Siraha Times
ताजा समाचार

लहान मालपोत कार्यालयमा गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै धर्ना

  • माघ २९, २०८१
  • ७८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान माघ २९ । गाउँ ब्लक जग्गाको सम्पूर्ण फुकुवा माग गर्दै मंगलबार लहानस्थित मालपोत कार्यालयमा स्थानीयहरूले धर्ना दिएका छन्। धर्नाका कारण कार्यालयको नियमित कामकाज प्रभावित भएको छ। आन्दोलनकारीहरूले हक हस्तान्तरण, बिक्री, र बैंक तथा वित्तीय संस्थामा धितो राख्न मिल्ने गरी स्रेस्ता प्रयोगको माग गरेका छन्। यसअघि नै उनीहरूले मालपोत, नापी, इलाका प्रशासन र लहान नगरपालिकामा ज्ञापनपत्र बुझाइसकेका थिए। तर, माग सम्बोधन नभएपछि मसाल जुलुस, विरोध प्रदर्शन गर्दै धर्ना बस्न बाध्य भएको संघर्ष समितिका संयोजक अरुण केसीले बताए। माग पूरा नभए थप सशक्त आन्दोलन गर्दै मालपोत कार्यालयमा तालाबन्दी गर्ने चेतावनी उनले दिएका छन्।

लहान नगरपालिकाका २४ वटै वडामा गाउँ ब्लक जग्गा संघर्ष समिति गठन गरिएको छ। आन्दोलनरत पक्षले गाउँ ब्लक जग्गाको अध्यावधिककरण, नापी तथा लालपुर्जा वितरण गर्नुपर्ने माग राखेका छन्। उनीहरूको भनाइ अनुसार, केही वडाहरूमा नापी गरी लालपुर्जा वितरण भए पनि अधिकांश व्यक्तिहरूको जग्गा अझै नापी भइसकेको छैन। नापी तथा मालपोत कार्यालयको ढिलासुस्तीका कारण हजारौं स्थानीयवासी प्रभावित भएका छन्। संघर्ष समितिका संयोजक अरुण केसीका अनुसार करिब ७ हजार परिवार गाउँ ब्लक जग्गा समस्याले पीडित छन्। उनले राज्यका माथिल्लो निकायले यस समस्याप्रति चासो देखाउनुपर्ने आवश्यकता औंल्याए।

लहान नगरपालिका–१९ का जगदिश साहका अनुसार, “मेरो गाउँमा २०७२ सालमै लालपुर्जा वितरण भएको थियो। तर, अध्यावधिक नहुँदा हामीले हाम्रो जग्गा किनबेच गर्न, बैंकमा धितो राख्न वा अंशवण्डा गर्न पाएका छैनौं। मालपोत कार्यालय जाँदा नापी कार्यालयबाट कागजात नआएको भन्ने, नापी कार्यालय जाँदा मालपोतले ढिलाइ गरेको भन्ने समस्या छ।” उनले राज्यका सम्बन्धित निकायलाई छिटो भन्दा छिटो समस्या समाधान गर्न आग्रह गरे।

लहान नगरपालिकाका मेयर महेश चौधरीले गाउँ ब्लक जग्गाको समस्याका कारण नगरबासीले ठूलो दुःख भोग्नु परेको बताए। “यहाँका हजारौं घरपरिवार जग्गा समस्या समाधान नहुँदा पीडित छन्। हामी जनप्रतिनिधिहरू गाउँ जाँदा स्थानीयवासीबाट निरन्तर गुनासो आउँछ। नगरपालिकाबाट हुने कामहरूका लागि हामी सहजीकरण, समन्वय र सहयोग गर्न तयार छौं,” उनले भने।

लहानस्थित मालपोत कार्यालयका सूचना अधिकारी शिवकुमार यादवले समस्या समाधानमा ढिलाइ भएको स्वीकार गरेका छन्। उनले भने, “नापी कार्यालयबाट प्राप्त भएको स्रेस्ता कम्प्युटरमा प्रविष्ट गर्न नसक्दा समस्या भएको छ। यसलाई यथाशक्य चाँडो समाधान गर्न पहल भइरहेको छ।” स्थानीय प्रशासनले समस्या समाधानका लागि कस्तो कदम चाल्नेछ भन्ने प्रतिक्षामा आन्दोलनरत पक्ष रहेका छन्। यदि तुरुन्तै उचित पहल नभए, संघर्ष समितिले थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१