Siraha Times
ताजा समाचार

लाहान ११ पडरिया वैठारमा कृषि हाट बजार सञ्चालन

  • मंसिर २३, २०८२
  • ८०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, मंसिर २३ । लहान नगरपालिका वडा न. ११ पडरिया स्थित वैठार चौकमा स्थानीय कृषि हाट बजार सञ्चालनमा आएको दोस्रो दिन अत्यन्तै भीडभाडका साथ सम्पन्न भएको छ। हप्ताको प्रत्येक मंगलबार र शनिवार सञ्चालन हुने हाट बजारमा बिहानदेखि नै कृषक तथा स्थानीय उपभोक्ताहरूको बाक्लो भीड देखिएको थियो।

गाउँघरमै उत्पादन भएको ताजा तरकारी तथा घरायसी परिकार सस्तो दरमा उपलब्ध भएपछि किसान र खरिदकर्तामा दुवैमा खुसी झनै बढेको देखियो। स्थानीय किसानहरूले आफ्नै श्रम र मिहिनेतले उत्पादन गरेका तरकारी, फलफूल तथा कोशेली सामान बजारमै ल्याएर बिक्री गर्दै आएका छन्। बजारमा आएका उपभोक्ताहरूले साँच्चिकै ताजा, सस्तो र स्वदेशी उत्पादन पाउने अवसर पाएका छन् भने कृषकहरूलाई पनि आफ्ना उत्पादनको उचित मूल्य प्राप्त हुँदै आएको छ। एक जना किसान भन्छन्, “हामीले कागज, प्लास्टिकमा नबिराई खेतबारीकै ताजा तरकारी ल्याउँछौँ।

बजार नै घर वरिपरि भएपछि बेच्न सजिलो भएको छ, पैसा तुरुन्तै मिल्छ।” हाट बजारको सञ्चालन तथा समन्वयका लागि ९ सदस्यीय समिति गठन गरिएको छ। समितिको संयोजन जिम्मेवारी सबुर कुमार चौधरीले सम्हालेका छन्। अन्य सदस्यहरूमा दियेन्द्र प्रसाद चौधरी, विजय आनन्द चौधरी, तुल्सी राम चौधरी, मनोरंजन चौधरी, महावीर चौधरी र जिनन चौधरी रहेका छन्। उनीहरूकै पहलमा बजार व्यवस्थापन, सरसफाई तथा भुक्तानी व्यवस्थामा सहजता आएको स्थानीयहरूले बताएका छन्।

उक्त बजारमा थारू समुदायको परम्परागत घरायसी खानेकुरा प्रमुख आकर्षण बनेको छ। बगिया, सिधरा, घोघी, भक्का जस्ता थारू खाजा परिकारहरूको स्वाद लिन पनि टाढाटाढाबाट मानिसहरू आउने गरेका छन्। कृषकले खेतमा उत्पादन गरेका घिरौँला, भिण्डी, साग, मुला, कन्दा, सिम लगायतका तरकारी तथा मौसमी फलफूल सिधै ग्राहकलाई उपलब्ध गराउँदै आएका छन्। स्थानीय उपभोक्ताहरूले भने, “बजार नगरमा जानु भन्दा यहीँ सबै कुरा पाइन्छ, सस्तो र ताजा।

हाम्रो पैसाको पनि बचत हुन्छ, समय पनि।” बजार क्षेत्रमा किसान र उपभोक्ताको भीड देखिँदा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको अनुभूति गरेको जनहितशीलले बताए। हाट बजारलाई व्यवस्थित र सुरक्षित बनाउन वडा कार्यालयले पनि आवश्यक सहयोग गर्ने जनाएको छ। साथै, हाट बजारले गाउँघरको उत्पादनलाई व्यवस्थित बजार व्यवस्थापन दिँदै युवालाई आत्मनिर्भर बन्न प्रेरित गरेको स्थानीयहरूले टिप्पणी गरेका छन्।

बजारमा बजार व्यवस्थापन समिति, सुरक्षा स्वयंसेवक तथा स्थानीयको सक्रियतामा भीडभाड भए पनि शान्त र अनुशासित वातावरण देखिन्थ्यो। लाहान नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषकको आयवृद्धि र स्वदेशी उत्पादनको उपभोगलाई प्राथमिकतामा राख्दै हाट बजारलाई निरन्तरता दिने योजना अघि सारेको छ। यसरी, दोस्रो दिनमै उत्साहजनक भीड र कारोबारले वैठार चौकको हाट बजार स्थानीय समृद्धिको केन्द्र बन्ने संकेत गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१