदैनन्,” एक स्थानीयले गुनासो गरे। मिडिया टोलीले सूचना अधिकारीसँग सम्पर्क गर्दा उनी व्यक्तिगत कारण (बिहे समारोह) मा व्यस्त रहेको जानकारी दिए भने प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिको कारण पारिवारिक स्वास्थ्य समस्या बताइयो। त्यस्तै, मेयर राम औतार यादवले पनि आफू कार्यक्रममा व्यस्त रहेको भन्दै तत्काल भेट्न नसक्ने प्रतिक्रिया दिए।

उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको फोन सम्पर्क हुन सकेन। यता, चालु आर्थिक वर्ष सकिन अब करिब दुई महिना मात्र बाँकी रहँदा पनि विकास निर्माणका कुनै उल्लेखनीय काम सुरु नभएको कर्मचारीहरू बाटै सुनिएको छ। यसले बजेट कार्यान्वयन र योजनाहरूको प्रभावकारिता माथि प्रश्न उठाएको छ।

स्थानीयवासीहरू कर तिर्न बाध्य भए पनि सेवा भने प्रभावकारी रूपमा नपाएको भन्दै आक्रोशित देखिन्छन्। “कर तिर्छौं, तर सेवा पाउँदैनौं, यस्तो स्थानीय तह किन चाहियो?” भन्ने प्रश्न सर्वसाधारणबीच उठ्न थालेको छ। समग्रमा, सुखीपुर नगरपालिकाको वर्तमान अवस्था सुधार गर्न सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण आवश्यक देखिएको छ। अन्यथा, जनविश्वास झन् कमजोर हुने र प्रशासन प्रतिको असन्तोष थप चुलिने जोखिम रहेको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

‘घर–घरको शान’ अभियान ...

लहान, साउन २०। समुदायमा स्वच्छता, शौचालयको नियमित प्रयोग तथा स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१