लहान, वैशाख २९ । लहान नगरपालिका–१५ स्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको केन्द्र माँ राजदेवी पञ्चावति मन्दिरमा बैशाख शुक्ल पूर्णिमा तथा बुद्ध जयन्तीको अवसर पारेर भव्य धार्मिक कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा लहान नगरपालिकाका मेयर महेश चौधरी स्वयं सहभागी भई विधिपूर्वक विशेष पूजापाठ गरेका छन्। पूजापछि मन्दिर परिसरमा परम्परागत रूपमा बलिप्रदान कार्यक्रम प्रारम्भ गरिएको छ। हरेक वर्ष झैं यस वर्ष पनि नेपाल तथा छिमेकी राष्ट्र भारतका विभिन्न जिल्लाबाट हजारौं श्रद्धालु भक्तजन आफ्नो भाकल पुरा गर्न र नयाँ मनोकामना राख्न मन्दिरमा उपस्थित भएका छन्।
बिहानैदेखि भक्तजनको लामो लाइन देखिएको थियो। मन्दिर क्षेत्र पूजाआजा, हवन, तान्त्रिक विधि, बलिप्रदान र भजनकीर्तनमा संलग्न भक्तजनहरूले भरिएको थियो। माँ राजदेवी मन्दिर सिराहा जिल्लाको मात्र नभई सम्पूर्ण मधेस प्रदेशको एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। यहाँ प्रत्येक शनिवार विशेष पूजापाठ तथा दर्शनार्थीहरूको उल्लेख्य भीड लाग्ने गर्दछ। मन्दिरमा दर्शन गर्ने श्रद्धालुले आफूले मागेको भाकल पुरा भएपछि बलिदान चढाउने परम्परा लामो समयदेखि चलिआएको छ। पूजापाठपछि बोल्दै मेयर महेश चौधरीले भने, "माँ राजदेवी मन्दिर लहानको गौरव हो। यसलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास गर्न नगरपालिकाले आवश्यक पहल गर्नेछ। श्रद्धालुको सुविधालाई ध्यानमा राख्दै संरचना विकास, बाटो सुधार, सरसफाइ, खानेपानी, बत्ती र मेलाको व्यवस्थित सञ्चालनका लागि नगरपालिकाले सहयोग गर्नेछ।
" मन्दिरमा हरेक वर्ष लाखौंको संख्यामा श्रद्धालु आउने भए पनि आवश्यक पूर्वाधारको अभावले समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ। उनीहरूले मन्दिर क्षेत्रमा शौचालय, पेयजल, धर्मशाला, पार्किङ, सीसी क्यामेरा जडान, सूचना बोर्ड तथा सुरक्षाको समुचित व्यवस्था गर्न माग गरेका छन्। साथै मन्दिरको प्रचारप्रसार तथा यसको ऐतिहासिक महत्त्वका बारेमा जनचेतना अभिवृद्धिका लागि कार्यक्रम संचालन गर्नुपर्ने सुझावसमेत दिएका छन्।
माँ राजदेवी पञ्चावति मन्दिर धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको प्रतिक बनेको छ। यहाँको वार्षिक मेला, विशेष पूजापाठ तथा भक्तजनको अपार सहभागिताले यस मन्दिरलाई राष्ट्रिय धार्मिक केन्द्रको रूपमा उजागर गरिरहेको छ। यदि स्थानीय तहको ध्यान, समन्वय र लगानी प्राप्त भयो भने यो स्थल धार्मिक पर्यटनको सम्भावनाले भरिएको आकर्षक गन्तव्य बन्न सक्नेछ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic