रुपनीमा जलवायु उत्थानशील कृषि अभ्यासबारे २ दिने सिकाइ आदान–प्रदान सम्पन्न

  • चैत ८, २०८२
  • ६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत ८ । “सशक्त, समृद्ध, सम्मानित किसानः सबल महासंघ” भन्ने मूल नाराका साथ रुपनी गाउँपालिका–४, छपकीमा २ दिने जलवायु उत्थानशील कृषि अभ्यास सम्बन्धी चिन्तन–मनन तथा सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। स्थानीय स्तरमा कृषक समूहहरूले अभ्यास गर्दै आएका प्रविधि, अनुभव र उपलब्धिहरूको साझा आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा करिब ३० जना महिला कृषकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा श्री सन्तोषी महिला कृषक समूहका सदस्य दिदीबहिनीहरूले आफूहरूले सिकेका र व्यवहारमा लागू गरेका विभिन्न कृषि अभ्यासबारे अनुभव प्रस्तुत गरेका थिए। सहभागीहरूले विशेषगरी जलवायु परिवर्तनका कारण देखिएका चुनौतीहरू र त्यसलाई सामना गर्न अपनाइएका उपायहरूबारे विस्तृत रूपमा जानकारी दिएका थिए।

कार्यक्रमको अनुगमन राष्ट्रिय कृषक समूह महासंघ नेपालका सचिव जामुन प्रसाद यादवले गर्नुभएको थियो। अनुगमनका क्रममा उहाँले कृषक समूहहरूले गरेका विभिन्न क्रियाकलापहरूको अवलोकन गर्नुका साथै काम गर्ने तरिका र सुधारका उपायहरू समेत सुझाउनुभयो। उहाँले समूहका सदस्यहरूसँग अन्तरक्रिया गर्दै संस्थाको नाम, उद्देश्य तथा समूहमा भइरहेको गतिविधिबारे घरदैलो शैलीमा प्रश्न–उत्तर समेत गर्नुभएको थियो।

श्री सन्तोषी महिला कृषक समूहकी अध्यक्ष पार्वती देवी इसरले समूहले विगत केही वर्षदेखि गर्दै आएको कामकाजबारे जानकारी गराउँदै महिला सशक्तीकरण, कृषि उत्पादन वृद्धि तथा आयआर्जनमा उल्लेखनीय प्रगति भएको बताउनुभयो। उहाँका अनुसार समूहमा आबद्ध महिलाहरूले आत्मनिर्भर बन्ने दिशामा उल्लेखनीय पहल गरेका छन्।

कार्यक्रममा फिल्ड सुपरभाइजर सुनिता साहको महत्वपूर्ण भूमिका रहेको थियो। उहाँले दुई दिने तालिम अवधिभर सहभागीहरूलाई विभिन्न कृषि प्रविधि, व्यवस्थापन सीप तथा समूह सुदृढीकरणका विषयमा सहजीकरण गर्नुभयो। साथै, महिलाहरूलाई आत्मनिर्भर बनाउने, समूहमा सहकार्य बढाउने तथा सीपलाई व्यवहारमा रूपान्तरण गर्ने विषयमा विशेष जोड दिनुभयो।

कार्यक्रमका क्रममा कम्पोस्ट मलको प्रयोग र उत्पादनबारे विशेष प्रशिक्षण दिइएको थियो। सहभागीहरूले घरमै उपलब्ध स्रोत–साधन प्रयोग गरेर कसरी गुणस्तरीय कम्पोस्ट मल तयार गर्ने र त्यसको प्रयोगबाट उत्पादन वृद्धि गर्ने भन्ने विषयमा व्यवहारिक ज्ञान हासिल गरेका थिए।

यसैगरी, कृषकहरूले विगतमा भोगेका कठिनाइहरू, विशेषगरी गोठ व्यवस्थापन, पशुपालन तथा कृषि उत्पादनसँग सम्बन्धित चुनौतीहरूबारे पनि छलफल गरिएको थियो। सचिव यादवले गोठ सुधार, पशुपालन प्रवर्द्धन तथा कृषि व्यवसायलाई व्यवस्थित बनाउने उपायहरूबारे सुझाव दिनुभयो।

कार्यक्रममा विभिन्न कृषक समूहहरूको पनि सहभागिता रहेको थियो। जसमा श्री धर्मराज बाबा कृषक समूह (अध्यक्ष टेक नारायण इश्वर), श्री पाचुनाथ बाबा कृषक समूह (अध्यक्ष चैन कुमार मण्डल), श्री लक्ष्मी महिला कृषक समूह, श्री सन्तोषी महिला कृषक समूह (अध्यक्ष पार्वती देवी इसर), महन्थ बाबा कृषक समूह (अध्यक्ष बैजनाथ यादव), धनलक्ष्मी महिला कृषक समूह (अध्यक्ष सरिता कुमारी मण्डल) तथा बाबा सन्यासी कृषक समूह (अध्यक्ष राम चन्द्र साह) रहेका छन्।

त्यसैगरी, राजदेवी कृषक समूह भुर्की गाउँकी अध्यक्ष सावित्री चौधरीले आफ्नो समूहमा ३० जना सदस्य रहेको जानकारी दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार समूहले गोठ सुधार, गाई–बस्तु पालन गर्ने कृषकका लागि विशेष सहयोग, गाई–बस्तु नभएका कृषकका लागि टनेल प्रविधि, श्रमिक कम्पोस्ट मल उत्पादन तथा विपन्न वर्गका लागि दूध विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ।

समग्रमा, उक्त कार्यक्रमले कृषकहरूबीच ज्ञान, सीप र अनुभवको आदान–प्रदान गर्दै जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा यस्ता कार्यक्रमले कृषकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै कृषि क्षेत्रलाई दिगो र उत्पादनमुखी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा ४० विद्यालय भ ...

ओम प्रकाश यादव लहान, ७ चैत । वाइल्ड'एन नेपालले मधेश प्रदेशभरि ४० वटा आधारभूत विद्यालय भवन निर्माण गर ...

किशोरीमाथि भएका जघन् ...

ओम प्रकाश यादव लहान चैत ७ । मधेश प्रदेशसहित देशका विभिन्न स्थानमा किशोरीमाथि भइरहेका जघन्य अपरा ...

कार्यालयमै लापरबाही: ...

रहमुल, ६ चैत । सप्तरीको बलान विहुल गाउँपालिकामा गरिएको आकस्मिक (छड्के) अनुगमनले कर्मचारी अनुशासनको ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१