लहान नगर प्रमुख महेश चौधरीको मितव्ययी नेतृत्व : विलासिता होइन, सेवा र सादगीमा विश्वास

  • जेठ २०, २०८२
  • ५६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, जेठ २० । मुलुकभरि सरकारी स्रोतको दुरुपयोग र अनावश्यक खर्च बढ्दो छ । स्थानीय तहमा यो प्रवृत्ति झन् भयावह रूप लिँदै गएको देखिन्छ । जनप्रतिनिधिहरू विलासी जीवनशैली, भड्किलो कार्यकक्ष र अनावश्यक सेवासुविधाको होडमा लागेका समाचारहरू बारम्बार सार्वजनिक भइरहेका छन् । यसले राज्यको सम्पत्तिमाथि दोहन त भइरहेको छ नै, स्थानीय सरकारप्रतिको जनविश्वास समेत घट्दै गएको छ ।

तर, यसैबीच सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी भने फरक ढंगले अगाडि बढिरहेका छन् । लहान नगरपालिकास्थित उनको कार्यकक्षमा पाइला टेकेपछि अरू धेरै स्थानीय तहका कार्यालयभन्दा एकदमै भिन्न अनुभूति हुन्छ । महंगा सोफा, आधुनिक फर्निचर र साजसज्जाले भरिएका कार्यालयबीच मेयर चौधरीको कार्यकक्ष भने अत्यन्त सामान्य छ – प्लास्टिकका सामान्य कुर्सी र साधारण काठका टेबल मात्र । 

नगर प्रमुख चौधरीका अनुसार, कार्यभार सम्हालेपछि उनले पहिलेदेखि कार्यकक्षमा राखिएका महंगा सोफा र टेबल हटाउन निर्देशन दिएका थिए । “सरकारी स्रोतको दुरुपयोग बन्द गर्न सन्देश दिनु थियो,” उनी भन्छन्, “साथै, सामान्य नागरिकले कार्यालयमा सहज महसुस गरून् भन्ने पनि चाहना थियो ।” उनले कार्यालयमा अपनाएको सादगीले उनको व्यक्तिगत सोच मात्र होइन, समग्र पालिकाको कार्यशैलीमा पनि परिवर्तन ल्याउन थालिसकेको छ ।

मेयर चौधरी भन्छन्, “यसअघि पालिकामा अनावश्यक रूपमा आर्थिक स्रोतको दुरुपयोग हुन्थ्यो, तर म जितेर आएपछि आफैंबाट परिवर्तनको सुरुवात गरेँ ।” उनका अनुसार कार्यकक्षमा देखिएको सादगी त केवल एउटा सानो उदाहरण मात्र हो । “पालिकाको हरेक क्षेत्रमा मितव्ययिता अपनाउने मेरो प्रयास जारी छ,” उनी थप्छन् । उनले कार्यालयमा अनावश्यक खर्च कटौती गर्दै विकास, शिक्षा, स्वास्थ्यजस्ता प्राथमिकता प्राप्त क्षेत्रहरूमा बजेट केन्द्रित गरिरहेका छन् । सेवाप्रवाहलाई प्रभावकारी बनाउन आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा प्राथमिकता दिइएको उनले बताए ।

नगर प्रमुख चौधरीको यो शैलीले जनप्रतिनिधिहरूको भड्किलो छविबाट एक भिन्न पहिचान बनाएको छ । सादा जीवनशैली र सेवा केन्द्रित सोचका साथ अगाडि बढिरहेका चौधरीले भ्रष्टाचार र स्रोतको दुरुपयोगविरुद्ध स्पष्ट सन्देश दिएका छन् । स्थानिय सरकारले जनताको नजिकबाट सेवा दिनुपर्ने हो भन्ने उनको बुझाइ व्यवहारमै देखिएको छ । स्रोतको इमानदार उपयोग र पारदर्शी शासनको उदाहरण बनेका मेयर चौधरीप्रति स्थानीय जनतामा विश्वास र सम्मान बढ्दो छ ।

जब मुलुकभरि जनप्रतिनिधिहरूको आलोचना हुने गर्छ, त्यतिबेला लहान नगरपालिकाका मेयर महेश चौधरीजस्ता नेताले जनताको मन जित्न सक्छन् – विलासितामा होइन, सेवामा । सादगी, मितव्ययिता र जनमुखी सेवा– यिनै तीन आधारमा चौधरीले लहान नगरलाई नयाँ गन्तव्यतर्फ अघि बढाउने विश्वास जनस्तरमा पलाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल बर्दिया ज ...

काठमाडौं २२, जेष्ठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल बर्दिया ज ...

सस्तो मूल्यले किसान ...

ओम प्रकाश यादव, लहान, २२ जेठ । लहान, सिराहा  लहान बजारमा यतिबेला आँप किन्ने ग्राहकको भीड द ...

नेशनल मेडिकल कलेज र ...

रंन्जित चौरसिया वीरगंज २२ जेष्ठ। पर्साको भेडीयाही स्थित नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका १३ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१