ओम प्रकाश यादव, लहान, असार ११ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड ४४ लाख ३१ हजार ९४७ रुपैयाँ बराबरको अनुमानित बजेट गाउँसभामा प्रस्तुत गरेको छ । बुधबार सम्पन्न १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले आगामी वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्नु भएको हो ।
बजेट प्रस्तुत गर्दै अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, कृषि, सिंचाइ, रोजगार तथा पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँपालिका भित्रका सर्वसाधारणको जीवनस्तर सुधार गर्ने लक्ष्यसहितका योजनालाई बजेटमा समेटिएको जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षका लागि अनुमानित चालु खर्च ३० करोड ९९ लाख ९५ हजार ९४७ रुपैयाँ रहनेछ भने पूँजीगत खर्चतर्फ १७ करोड ४४ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटको श्रोत पक्षमा प्रमुख रूपमा ३५ करोड ९ लाख ३१ हजार ९४७ रुपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट आउने अनुमान गरिएको छ ।त्यसैगरी, आन्तरिक आय ३ करोड ३५ लाख, चालु आर्थिक वर्षको अनुमानित बैंक मौज्दात ३ करोड, संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँड ८ करोड ४ लाख ९७ हजार ८२७, प्रदेश सरकारबाट ४१ लाख ९८ हजार १२० रुपैयाँ राजस्व बाँडफाँडबाट प्राप्त हुने जनाएको छ ।
नेपाल सरकारबाट प्राप्त सामान्यीकरण अनुदान ८ करोड ५८ लाख, सम्पूरक अनुदान १ करोड ६८ लाख, सशर्त अनुदान (चालु) १२ करोड १८ लाख, सशर्त अनुदान (पूँजीगत) ६५ लाख, विशेष अनुदान १ करोड ६५ लाख रहेका छन् । प्रदेश सरकारबाट प्राप्त हुने सामान्यीकरण अनुदान ५८ लाख ३६ हजार, सशर्त अनुदान ८० लाख, सम्पूरक अनुदान २० लाख, विशेष अनुदान ३० लाख र सामाजिक सुरक्षा भत्ता शीर्षकमा १० करोड ४४ लाख ३१ हजार ९४७ रुपैयाँ बजेटमा समावेश गरिएको छ ।
अध्यक्ष यादवका अनुसार चालु आर्थिक वर्षमा भगवानपुर बजार क्षेत्रको अतिक्रमण हटाएर सुन्दर बजार विकास गरिएको छ । अतिक्रमित जग्गा खाली गरी नगरको सौन्दर्य बढाउने योजना कार्यान्वयनमा आएको छ । त्यसैगरी, २५ सय मीटर ग्राभेल सडक स्तरउन्नति तथा निर्माण सम्पन्न भएको छ भने ४२१ मीटर आरसीसी ढलान सडक, ४ वटा मन्दिर, र एउटा पोखरीको जीर्णोद्धार कार्य पनि सम्पन्न गरिएको जानकारी गराइयो । गाउँपालिकाले हाल ५६३ मीटर आरसीसी ढलान सडक निर्माण कार्य चालु वर्ष भित्र सम्पन्न गर्ने योजना बनाएको छ । त्यसैगरी, ३७ सय मीटर ग्राभेल सडक र १९ सय मीटर कृषि सडक निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ ।
अध्यक्ष यादवका अनुसार, २ वटा विद्यालय भवन, २ स्वास्थ्य चौकी, ९ वटा ह्युम पाइप जडान, २ वटा कल्भर्ट, ३ मन्दिर निर्माण, तथा २ वटा पोखरी सौन्दर्यीकरण कार्य पनि कार्यान्वयनको क्रममा छन् । यी सबै योजनाहरू गाउँपालिकाको दीगो विकास र स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको बताइएको छ । गाउँपालिकाले आगामी वर्षमा शैक्षिक गुणस्तर सुधार, किसानमुखी कृषि कार्यक्रम, स्वास्थ्य सेवामा पहुँच वृद्धि, स्थानीय रोजगारी सिर्जना र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक विकासका कार्यक्रमलाई अगाडि बढाउने बताएको छ ।
अध्यक्ष यादवले पारदर्शी, उत्तरदायी र नागरिकमुखी शासन प्रणालीमार्फत विकास योजनाहरू समयमै कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।१३ औं गाउँसभा समापन गर्दै अध्यक्ष यादवले सबै वडाका प्रतिनिधिहरू, जनप्रतिनिधि, कर्मचारी र जनसमुदायलाई सहकार्यका साथ योजनाहरू कार्यान्वयन गर्न अपिल गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic