Siraha Times
ताजा समाचार

जसपा नेपालको नेतृत्वमा अल्पसंख्यक आवाजको राष्ट्रिय गोलबन्धन, डोटिम अन्तरक्रिया शनिबार

  • असार २६, २०८२
  • ७६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असार २६ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट हालै गठन गरिएको केन्द्रीय परिसंघ (डोटिम) ले सीमान्तकृत, अल्पसंख्यक र उत्पीडित समुदायहरूलाई संगठित गर्दै आगामी शनिबार राजधानीमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ।

अन्तरक्रिया कार्यक्रम यही शनिबार दिउँसो १२ बजे काठमाडौँको डिल्लीबजारस्थित कालिकास्थान अमृतभोग पार्टी प्यालेसमा हुनेछ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख वक्ताको रूपमा कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। अध्यक्ष यादवको सचिवालयले देशभरका उत्पीडित र अल्पसंख्यक समुदायको समावेशी सहभागितासहित अन्तरक्रिया कार्यक्रम हुन लागेको जानकारी दिएको छ।

जसपा नेपालले दलित, थारु, आदिवासी जनजाति, मुस्लिम, महिला, पिछडावर्ग र अन्य अल्पसंख्यक समुदायलाई संगठित गर्दै समानता, नागरिक अधिकार, स्वतन्त्रता र सामाजिक न्यायको सुनिश्चितताका लागि “संयुक्त संघर्ष” को रणनीति अघि सारेको छ। यस उद्देश्यले गठन गरिएको डोटिम (दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, महिला तथा पिछडावर्ग समावेशी संघीय संरचना) को प्रत्येक क्लष्टरबाट एक–एक जना वक्ता रहने व्यवस्था गरिएको छ।

कार्यक्रममा विभिन्न समुदायसँग सम्बन्धित संघ–संस्था, सामाजिक अभियन्ता, बौद्धिक व्यक्तित्व, राजनीतिक प्रतिनिधिहरूको सक्रिय सहभागिता रहने जनाइएको छ।

परिसंघले हालै सार्वजनिक गरेको अवधारणा पत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि देशमा आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक र राजनीतिक विभेद, शोषण, असमानता तथा उत्पीडन झेलिरहेका समुदायहरूबीच एकता कायम गरी साझा आन्दोलन खडा गरिनेछ।

डोटिमले जनसंख्याको आधारमा राजनीतिक प्रतिनिधित्व, मानव अधिकारको पूर्ण प्रत्याभूति, सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र सम्मानजनक जीवन यापनका लागि समान अवसरको सुनिश्चितता गर्नुपर्ने माग अघि सारेको छ।

कार्यक्रममार्फत जसपा निकट डोटिम परिसंघले राष्ट्रव्यापी सन्देश दिने लक्ष्य लिएको छ, जसले वञ्चित समुदायबीच राजनीतिक चेतना, अधिकारप्रति जागरूकता र साझा एजेन्डामा गोलबद्ध हुने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

डोटिमको यो बृहत् अन्तरक्रिया कार्यक्रमलाई मुलुकका सीमान्तकृत आवाजहरूलाई एकै मञ्चमा ल्याएर समावेशी, समान र न्यायपूर्ण समाज निर्माणतर्फको एक सशक्त कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१