ओम प्रकाश यादव लहान, बैशाख ९। “उज्ज्वल भविष्य परियोजना (Bright Future Project)” अन्तर्गत परियोजनाको शुरुवाती चरणको कार्यशाला गोष्ठी हिजो सिरहाको लहानमा सम्पन्न भएको छ। समग्र जन–उत्थान केन्द्र लहानको आयोजनामा तथा Plan International को सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो। “Until we are all equal” भन्ने नारासहित सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय तहमा बालबालिका, किशोर–किशोरी तथा समुदायको समग्र विकासका लागि महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको अध्यक्षता समग्र जन–उत्थान केन्द्र लहानका अध्यक्ष राम भरोशी महतोले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका सभापति दिनेश महतोको उपस्थिति रहेको थियो। कार्यक्रममा अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादव, उपाध्यक्ष शोभा साह, जिल्ला समन्वय समितिका उपसभापति दिलिप लामा, जिल्ला समन्वय समितिका अधिकारी सन्तोष कुमार यादव, स्वास्थ्य शाखा सिरहाका अधिकृत प्रेम दास, Plan International का प्रदेश प्रमुख रवि शंकर पण्डित लगायत विशिष्ट अतिथिको सहभागिता रहेको थियो।
त्यसैगरी कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रतिनिधि, सिरहा गैसस अध्यक्ष गोविन्द विष्ट, परियोजनाका संयोजक दिपेन्द्र चौधरी, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख क्शोरी शरण, समग्र जन–उत्थानका पवन दास, प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयका प्रतिनिधि, अर्नमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत द्रोपदी यादव, Plan International का उपेन्द्र श्रेष्ठ तथा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव लगायतको समेत सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिनेश महतोले स्थानीय तहमा सञ्चालन हुने यस्ता परियोजनाहरूले समुदायको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले बालबालिका तथा किशोर–किशोरीहरूको शिक्षा, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न सबै सरोकारवालाहरू एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष राम भरोशी महतोले उज्ज्वल भविष्य परियोजनाले विशेषगरी पिछडिएका समुदायका बालबालिकाको जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार परियोजनाले शिक्षा पहुँच वृद्धि, बाल अधिकार संरक्षण, लैंगिक समानता प्रवर्द्धन तथा आर्थिक सशक्तीकरण जस्ता विषयमा काम गर्नेछ।
Plan International का प्रदेश प्रमुख रवि शंकर पण्डितले परियोजनाको उद्देश्यबारे प्रकाश पार्दै स्थानीय सरकारसँग सहकार्य गरेर दीगो विकासका लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समुदायमै आधारित कार्यक्रममार्फत बालमैत्री वातावरण सिर्जना गर्न विशेष ध्यान दिइने बताउनुभयो।
कार्यशालामा सहभागी विभिन्न पालिका तथा सरकारी निकायका प्रतिनिधिहरूले परियोजनाको कार्यान्वयनका क्रममा आवश्यक समन्वय, सहकार्य र पारदर्शितामा जोड दिएका थिए। सहभागीहरूले स्थानीय आवश्यकताअनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन सुझावसमेत दिएका थिए।
कार्यक्रममा परियोजनाको उद्देश्य, कार्ययोजना, लक्षित समूह तथा अपेक्षित उपलब्धिहरूबारे विस्तृत प्रस्तुति गरिएको थियो। साथै, सहभागीहरूबीच अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिएको थियो, जसले परियोजना कार्यान्वयनमा आउने सम्भावित चुनौती र समाधानका उपायहरूबारे छलफल गर्न सहयोग पुर्याएको थियो।
यस परियोजनाले सिरहा जिल्लाका विभिन्न पालिकाहरूमा बालबालिका तथा समुदायको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। स्थानीय तह, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय साझेदारबीचको सहकार्यले उज्ज्वल भविष्य निर्माणतर्फ ठोस कदम चाल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic