Siraha Times
ताजा समाचार

घर–आँगनमै मधुमेह जाँच, बोदे बर्साईनमा समुदाय–केन्द्रित स्वास्थ्य सेवा प्रभावकारी

  • पुस २८, २०८२
  • ७०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, २८ पुस । सप्तरीको बोदे बर्साईन नगरपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरेको घरघरमै मधुमेह जाँच सहितको सामुदायिक स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भइरहेको यस अभियानले स्वास्थ्य सेवालाई नागरिकको घरआँगन सम्म पुर्‍याउँदै जनचेतनाको स्तर उल्लेखनीय रूपमा बढाएको छ।

नगरपालिकाका स्वास्थ्य संयोजक बैजनाथ साहका अनुसार समयमै स्वास्थ्य सम्बन्धी जानकारी र परीक्षणको पहुँच नहुँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको विगतको अनुभवलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको हो। “रोग लागेपछि मात्र अस्पताल जाने प्रवृत्तिलाई तोडेर रोग लाग्न नदिनु र प्रारम्भिक अवस्थामै पहिचान गर्नु नै हाम्रो मुख्य लक्ष्य हो,” संयोजक साहले बताए।

स्वास्थ्य शाखाका अनुसार कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका सबै १० वटै वडामा अनमी, स्टाफ नर्स, अहेव र चिकित्सक सहित ४५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। स्वास्थ्यकर्मीहरूको टोलीले घरघरमै पुगेर मधुमेह सम्बन्धी परीक्षण, रक्तचाप जाँच, स्वास्थ्य परामर्श तथा सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। विशेषगरी सुत्केरी महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा किशोर–किशोरीलाई लक्षित गरी सेवा प्रदान गरिँदै आएको छ।

कार्यक्रमको अर्को महत्वपूर्ण पाटोका रूपमा प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने काम पनि अघि बढाइएको छ। संयोजक साहका अनुसार नागरिकको अवस्था पहिचान गरी तथ्याङ्कमा आधारित योजना र सेवा प्रवाह गर्न यो प्रोफाइल महत्वपूर्ण आधार बन्नेछ। “एकीकृत तथ्याङ्कका आधारमा लक्षित कार्यक्रम ल्याएर दीर्घकालीन स्वास्थ्य सुधारको जग बसाल्ने हाम्रो योजना हो,” उनले स्पष्ट पारे।

स्थानीयवासीहरूले पनि कार्यक्रम प्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। बोदे बर्साईन नगरपालिका–१ का सस्तु यादवले स्वास्थ्यकर्मीको निरन्तर उपस्थितिले आफूहरू सुरक्षित महसुस गर्न थालेको बताए। “घरमै आएर स्वास्थ्य परीक्षण, परामर्श र तथ्याङ्क संकलन हुँदा धेरै बिरामीले समयमै उपचार पाउने अवस्था बनेको छ,” उनले भने।

नगरपालिकाले यस अभियानलाई आगामी दिनमा अझ विस्तार गर्दै दीर्घकालीन स्वास्थ्य सुधारको आधार बनाउने तयारी गरेको जनाएको छ। समुदाय–केन्द्रित यो पहलले बोदे बर्साईनमा रोकथाममुखी स्वास्थ्य सेवाको नयाँ अभ्यास स्थापित गर्दै नागरिकको जीवनस्तर उकास्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१