दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, ३० जेठ । लहान १ का १५ बर्षीय जुम्लाहा दाजुभाई बुदी र बुदिआ सदाय कक्षा ६ नपढ्दै कामको लागि भारतको दिल्ली पुगेका थिए । दिल्लीको एक उद्योगमा बोरा कार्टुन लोड अनलोड गर्ने काम पाएका थिए । महिना दिनसम्म काम गरेपछि पैसा माग गर्दा बुदी सदायलाई कुटपिट गर्दा उनी त्यहाँबाट भागेर घर फर्किएका छन् । भारतको कर्णालमा काम गर्न गएका लहान ११ का उत्तम सदायलाई साहुजीले कुटपिट गरि मारेका छन् । काम गरेको ज्याला माग गर्न जाँदा उत्तमलाई उनका साहुजीले कुटपिट गरेका थिए । घाईते उत्तमलाई उपचार नगर्दा १० दिनमा उनको ६ महिना अगाडि मृत्यू भएको छ । सोमनीदेवी सदायले मृत्यू भएपनि कुनै कानुनी कारवाही गर्न सकिएन । न त उनका परिवारलाई कुनै किसिमको राहत नै दिएनन् ।
बीचमै विद्यालय छाडेका बालकहरु मिलमा बोरा बोक्ने, उद्योगमा रासायिनिकयुक्त काम गर्ने, खेतीकिसानी, घरेलु काम गर्ने, होटल, कलकारखाना, ठेला चलाउँने, कवाडी टिप्ने जस्ता जोखिम, निकृष्ट तथा बालश्रम जस्ता काम गर्छन् । यहाँबाट एजेन्टहरुले महिनाको १२—१३ हजार भारु तलब भनेर लैजाछन् । त्यहाँबाट मोहरको दरमा तलब दिने गरेकोले रामकिसन सदायले ६ महिना काम गरेर फर्किएका छन् । रामकिसनले एक त जोखिम काम गराउँछन् । त्यसमा पनि तलब मोहरमा मिलाएर एजेन्टमार्फत दिने गरेको छ । अब म भारत जान नै छाडिसके उनी बताउँछन् । यहाँबाट गएका १० देखि १३ बर्षका बालबालिकालाई भारतमा साडीमा कढाई, होटलमा भाडावर्तन माझ्न, कवाडी संकलन जस्ता काममा लगाउँने गरेको छ । काम गर्न नसकिने बालबालिकालाई यातना दिएपछि त्यहाँबाट भागेर अलपत्र समेत परेका छन् ।
निकृष्ट प्रकारको बालश्रम विरुद्ध अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि र श्रममा संलग्न हुने न्यूनतम उमेरसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको स्मरणमा १२ जुनलाई बालश्रम विरुद्धको विश्व दिवसका रूपमा संसारभरी मनाइने गरिन्छ । श्रमशक्ति २०६६ अनुसार नेपालमा ९ लाख बालिका र ७ लाख बालक गरी १६ लाख बालबालिका श्रमिकको रूपमा काम गर्न बाध्य छन् । तीमध्ये ६ लाख २१ हजार बालबालिका जोखिमयुक्त श्रममा रहेका छन् । नेपालको संविधानको धारा ३९ को उपधारा १० मा कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउने कार्य कानुन बमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेर प्रावधान राखेको छ ।
आज बाल श्रम विरुद्धको दिवस विश्वभर मनाइँदै छ । बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले हरेक वर्षको जुन १२ तारिखमा यो दिवस मनाउदै आएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार बाल श्रम त्यो काम हो जसले बालबालिकालाई बाल्यअवस्था, उनीहरुको सम्भावना र मर्यादाबाट वञ्चित गर्दछ । जुन शारीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक छ । कुनै पनि प्रकारको काम जसले बालबालिकालाई विद्यालय शिक्षा लिन रोक्छ भने त्यो पनि बाल श्रम हो । नेपालले बाल श्रम रोक्न तथा समग्र बाल अधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि बाल अधिकार सम्बन्धी महासन्धि १९८९, श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ महासन्धि र निकृष्ट प्रकारको बालश्रम उन्मूलन सम्बन्धी महासन्धि अनुमोदन समेत गरेको छ ।
बालश्रम रोक्न प्रयास भइरहे पनि त्यो पर्याप्त देखिएको छैन । अहिले पनि डेढ लाखभन्दा धेरै बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका विभिन्न तथ्याङ्कले देखाएका छन् । बालश्रम रोकथाम र न्यूनीकरणका निम्ति शिक्षा सबैभन्दा प्रभावकारी माध्यम बनेको बालश्रमिकको संख्या २६ लाखबाट १६ लाखमा झर्नुले पनि देखाउँछ । जुन बालबालिकालाई आमाबाबुले लालनपालन गर्न र पढाउन सक्दैनन् वा जसका आमाबाबु छैनन्, तिनलाई राष्ट्रले हेर्नुपर्ने गरी कार्ययोजना–कार्यक्रम बनाउने र लागू गर्ने प्रयास भएन ।
सरकारले पछिल्लो समय ‘सीमान्तकृत’ र ‘पिछडिएका समुदाय’ का रूपमा दलित, अपाङ्ग र कर्णाली अञ्चलका बालबालिकालाई सामाजिक सुरक्षाको दायरामा पार्ने गरी सीमित छात्रवृत्ति दिन शुरू गरेको छ । तर, यसलाई बालश्रमसँग जोडिएको देखिंदैन । सरकारले बालश्रम अन्त्यका लागि निर्धारण गरेको लक्ष्य हासिल गर्न पनि यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने र कार्ययोजना र कार्यविधि निर्माण गर्नुपर्ने मानवअधिकारकर्मी राजकुमार राउत बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic