Siraha Times
ताजा समाचार

पूर्ण खोप सुनिश्चितताप्रति बलानबिहुल गाउँपालिकाको प्रतिबद्धता: “स्थानीय स्वामित्व र सहभागिता” मार्फत दिगोपनाको मार्गमा

  • असार १३, २०८२
  • ८५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सप्तरीको बलानबिहुल गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पालिका भित्रका १६ देखि २३ महिनासम्मका बालबालिकालाई एक वर्षको उमेर भित्रै सबै खोप सेवा प्राप्त गरिसकेको जानकारी दिँदै, भविष्यमा पनि सो उपलब्धिलाई कायम राख्ने दृढ प्रतिवद्धता व्यक्त गरिएको छ ।

उक्त कार्यक्रम बलानबिहुल गाउँपालिका स्वास्थ्य शाखा मलहनियाँको आयोजनामा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष खेम चन्द्र यादवले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष रेनू यादव, प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादव, वडा नं. १ का अध्यक्ष राम कुमार यादव, वडा नं. २ का अध्यक्ष इन्द्र देव यादव, वडा नं. ३ का अध्यक्ष राज किशोर यादव, वडा नं. ४ का अध्यक्ष लक्ष्मी नारायण यादव, वडा नं. ५ का अध्यक्ष विन्देश्वर यादव, वडा नं. ६ का अध्यक्ष सूर्य कुमार दास, कार्यपालिका सदस्य सन्तोष कुमार साह, लेखा प्रमुख कमलेश कुमार साह, पशु शाखाका प्रतिनिधि जय कुमार यादव, र स्थानीय सञ्चारकर्मी रासिन्द्र यादव लगायतको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रमको मूल उद्देश्य गाउँपालिका भित्र १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई एक वर्षको उमेरभित्र आवश्यक सम्पूर्ण खोप लगाइएको पुष्टि गर्नु, सो सफलताको सार्वजनिक घोषणा गर्नु, र त्यसको दीर्घकालीन स्थायित्वका लागि स्थानीय स्वामित्व तथा सहभागिता सुनिश्चित गर्नु रहेको थियो। स्वास्थ्य शाखाले पूर्ण खोप निर्देशिका २०८१/८२ अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेर पालिकामा हालको खोपको अवस्थालाई "पूर्ण खोप स्थिति" मा पुर्‍याएको जानकारी गराएको छ ।

अध्यक्ष खेम चन्द्र यादवले सम्बोधन गर्दै भने, “बालबालिकाको जीवन र स्वास्थ्य सुरक्षामा खोपको भूमिका अत्यन्त महत्वपूर्ण छ । गाउँपालिकाले सम्पूर्ण बालबालिकालाई खोप सेवा दिन सफल भएकोमा हामी गर्व गर्छौं र यो उपलब्धिलाई भविष्यमा पनि कायम राख्न थप जिम्मेवारी पूर्वक काम गर्नेछौं।” त्यसैगरी, उपाध्यक्ष रेनू यादवले मातृ तथा शिशु स्वास्थ्यमा आमाहरूको भूमिका र सचेतनाको महत्व उल्लेख गर्दै खोप कार्यक्रममा समुदायको सक्रियता अझ बढाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा अन्य वक्ताहरूले पनि खोप सेवाको सुदृढीकरण, स्थानीय स्वास्थ्य संस्थाहरूको पहुँच विस्तार, स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको भूमिकाको कदर तथा अभिभावकहरूको सहयोगप्रति आभार प्रकट गरे। स्वास्थ्य शाखाका प्रतिनिधिहरूले खोप अभियानमा आइपरेका केही चुनौतीहरूप्रति ध्यानाकर्षण गराउँदै आगामी दिनमा निरन्तर अनुगमन, सूचना प्रवाह र सामुदायिक सहभागिता अझ सशक्त बनाइने प्रतिवद्धता जाहेर गरे।

कार्यक्रमको समापनमा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूले बालबालिकाको सम्पूर्ण खोप सुनिश्चितताप्रति सामूहिक प्रतिबद्धता जनाएका थिए। गाउँपालिकाको तर्फबाट खोप सेवालाई अझ गुणस्तरीय, प्रभावकारी र दिगो बनाउँदै लैजाने योजनाबद्ध कार्ययोजना अघि सारिने पनि जनाइएको छ। यस कार्यक्रमले बलानबिहुल गाउँपालिकाले खोप सेवा सुनिश्चितताको क्षेत्रमै मात्र होइन, समग्र स्वास्थ्य सुरक्षामा सामुदायिक सहकार्य र उत्तरदायित्वमार्फत आदर्श उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस

पूर्वआईजीपीको ‘आशीर् ...

रंजित चौरसिया, वीरगंज २८ भदौ । नेपाल भारत सिमावर्ती क्षेत्र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट प्रहरी प ...

वक्तालाई बोल्ने समय ...

रहमुल, सिरहा, २८ भदौ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझ ...

राष्ट्रिय बाल दिवसको ...

ओम प्रकाश यादव, सप्तरी भदौ २८ । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा सप्तरीको खडक नगरपालिकामा प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१