ओम प्रकाश यादव लहान, असोज ५ । सिरहाको लहान नगरपालिकामा दलित र विपन्न परिवारलाई लक्षित गर्दै निःशुल्क धारा जडान अभियान सुरु गरिएको छ । पहिलो चरणमा ५५ घरमा धारा जडान भइसकेको र दोस्रो चरणको काम सुरु भइसकेको नगरप्रमुख महेश प्रसाद चौधरीले जानकारी दिए ।
उनका अनुसार, करिब ४ सय घरपरिवारलाई निःशुल्क धारा जडान गरिनेछ । जसअन्तर्गत २४० जना दलित र १६० जना विपन्न परिवारका घरमा धारा पुग्नेछ । धारा जडानमा लाग्ने खर्च विभिन्न निकायले व्यहोर्ने व्यवस्था गरिएको छ । सो अन्तर्गत, ३७२० रुपैयाँ नगरपालिकाले, ३२२० रुपैयाँ द विकन परियोजनाले (पाइप फिटिङ्ससहित) र ३१७० रुपैयाँ वडा कार्यालयले तिरिरहेका छन् ।
वडाले नतिरेको खण्डमा मात्रै उपभोक्ताले ३१७० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । अहिलेसम्म सबै वडाले उक्त रकम व्यहोरेका छन् भने वडा नम्बर १७ ले भने १५०० रुपैयाँ मात्रै तिरिरहेको छ । प्रमुख चौधरीका अनुसार, हालसम्म वडानम्बर १, ७, १०, १७ र २४ मा निःशुल्क धारा जडान भईरहेको छ ।
गतवर्ष पनि नगरपालिकाले ३ सय दलित परिवारलाई धारा जडान गराएको थियो । यो परियोजना वाटर एडको सहयोगमा दलित जनकल्याण युवा क्लब, लहान नगरपालिका र खानेपानी संस्थानको सहकार्यमा ‘द विकन परियोजना’ अन्तर्गत सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic