रहमुल लहान, माघ २८ । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–४ खङटोलमा नवनिर्मित सखिया मन्दिरको भव्य उद्घाटन सम्पन्न भएको छ। खङ समुदायको कुलदेवता मानिने सखिया मन्दिरलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको हो। वडाअध्यक्ष रमेश कुमार यादव तथा दलित महिला सदस्य ककुलती देवी मण्डलले संयुक्त रूपमा मन्दिरको उद्घाटन गरेका हुन्।

खङ समुदायको मागअनुसार धार्मिक तथा सांस्कृतिक धरोहरको जगेर्ना गर्दै वडा बजेट सिलिङ मार्फत मन्दिर निर्माण गरिएको हो। वडाअध्यक्ष यादवले तीन वर्षअघि समुदायलाई दिएको प्रतिबद्धता आज पूरा भएको उद्घाटन समारोहमा बताए। स्थानीय बासिन्दाहरूले मन्दिर निर्माणसँगै धार्मिक आस्थामा मजबूती आउने र समुदायको सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्।

वडाअध्यक्ष यादवले तीन वर्षअघि खङ समुदायसँग सखिया मन्दिर निर्माण गर्ने बचन दिएका थिए। उद्घाटन समारोहमा उनले भने,"खङ समुदायको धार्मिक आस्थालाई सम्मान गर्दै यो पवित्र स्थलको निर्माण गरेका छौँ। धर्म, संस्कृति, परम्परा जगेर्ना गर्नु हाम्रो जिम्मेवारी हो। यस मन्दिर निर्माणले हाम्रो सामाजिक तथा धार्मिक सम्बन्ध अझ बलियो बनाउनेछ।"

मन्दिर निर्माणका लागि वडाले आवश्यक बजेट विनियोजन गरेपछि स्थानीयवासीहरूको सक्रिय सहभागितामा काम सम्पन्न भएको हो। निर्माण अवधिभर स्थानीय बासिन्दाहरूले आर्थिक सहयोग, श्रमदान तथा विभिन्न आवश्यक सामाग्रीको व्यवस्थापन गर्दै आएका थिए।

मन्दिर निर्माणमा खङ समुदायका बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो। समुदायका अगुवा, युवा, महिला तथा वृद्धवृद्धाहरूले सशक्त साथ र सहयोग पुर्यााएका थिए।स्थानीय समाजसेवी रमेश खङ भन्छन्, "यो हाम्रो समुदायको गौरव हो। आज हामीले हाम्रो कुलदेवताको सम्मानमा यो मन्दिर प्राप्त गर्न सकेका छौँ। सबैको सहयोगले मात्रै यो सम्भव भयो।"खङ समुदायका विभिन्न व्यक्तिहरूले मन्दिर निर्माणका लागि धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट आवश्यक परामर्श पनि प्रदान गरेका थिए।

सखिया मन्दिर खङ जातिको धार्मिक आस्था र पहिचानको प्रतीक हो। उद्घाटन समारोहमा उपस्थित महिला, युवा, वृद्ध, स्थानीय अगुवा तथा धार्मिक व्यक्तित्वहरू सबैले मन्दिरको महत्व र यसको संरक्षण आवश्यक रहेको बताए।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दलित महिला सदस्य ककुलती देवी मण्डलले भनिन्, "धार्मिक तथा सांस्कृतिक धरोहरको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो। यो मन्दिरले समुदायलाई एकजुट गर्नेछ र परम्परागत मूल्यहरूलाई जीवित राख्नेछ।" मन्दिर निर्माण सम्पन्न भएसँगै यहाँ धार्मिक अनुष्ठान, पूजा, भजन-कीर्तन तथा परम्परागत चाडपर्वहरू नियमित रूपमा मनाइनेछ। उद्घाटन समारोहमा विशेष पूजा-अर्चना, भजन-कीर्तन तथा प्रसाद वितरण कार्यक्रम गरिएको थियो।
समारोहमा वडाका अन्य पदाधिकारी, धार्मिक अगुवा, समाजसेवी, युवा तथा महिला समूहका सदस्यहरू उल्लेखनीय रूपमा उपस्थित थिए।यो मन्दिर केवल धार्मिक स्थल मात्र नभएर खङ समुदायको सांस्कृतिक पहिचानको केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ। स्थानीय युवा नवीन खङ भन्छन्, "यो मन्दिर हामी सबैको लागि एक साझा थलो हो। अब हाम्रा सन्तानहरूले पनि हाम्रो परम्परालाई सहजै आत्मसात गर्न सक्नेछन्।"मन्दिर उद्घाटनसँगै स्थानीय समुदायबीच सामाजिक एकता, धार्मिक आस्था, परम्परागत संस्कृति र पहिचानलाई जीवन्त राख्ने अभियान सफल भएको छ।समुदायका लागि ऐतिहासिक महत्त्व बोकेको यो सखिया मन्दिर अब खङ जातिको धार्मिक आस्था र एकताको प्रतीकका रूपमा रहने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस
Water Aid UK टोलीद्वारा लहानका खानेपानी तथा सरसफाइ कार्यक्रमको अनुगमन, नगर विकासमा सहकार्य प्रभावकारी
१८ वर्षदेखि अलपत्र मुक्सारको खानेपानी ट्याङ्की: स्थानीय बासिन्दा काकाकुल, आश्वासनमै सीमित बन्दै योजना
बरियारपट्टी छोटी भन्सार कायम राख्न माग गर्दै जिरोमाईलमा राजमार्ग अवरुद्ध, जनप्रतिनिधि र राजनीतिक दलको समर्थन
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic