ओम प्रकाश यादव लहान, पुस १२। उहाँलाई पहिलो नजरमै देख्दा खुसमन्द, सरल र कोमल मन भएकी महिला जस्तो लाग्छ । तर लिला देवी परियार साधारण महिला मात्र होइनन्, असाधारण पीडालाई साहस र प्रतिबद्धतामा रूपान्तरण गर्न सफल संघर्षशील आमाको परिचय हुन् ।
एक आमा गर्भमै बच्चा हुँदा अनेकौँ सपना बुन्दै उसको भविष्य कल्पना गर्छिन् । गर्भावस्थाका नौ महिना नौ जुनीजस्तै लाग्ने गर्छ । बच्चा जन्मिएपछि उसको पालनपोषण, शिक्षा र उज्ज्वल भविष्यका लागि आमा आफ्ना तन, मन र धन सबै लगानी गर्न पछि पर्दिनन् । सन्तान हरेक आमाका लागि जीवनका सहारारूपी हरित लतावृक्ष हुन् । तर जब त्यही सन्तान निर्ममतापूर्वक हत्या गरिन्छ, तब आमाको हृदय पीडाले छिया–छिया हुन्छ ।
यस्तै असह्य पीडा भोगेकी महिला हुन् लिला देवी परियार । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–६, सीतापुर बजार घर भएकी परियारले माओवादी जनयुद्धकालमा आफ्नो जवान छोरा अमित परियार गुमाउनु पर्यो । राज्य पक्षबाट गोली हानी हत्या गरिएका अमित परियार राष्ट्र र परिवर्तनका लागि समर्पित सपूत थिए । उनको शहादतले परियार परिवार मात्र होइन, सिंगो समाजलाई नै गहिरो चोट पुर्यायो ।
सहिद अमित परियारको बलिदानपछि उनका कान्छा छोरा विवेक परियारले दाजुको आत्माको शान्ति र देश परिवर्तनको अभियानलाई निरन्तरता दिँदै राजनीतिक यात्रामा सक्रियता जनाउँदै आएका छन् । सहिदको सपना र अधुरो कार्यलाई अगाडि बढाउने जिम्मेवारी परिवारकै काँधमा आएको देखिन्छ ।
त्यही माओवादी आन्दोलन आज नेपाली कम्युनिस्ट पार्टीको नामले चिनिन्छ । यही पार्टीको लक्ष्मीपुर पतारी गाउँपालिका स्तरीय बैठकले आगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय समानुपातिक सांसद पदका लागि लिला देवी परियारलाई सिफारिस गरेको छ । सहिद आमाको संघर्ष, त्याग र राजनीतिक योगदानको कदरस्वरूप गरिएको यो सिफारिसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सहिद अमित परियारको आत्माको शान्ति र जनयुद्धका मूल्य–मान्यतालाई संस्थागत गर्न गरिएको यो प्रयास सफल बनाउन नेपाली कम्युनिस्ट पार्टीको जिल्ला स्तरीय निर्णयबाट अनुमोदन हुनु नितान्त आवश्यक देखिन्छ । यदि यो सिफारिस अनुमोदन भयो भने, लिला देवी परियार केवल एक सांसद मात्र होइन, हजारौँ सहिद आमाहरूको प्रतिनिधि स्वरूप संसदमा पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic