Siraha Times
ताजा समाचार

जमियत उलेमा ए नेपालका अध्यक्षमा पुनः मुफ्ती खालिद सिद्दीकी सर्वसम्मत निर्वाचित

  • मंसिर २२, २०८२
  • ७३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहन २२ मंसिर । जमियत उलेमा ए नेपालको चौथो महाधिवेशन बोदे बर्साइन नगरपालिका–५, जॉजर बनौली, नन्कारस्थित अल–जामिअतुल इस्लामियामा भव्य रूपमा सम्पन्न भएको छ। तीनदिने महाधिवेशनले संस्थाका वर्तमान अध्यक्ष मुफ्ती खालिद सिद्दीकीलाई पुनः केन्द्रीय अध्यक्षमा सर्वसम्मतरूपमा चयन गर्दै नेतृत्वलाई निरन्तरता दिएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मो. खालिद सिद्दीकी स्वयंले गरेका थिए भने प्रमुख अतिथिको रूपमा पूर्व मन्त्री तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र सिंह यादव उपस्थित थिए। त्यस्तै विशिष्ट अतिथिहरूका रूपमा बोदे बर्साइन नगर प्रमुख आतैश कुमार सिंह यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधि, देशभरबाट आएका धर्मगुरु–मौलाना, मुफ्ती, कारी, हाफिज तथा हाजीहरूको सहभागिता उल्लेख्य थियो।

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, संगठनका पदाधिकारी र स्थानीय समुदायका व्यक्तिहरूले संस्थाको आगामी योजना, संगठनात्मक सुदृढीकरण, धार्मिक शिक्षाको प्रवर्द्धन तथा सामाजिक जिम्मेवारीका विविध पक्षमा विस्तृत छलफल गरेका थिए। संस्थाले स्थानीयदेखि राष्ट्रिय तहसम्म भूमिका अझ प्रभावकारी बनाउन, संस्थागत सुधारलाई निरन्तरता दिन र सामाजिक तथा धार्मिक समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धता जाहेर गरेको महाधिवेशनले जानकारी गराएको छ।

दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष बनेपछि सिद्दीकीलाई पदाधिकारी, अतिथि तथा सहभागीहरूले बधाई ज्ञापन गरेका थिए। सहभागीहरूले नयाँ नेतृत्वमा संस्थाको कार्यक्षमता, सक्रियता र प्रभावकारी उपस्थिति अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। मन्तव्यका क्रममा प्रमुख अतिथि माननीय मृगेन्द्र सिंह यादवले देशको विकासका लागि विविधता होइन, एकता नै मूल आधार भएको उल्लेख गर्दै सबै समुदाय मिलेर राष्ट्र निर्माणमा अग्रसर हुनुपर्ने बताए।

नगर प्रमुख आतैश कुमार सिंह यादवले आफ्नो पालिकाभित्र राष्ट्रिय पहिचान झल्किने गतिविधि सञ्चालन हुनु गौरवको विषय भएको भन्दै धर्म, जाति, वर्ग र लिंगको भेदभाव बिना सबै नागरिक सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उद्घाटन तथा समापन मन्तव्य राख्दै अध्यक्ष सिद्दीकीले मुस्लिम पनि राष्ट्रका अविभाज्य भूमि–पुत्र भएको तर विभेदका केही रूप अझै कायम रहेको उल्लेख गरे। उनले जमियत उलेमा ए नेपाल मुस्लिम समुदायको मात्र हक–अधिकारका लागि नभई सम्पूर्ण नेपालीहरूको हक–अधिकारका लागि आवाज उठाउने संस्था भएको पुनः स्पष्ट पारे। यसै महाधिवेशनमार्फत अध्यक्ष सिद्दीकीको नेतृत्वमा २९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१