Siraha Times
ताजा समाचार

विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारले उजागर गर्‍यो मधेसीमाथिको गहिरो विभेद

  • पुस २३, २०८२
  • ४५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २३ पुस । हिजो पार्टीको मुख्य कार्यालयमा नेपाली कांग्रेसका सम्मानित नेता विमलेन्द्र निधिमाथि गरिएको दुर्व्यवहार र “मधेसी धोती” जस्ता हेय शब्दको प्रयोगले मधेसी समुदाय प्रति अझै पनि समाजमा गहिरो विभेद विद्यमान रहेको तथ्यलाई प्रस्ट पारेको छ। उक्त घटनाले मधेसी नेता मात्र होइन, सम्पूर्ण मधेसी समुदायलाई देशको दोस्रो दर्जाको नागरिकझैँ व्यवहार गरिँदै आएको यथार्थलाई उजागर गरेको टिप्पणी हुन थालेको छ।

घटनापछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिए पनि प्रश्न उठेको छ—सदियौँदेखि शोषण, अपमान र विभेद सहँदै आएका मधेसी जनताका पक्षमा यति मुखर आवाज किन पहिले उठ्न सकेन? आज एकजना राष्ट्रिय स्तरका नेतामाथि घटना घट्दा समाज तातिएको देखिए पनि मधेसका आम नागरिकमाथि हुँदै आएको अन्यायप्रति राज्य र समाज दुवै प्रायः मौन रहँदै आएका छन्।

यही सन्दर्भमा मधेस केन्द्रित मुद्दामा नेता उपेन्द्र यादव लगायतका नेताहरू किन अडानमा छन् भन्ने कुरा अझ छर्लङ्ग बन्दै गएको छ। मधेस विकास नहुनुका कारणहरू अब लुकेका छैनन्। जनसंख्याको करिब ५१ प्रतिशत प्रतिनिधित्व गर्ने मधेसी समुदायले राज्यका हरेक संरचनामा दमन र उपेक्षा भोग्दै आएको यथार्थ विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारले पुनः पुष्टि गरेको छ।

लोकतन्त्रमा विरोध गर्नु नागरिकको अधिकार हो, यो लोकतन्त्रको ठूलो उपलब्धि पनि हो। तर विरोधको नाममा जात, धर्म र पहिरनलाई आधार बनाएर अपमान गर्नु कुनै पनि सचेत र स्वस्थ मानसिकताको व्यक्ति वा समूहको काम हुन सक्दैन। यस्ता गतिविधिले समाजभित्र अझै पनि रंगभेद र विभेदको सोच जीवित रहेको संकेत गर्छ।

विमलेन्द्र निधि नेपाली कांग्रेसका नेता हुन्। उहाँलाई आफ्नो धारणा राख्ने पूर्ण अधिकार छ। यदि उहाँको विचारप्रति असहमति छ भने पार्टीको विधान, नीति र लोकतान्त्रिक विधि अनुसार विरोध गर्न सकिन्छ। तर “मधेसी” भनेर व्यक्तिगत र सामुदायिक पहिचान माथि आक्रमण गर्नु निन्दनीय मात्र होइन, अस्वीकार्य पनि हो।

आज मधेस अनेक गम्भीर समस्याबाट गुज्रिरहेको छ। शिक्षा क्षेत्र चौपट बन्दै गएको छ, स्वास्थ्य सेवा धराशायी अवस्थामा छ, भौतिक संरचनाहरू सुस्त गतिमा निर्माण भइरहेका छन्, कृषि क्षेत्र संकटमा छ, र गरिबीले मधेसका नागरिकलाई दिनानुदिन थिच्दै लगिरहेको छ। दलगत विभाजनका कारण गाउँ–बस्ती टुक्रिएको अवस्था छ भने हरेक अधिकार र अवसरमा मधेसी समुदाय पछि पर्दै गइरहेको देखिन्छ।

यदि मधेसका सम्पूर्ण नेता र सरोकारवाला पक्षले यी आधारभूत र महत्वपूर्ण मुद्दामा एक पटक मात्रै गम्भीरतापूर्वक सोचेर साझा अडान बनाउन सके, यस्ता विभेद र समस्या समाधान हुन धेरै समय नलाग्ने विश्लेषकहरूको भनाइ छ। तर यदि अहिले पनि आत्मसमीक्षा नगरी पुरानै बाटोमा हिँडिरह्यौँ भने, आउने पुस्ताले आजका नेतृत्वलाई सराप्ने लगभग निश्चित देखिन्छ।

विमलेन्द्र निधिमाथि भएको घटना एउटा व्यक्ति विशेषको अपमान मात्र होइन, यो मधेसी समुदायमाथि भइरहेको संरचनागत विभेदको प्रतिविम्ब हो। अब यो घटनालाई क्षणिक आक्रोशमा सीमित नगरी, मधेसका वास्तविक समस्याको समाधानतर्फ राज्य, राजनीतिक दल र समाज सबैले गम्भीर ध्यान दिनु अपरिहार्य भएको छ।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१