दिनेश्वर गुप्ता । न्यूज्वारभाटा साप्ताहिक लहान । लोप हुन थालेको रैथाने धानको बीउं संरक्षणको लागि लहान १८ भदैया विष्णुपुरमा बैंक संचालनमा आएको छ । यससंगै बैंकमा विभिन्न उन्नत जातको विउ पनि उपलब्ध हुने गरेको अमृतपान कृषि सहकारी संस्था लि.सामुदायिक बीउं बैंकका संयोजक घुरण महतो बताउंछन् । उनले स्थानीय (रैथाने ) धान लामो समयमा पाक्ने र चाहेजति उत्पादन हुन नसकेकोले लोप हुंदै गएको छ । यसलाई संरक्षणको लागि अहिले ढेड कठ्ठामा प्रत्येक बर्ष उत्पादन गर्दै आएको बताउंछन् ।
रैथानेले खाद्य संकटको मध्यनजर गर्दै उन्नत जातका धान कृषकहरुले प्रयोग गर्न थालेको छ । उन्नत जातका सुख्खा १, २, ३,४, ५ , ६ सम्म हर्दिनाथ, मेघदुत, नन्दिना, वौवा निर्मल, राधा १३, तरहरा १, सोना मनसरी, रंजतिलगायतका धान उत्पादन गर्न ३—४ महिनामा घर भित्रियाउंन सकिन्छ । यसैमा सुख्खा हर्दिनाथ २ महिनामै तयारी हुने गरेको छ । स्थानीय गीता चौधरी भन्छीन् —‘ सुख्खा धान प्रति कठ्ठा तीन क्वांटल उत्पादन भएको छ ।’‘ दूई महिनामै धान तयारी भएको छ ।’ चौधरीले यस पटक १५ कठ्ठामा सुख्खा धानको खेती गरेकी थिइन् । सुख्खा धान खानपिनमा स्वादिलो, कम समयमा उत्पादन, पानी कम भएपनि राम्रो उत्पादन, रोग किरा नलाग्ने, कम मलखाद्यको प्रयोग र मनसुली भाउमा विक्री हुने गरेकोले कृषकहरु हर्षित भएका छन् । केयर, राष्ट्रिय कृषि समूह महासंघ र लिबर्डको सहयोगमा बीउं बैंक २०७४ देखि संचालनमा आएको छ । बैंकमा स्थानीय खेम्टी, बकैय, गोमहा, सेतो वासमती, रातो बासमती, करियाकामोद, लालसर, हरिनफेल, ममई, कनकजिरी, जर्नेली, मिठाई, घिउपुरी, मगर, चन्नचुर, दोरंगा, मनसरी, बलुसाइर, वहर्नी हर्दा, बच्ची, अन्दीलगायतको रैथाने बीउं संकलन रहेको छ । संरक्षणको ट्याग सिस्टममा उक्त बीउं उत्पादन गरी बैंकमार्फत संरक्षण गर्दै आएको छ । लहान १८ भदैया गाउं महासंघका अध्यक्ष गंगाराम महतो भन्छन् —‘भविष्यमा उन्नत जातका धानमा व्यापक रोग किरा लागेमा तथा सुख्खा मौसममा उत्पादनमा समस्या हुन सक्छ ।’ ‘अगामी दिनको लागि थोरै मात्रामा बीउं संरक्षणको लागि उत्पादन गर्छु ।’ यहांको माटोमा अमलीयता (एज्) सबै खेतको एक रुपता छैन । यसैले उत्पादनमा पनि समस्या छ । स्थानीस्तरमा बीउं बैंक खोलिएपछि यहांका किसानहरु बाहिर जानबाट रोकिएको छ । विशुद्ध बीउं हुने गरेकोले बजारको एग्रोभेटमा जान छोड्दै गएको छ । बैंकमा उन्नत ८ र स्थानीय २५ जातका धान उपलब्ध छ ।
कृषि उत्पादनको लागि ऋण लिबर्डको १ लाख ५० हजार सहयोग र अमृतपान संस्थाको १ लाख रकमबाट जैविक विविधता कोष संचालन गरिएको छ । ३१ जना सेयर सदस्यबाट शुरु भएको उक्त कोषसंग आबद्ध अहिले ६९ पुगेको छ । आवश्यक स्टीमेट र विशेष अनुवेशन गरी कृषि परियोजनको लागि ऋण दिने गरेको छ । बैंकले १२ प्रतिशत ब्याजमा ऋण दिने गरेको छ । सहकारी र बीउं बैंककी अध्यक्ष खेमकुमारी सिंह भन्छीन्—‘ विशुद्ध बीउंको लागि सदस्य संख्या बढ्दै गएको छ ।’‘ उन्नत जातको बीउंमा उमारशक्ति बढी रहेको छ ।’‘कृषकको माग अनुरुप यहां बैंक खोल्नुपरेको छ ।’ उनी बताउंछीन् ।
२०७१ देखि संचालनमा रहेको घरबगैंचा कार्यक्रममा अढाई बर्षसम्म लिबर्डले सहयोग गर्दै आएका थिए । यस अन्तरगत फलफूल विरुवा, प्लास्टिक पोखरी १ ,सिमेन्ट पोखरी १२, गोबर ग्यास ९, तरकारी बीउं, प्राविधिक सहयोग, ज्ञान शिप विकास तालिम दिएका छन् । सहयोग आउंन रोकिएपछि स्थानीयहरु आत्मनिर्भर बनेका छन् ।