Siraha Times
ताजा समाचार

चन्देको चिया पसलमा चन्देलाई मुख्यमन्त्री सिँहको नमस्कार

  • भदौ २, २०८१
  • ७८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । जनकपुरधामको जानकी चोकस्थित चन्दे चिया पसल । मर्निङ्ग वाक गर्न सहरको मध्यभाग भएर आवतजावत गर्नेदेखि लिएर जानकी मन्दिर दर्शन गर्न आउने पर्यटकहरूको एकछिन उठबस गर्ने ठाउँ हो यो । चिया, लस्सीजस्ता पेय पदार्थका पारखीहरूको दिनभरि बाक्लो भिड लाग्ने यो ठाउँमा शनिबार बिहान मधेशका मुख्यमन्त्री सतिशकुमार सिँह झुल्किए ।

नजिक रहेको अङ्गराजसर (अरगजा पोखरी) र तेलहा पोखरी अवलोकनपछि मुख्यमन्त्री सिँह फर्कनुअघि अचानक चन्दे चिया पसलमा पुगे । उनीसँगै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साह र गोरखापत्रका प्रदेश संयोजक धीरेन्द्र साह आदि एउटै बेन्चमा बसे । अघिल्तिर नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक गोविन्द साह, नेपाली काँग्रेसका नेता गणेश ठाकुरलगायत बसे । अनि चियाको चुस्कीसँगै सुरु भयो जानकी मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउने कुराकानी ।

त्यतिबेला अलिक पर्तिरबाट मुख्यमन्त्रीतिर सोझिँदै एक सामाजिक कार्यकर्ताले मेला भर्न जानकी मन्दिरमा आउने श्रद्धालुभक्तजनहरूलाई छसातवटा संस्थालाई पनि पानी खुवाउन हम्मे पर्ने गरेको सुनाए । खानेपानीको स्रोत र लस्करै टुटी नलगाइँदा हजारौँ भक्तजनलाई जारबाट पानी खुवाउन नसकिने उनको भनाइलाई मुख्यमन्त्री सिँहले अत्यन्त गम्भीरतापूर्वक सुने ।

साउन महिनामा उपवास राख्ने भएकाले मुख्यमन्त्री सिँहले चियापान भने गरेनन् । तर, सँगै रहेकाहरूले मिठो मानेर चिया पिइरहँदा उनी धीरतापूर्वक सँगै बसे । मुख्यमन्त्री सिँहको यो अवलोकन गर्ने कार्यक्रम पूर्वनिर्धारित नभएर आकस्मिक हुँदा वरपर रहेकाहरू मात्र नजिक आएका थिए । तिनमा थिए काँग्रेसका स्थानीय नेता ठाकुर ।

अरगजा पोखरी र तेलहा रहेको वडा नम्बर १० का अध्यक्ष पदमा गत स्थानीय निर्वाचनमा काँग्रेसका प्रत्याशी रहेका ठाकुरले जीब्रो टोक्दै भने, “यत्तिको सरल र सहज मुख्यमन्त्री मधेश प्रदेशले पहिलोपटक पाएको छ ।” यसभन्दा अघि तामझामका साथ ‘सवारी’ गर्ने मुख्यमन्त्री र मन्त्रीहरूको शैलीमात्र देखेका ठाकुरले मुख्यमन्त्री हिँडेरै सोझै चियापसल अगाडिको बेन्चमा बसेको देखेर छक्क परेका थिए । चियापसले चन्देका लागि पनि मुख्यमन्त्री पसलमा आएर विकासका बारेमा गफगाफ गरेको पहिलो अनुभव थियो । अरू दिन बिहान र बेलुका नेताहरूले दिने लम्बेतान राजनीतिक गफ सुन्न अभ्यस्त भइसकेका उनले एकछिन मुख्यमन्त्रीको अनुहार टोलाए अनि चिया पकाउन व्यस्त भए ।

चिया पसलबाट गाडीतिर फर्किरहँदा मुख्यमन्त्री सिँहले चन्देलाई नमस्कार गरे । चिया पकाउन व्यस्त चन्देले मुन्टो उठाउँदा मुख्यमन्त्रीको नमस्कार मुद्रा हेरे । अनि भावविभोर हुँदै फर्काए नमस्कार ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१