Siraha Times
ताजा समाचार

*खडक नगरपालिकामा बाल सहभागिता सफलता घोषणा कार्यक्रम सम्पन्न*

  • वैशाख १०, २०८३
  • ४२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत स्थानीय तहमा “सहभागितामूलक बाल सहभागिता सफलता घोषणा कार्यक्रम” सम्पन्न भएको छ।

कार्यक्रम २०८३ साल बैशाख ९ गते खडक नगरपालिकाको सभा हलमा आयोजना गरिएको थियो। कार्यक्रममा खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी बाल कल्याण अधिकारि अनिता कुमारी साहको अध्यक्षता रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य बाल क्लब, बाल क्लब सञ्जाल, नगर बाल क्लब सञ्जाल, वडा कार्यालय तथा नगरपालिकाबीच भएका सकारात्मक अभ्यास, अनुभव, सिकाइ तथा चुनौतीहरू आदानप्रदान गर्दै बालबालिका सम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र गुणस्तरीय बनाउनु रहेको थियो। साथै बालबालिकाको आवाज सशक्त बनाउने, उनीहरूको अधिकार सुनिश्चित गर्ने, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउने, समुदायमा पारदर्शिता प्रवर्द्धन गर्ने र बालमैत्री वातावरण निर्माण गर्ने लक्ष्य पनि राखिएको थियो।

कार्यक्रममा सहभागी बाल क्लब तथा सञ्जालका सदस्यहरूले आफ्ना गतिविधि, उपलब्धि, चुनौती र सिकाइहरू प्रस्तुत गरेका थिए। खुला अनुभव आदानप्रदानले क्लबहरूबीच समन्वय, सहकार्य तथा समस्या समाधानका अवसर पहिचान गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्। उनीहरूले एकअर्काका सफल अभ्यासबाट प्रेरणा लिँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा सुधार गर्ने प्रतिबद्धता जनाएका थिए।

खडक नगरपालिका वडा नं. १ का आयुष कुमार साहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा निरन्तर योगदान पुर्‍याउँदै आएका वडा स्तरका सबै बाल क्लब सञ्जालहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो, जसले बालबालिकाको मनोबल अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको समापनमा प्रमुख अतिथि तथा अन्य वक्ताहरूले बाल संरक्षण प्रणाली सुदृढीकरणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको औंल्याउँदै बालश्रम अन्त्य र बालमैत्री समाज निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। यस अवसरमा बाल क्लबमा आबद्ध बालबालिकाहरूले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए भने उनीहरूले आफ्नो जीवनमा आएको सकारात्मक परिवर्तनका सफलताका कथाहरू पनि सुनाएका थिए।

कार्यक्रममा समुन्नति परियोजनाले हासिल गरेका उपलब्धि, चुनौती तथा आगामी योजनाहरू सम्बन्धित शाखा तथा खडक नगरपालिकालाई हस्तान्तरण गरिएको थियो। नगर प्रमुख जय प्रकाश चौधरीले आगामी दिनमा विद्यालय, स्वास्थ्य चौकी, बजेट छनौट तथा विभिन्न निर्णय प्रक्रियामा बालबालिकाको प्रतिनिधित्व सुनिश्चित गरिने जानकारी दिनुभयो।

कार्यक्रममा प्रशासन शाखा प्रमुख रामाकान्त चौधरी, कृषि शाखा प्रमुख शिवकान्त चौधरी, स्वास्थ्य शाखा प्रमुख गयाप्रसाद चौधरी, न्यायिक समितिकी प्रतीकला रसाइली, पञ्जीकरण शाखाका रञ्जित कुमार चौधरी, सबल नेपालका फिल्ड म्यानेजर रोशन कुमार मण्डल, फिल्ड संयोजक अशोक कुमार साह, अनुगमन संयोजक चन्दन चौधरी, नगर बाल क्लब सञ्जालका अध्यक्ष शिवशंकर मण्डल लगायत वडा नं. १ देखि ११ सम्मका बाल क्लबका बालबालिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समग्रमा, उक्त कार्यक्रमले ज्ञान साझेदारी, संस्थागत सुदृढीकरण तथा बाल क्लबहरूको उत्साह अभिवृद्धि गर्दै बालबालिकाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै सबल नेपाल र खडक नगरपालिकाबीचको सहकार्य आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

स्वास्थ्य केन्द्रमै ...

कुलानन्द यादव सिराहा साउन ९ । सिरहाको भगवानपुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१