सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला समितिको आयोजनामा सिरहा सदरमुकामस्थित पुस्तकालयको भवनमा जिल्ला भेला भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा आन्दोलनको वर्तमान अवस्था, आगामी रणनीति, प्रतिनिधि छनोट, र संगठन विस्तारका विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रमको उद्घोषण लालबाबु कामैतले गरेका थिए भने अध्यक्षता श्यामसुन्दर यादवले गरेका थिए। प्रमुख अतिथिको रूपमा आन्दोलनका केन्द्रीय महासचिव मनोज पासमान तथा विशिष्ट अतिथि अध्यक्ष पुनम कुमारी महतो रहेकी थिइन्। साथै, छेदी पासमान, राम भरोसी महतो, मो तैयब अली, केन्द्रीय सदस्यहरू खैरुन खातुन, रञ्जना चौधरी, मञ्जु सदाय, भुमिलाल चौधरी, राजेश्वर राय यादव, चन्देश्वर, तथा लघुवित्त संरक्षक तथा जिल्ला अध्यक्ष शत्रुधन प्रसाद गुप्ता लगायत विभिन्न जिल्ला र पालिकाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
धनुषाका सचिवालय सदस्य दीप नारायण यादव, सप्तरीका केन्द्रीय सदस्य विनोद रामसहित सिरहा जिल्लाका १७ वटा पालिकाबाट प्रतिनिधिहरूको सहभागिता रहेको भेला विधिवत रूपमा सुरु गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य भुमिलाल चौधरीले राख्दै प्रतिनिधि छनोट प्रक्रिया र आन्दोलनलाई सशक्त बनाउने दिशामा एकीकृत ध्यान दिन आवश्यक रहेको बताए।
विनोद रामले आन्दोलनको यात्रा अहिलेको अवस्थामा कम नहुने प्रस्ट पार्दै अझै उग्र पथमा लैजानुपर्ने धारणा राखे। उनले नेतृत्व तहमा रहेका व्यक्तिहरूले जिम्मेवारीपूर्वक आन्दोलनको मोर्चा सम्हाल्नुपर्ने आवश्यकता औंल्याए।
राजेश्वर यादवले जिल्ला भेलाको उद्देश्य नेपालको कानुन र मिटरब्याजसम्बन्धी यथार्थ बुझ्नका लागि भएको जनाए। “हामीलाई कानुन थाहा छैन भन्ने कुरा अब नहोस्,” उनले भने, “भेलाबाट सबैमा स्पष्ट जानकारी पुगोस् भन्ने हाम्रो चाहना हो।” राम भरोसी महतोले संघर्ष बिना कुनै उपलब्धि सम्भव नभएको बताउँदै भने, “संघर्ष गर्न बिर्सियौं भने सन्तानलाई पनि छोडिदिऊँ।” त्यस्तै, छेदी पासमानले आन्दोलनलाई आठ जिल्लाबाट कम्तीमा ५ हजार सहभागी जुटाएर थप सशक्त बनाउनुपर्ने धारणा राखे। “संख्यात्मक र सांगठानिक शक्ति बढे मात्र सफलता सम्भव छ,” उनले भने।
कार्यक्रममा नव निर्वाचित भएका प्रतिनिधिहरूको नाम पनि सार्वजनिक गरिएको छ। अध्यक्षमा श्यामसुन्दर यादव र सचिवमा कप्लेश्वर यादव चयन भएका छन् भने बाँकी पदाधिकारी चयनको प्रक्रिया चाँडै पूरा गरिने जानकारी मनोज पासमानले दिए। अध्यक्ष पुनम कुमारी महतोले भावुक मन्तव्य दिँदै भनिन्, “जबसम्म हामी सडकमा संघर्ष गर्दैनौं, तबसम्म न्याय प्राप्ति सम्भव छैन। नेताहरूको चाकरी गरेर हाम्रो हालत वेवारिसे भएको छ।” उनले आन्दोलनमा एकताबद्ध भएर निरन्तरता दिनुपर्नेमा जोड दिइन्। सिरहाको यो जिल्ला भेला मिटरब्याज पीडितहरूलाई एकतावद्ध पार्ने र न्यायको लागि संघर्षलाई संस्थागत ढंगले अगाडि बढाउने दृढ संकल्पका साथ सम्पन्न भएको आयोजकहरूले जनाएका छन्। सहभागीहरूले भोलिका दिनमा थप ठूला कार्यक्रम गर्ने र दबाब सृजना गर्ने रणनीति तय गर्दै भेलाको समापन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
Water Aid UK टोलीद्वारा लहानका खानेपानी तथा सरसफाइ कार्यक्रमको अनुगमन, नगर विकासमा सहकार्य प्रभावकारी
१८ वर्षदेखि अलपत्र मुक्सारको खानेपानी ट्याङ्की: स्थानीय बासिन्दा काकाकुल, आश्वासनमै सीमित बन्दै योजना
बरियारपट्टी छोटी भन्सार कायम राख्न माग गर्दै जिरोमाईलमा राजमार्ग अवरुद्ध, जनप्रतिनिधि र राजनीतिक दलको समर्थन
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic