लहानमा कानको विशेष उपचार सेवा थालनी, सेवा शुल्कमा छुटसहित ४० प्रकारका सेवा उपलब्ध

  • मंसिर १, २०८२
  • ४२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मङ्सिर ०१ । सिरहा जिल्लाको लहानमा निजी क्षेत्रको पहलमा पहिलोपटक कानको विशेष उपचार सेवा सुरु गरिएको छ। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको लहान–३, अस्पताल चोक नजिकै सोमबारदेखि आधुनिक प्रविधिमा आधारित ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सार्वजनिक सेवा प्रवाहमा आएको हो।

उद्घाटन समारोहका प्रमुख अतिथि लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले केन्द्रले लहान र आसपासका जिल्लाका कानसम्बन्धी समस्याबाट पीडित बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गरे। दिर्घकालदेखि कानको उपचारका लागि बिरामीहरूलाई जनकपुर, विराटनगर वा राजधानीसम्म धाउनुपर्ने बाध्यता रहेको भन्दै उनले अब सुलभ शुल्कमा गुणस्तरीय सेवा स्थानीयस्तरमै उपलब्ध हुने उल्लेख गरे। मेयर चौधरीले भने, “केन्द्रले समाजका सबै वर्गका बिरामीले उपचार लिन सक्ने गरी शुल्क निर्धारण गर्नुपर्छ। रोगको सही निदान, प्रभावकारी उपचार र परामर्शमा विशेष ध्यान दिन जरुरी छ।”

केन्द्रका अध्यक्ष तथा किस्ट मेडिकल कलेजका सहप्राध्यापक नाक, कान, घाँटी (ईएनटी) विशेषज्ञ डा. ऋषि भट्टले केन्द्रमार्फत नियमित रूपमा विशेषज्ञ चिकित्सक उपस्थित भई कानसम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिने जानकारी दिए। उनका अनुसार केन्द्रमा अत्याधुनिक उपकरणको प्रयोग हुने भएकाले धेरैजसो शल्यक्रिया दूरबिन (एन्डोस्कोप) मार्फत बिना चिरफार सम्भव हुनेछ।

डा. भट्टले भने, “कानको जाली टाल्ने, जाली फेर्ने, हड्डी खिइने, जाम हुने समस्या, कान पाक्ने, कम सुन्ने, रिँगटा लाग्ने तथा अनावश्यक रूपमा आवाज आउनेलगायत लगभग सबै प्रकारका समस्याको निदान र उपचार हामीले यहाँबाट गर्न सक्नेछौँ।” उनका अनुसार केन्द्रमार्फत नेपालका ख्यातिप्राप्त ईएनटी विशेषज्ञहरूको सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ। उनले नाक र घाँटीसम्बन्धी अधिकांश रोगको निदान, उपचार तथा परामर्शसमेत उपलब्ध हुने बताए। “कानका अप्रेसनलगायतका सबै सेवा केन्द्रमै उपलब्ध हुन्छन्। नाक र घाँटीका जटिल अप्रेसनबाहेक अन्य सम्पूर्ण सेवा प्रदान गरिनेछ,” उनले स्पष्ट पारे।

भट्टका अनुसार सेवामार्फत ४० प्रकारका कानसम्बन्धी सेवा नियमित रूपमा प्रदान गरिनेछ। सेवाको पहुँच वृद्धि गर्न विशेष छुट योजनासमेत लागू गरिएको छ। पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बहिरंग सेवामा शतप्रतिशत छुट उपलब्ध गराइनेछ। साथै मंसिर महिनाभरि अन्य उमेर समूहका बिरामीका लागि बहिरंग सेवामा ५० प्रतिशत, सामान्य शल्यक्रियामा ३० प्रतिशत तथा श्रवण यन्त्रमा १५ प्रतिशत छुट रहने केन्द्रले जनाएको छ।

स्थानीयस्तरमै अत्याधुनिक कान उपचार सेवा थालिएपछि लहान र आसपासका समुदायले राहत पाउने तथा उपचारमा लगिने खर्च कम हुने अपेक्षा गरिएको छ। स्थानीयवासीले यसलाई लहानमा गुणस्तरीय स्वास्थ्य सेवातर्फको नयाँ उपलब्धि भनेर स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१