Siraha Times
ताजा समाचार

लहानमा सडक दुर्घटनाको जोखिम बढ्दो, ट्राफिक प्रहरीले सचेतना अभियान सुरु गर्‍यो

  • जेठ ८, २०८२
  • ९१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान जेठ ८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान खण्डमा सडक दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले सडक सुरक्षा सचेतना अभियान सुरु गरेको छ। चाइना रेलवे कम्पनीले निर्माण गरिरहेको लहान क्षेत्रको सडक खण्ड अस्थायी र अस्थिर बनेपछि पैदलयात्रीदेखि सवारी चालकसम्म सबै जोखिममा परेका छन्। सडक पेटीमा व्यापारीहरूद्वारा गरिँदै आएको अनधिकृत व्यापार, अनियन्त्रित सवारी चाप र निर्माणाधीन सडकको अव्यवस्थित अवस्थाले दुर्घटनाको सम्भावना उच्च बनाएको छ।

सडकमा हिँडिरहेका पैदलयात्रीहरू सधैं दुर्घटनाको जोखिममा रहेको पाइएको छ। यसै सन्दर्भमा ट्राफिक प्रहरीले "सडक सुरक्षा, हाम्रो जिम्मेवारी" भन्ने नाराका साथ विशेष सचेतना अभियान थालेको हो। ट्राफिक प्रहरी लहानका इन्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाले सडक सुरक्षालाई प्राथमिकतामा राखेर दर्जनौं ट्राफिक प्रहरी लहान क्षेत्रमा परिचालन गरिएको जानकारी दिए। “सडकमा हिँड्ने, व्यापार गर्ने तथा सवारी चलाउने सबै पक्षलाई सचेत गराउन अभियान थालिएको हो,” उनले बताए।

सचेतना अभियानअन्तर्गत ट्राफिक प्रहरीले सडक किनारमा अनधिकृत रूपमा व्यापार गरिरहेका व्यापारीहरूलाई हटाउने, चेतावनी दिने र ट्राफिक नियमको पालना गराउन कडाइ थालेको छ। साथै सवारी चालकहरूलाई सिट बेल्ट, गति नियन्त्रण र लेन अनुशासनबारे जानकारी दिइएको छ। स्थानीय बासिन्दाहरूले ट्राफिक प्रहरीको सक्रियता र सचेतना अभियानको स्वागत गरेका छन्। लहान निवासी रामनारायण यादव भन्छन्, “ट्राफिकले अहिले जुन रूपमा निगरानी बढाएको छ, त्यो राम्रो हो। तर सडक निर्माण कम्पनीले गुणस्तरीय काम नगर्दा समस्या अझ जटिल भएको छ।”

यस्तै, अर्का स्थानीय रिता देवीले सडकमा हिँड्दा डर लाग्ने अवस्था रहेको बताइन्। “न त बाटो छ न त संकेत चिन्ह, बेलाबेलामा दुर्घटनाको खबर सुनिन्छ,” उनले गुनासो गरिन्। यता ट्राफिक प्रहरीको भनाइमा अभियानलाई अझ सशक्त बनाउँदै सवारी चालक, व्यापारी र पैदलयात्री सबैको सहकार्यमा मात्रै सडक दुर्घटना न्यूनीकरण सम्भव हुने स्पष्ट गरिएको छ। लहानको यो सडक खण्ड निर्माण सम्पन्न नभएसम्म दुर्घटनाको जोखिम कायमै रहने देखिएको छ। त्यसैले स्थानीय निकाय, निर्माण कम्पनी र सुरक्षा निकायबीच समन्वय अत्यावश्यक भएको सरोकारवालाहरूको सुझाव छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१