२०७४ को समीक्षा, २०७५ को योजना

  • चैत ३०, २०७४
  • ९८० पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत ३०। नयाँ वर्ष हरेकका लागि ठूलो उत्सव हो । नयाँ खुसी, उमंगका साथ नयाँ वर्ष आउने गर्छ । हामी अनेक वाचाहरू गर्छौं, अनेक सपना सजाउँछौँ । बितेको वर्षमा भएका गल्तीहरू नदोहो-याउने प्रण गर्छाैँ । विभिन्न योजनाहरू बन्छन्, बनाइन्छन् । बिग्रेका सम्बन्धलाई पनि नयाँ वर्षका अवसरमा सुमधुर बनाउने प्रयास गरिन्छ । सम्बन्धलाई अझ मजबुत बनाउने अवसरका रूपमा पनि नयाँ वर्षलाई लिइन्छ । असफल र अधुरा कामको समीक्षा गर्दै नयाँ जोस र जाँगरका साथ काम गर्नका लागि नयाँ वर्षले प्रेरित गर्छ । यस्तै, पुरानो वर्ष कसरी बित्यो र नयाँ वर्ष कसरी अर्थपूर्ण बनाइँदै छ त ? लेखक/सेलेब्रेटीहरूको ०७४ कस्तो रह्यो र नयाँ वर्ष २०७५ का योजना के छन् ? 

स्टेडियममा समर्पित सीताराम कट्टेल (धुर्मुस)/कलाकार

वर्ष २०७४ मेरा लागि मात्र होइन, सिंगो देशका लागि सुखद र उत्साहपूर्ण रह्यो । यो वर्ष, लामो समयदेखि अलमलमा परेको राजनीतिले निकास पाएको वर्ष हो । स्थानीय निर्वाचन, प्रदेश सभा र संघीय संसद्को निर्वाचन यही वर्षमा सम्पन्न भयो । प्रदेशसभा र प्रदेश सरकार बने । मुलुक नयाँ संरचनामा अघि बढेको छ । यो हामीलाई राष्ट्रिय रूपमै मिलेको सफलता हो । व्यक्तिगत सवालमा पनि वर्ष २०७४ म र कुञ्जना घिमिरे (सुन्तली)का लागि पनि निकै सफल वर्ष बन्यो । हामीले यो वर्ष रौतहटमा एकीकृत नमुना सन्तपुर बस्ती र महोत्तरीमा एकीकृत नमुना मुसहर बस्ती बसाल्न सक्यौँ । कलाकारितामा पनि अभिनय र विभिन्न कार्यक्रममा सहभागी बन्न पायौँ । नयाँ वर्ष २०७५ सबैका लागि सुखद बन्ने विश्वास त गर्नैप-यो । राजनीतिक संक्रमण सकिएकाले अब देश समृद्धिको यात्रामा हिँड्ने विश्वास र आशा छ । मुलुकभित्र सम्भावना, रोजगार, स्रोतको सदुपयोग हुने अपेक्षा नयाँ वर्षसँग गरेको छु । मेरो (कुञ्जनासहित) योजना भनेको २०७५ मा लर्ड बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम निर्माणमा समर्पित हुने हो । सम्भवतः त्यसले आकार पाउनेछ । हामी विभिन्न संघ/संस्थाका दूत छौँ, कलाकारिता त त्योमार्फत जनचेतनामूलक कार्यक्रम गरेर पनि दर्शकसँगै हुनेछौँ ।

 

० नयाँ उपन्यासको ड्राफ्ट : बुद्धिसागर/साहित्यकार

मेरो लागि ०७४ सुखद रह्यो । घरको एकतला थपेँ । सिर्जनाको हिसाबमा फिल्मको स्क्रिप्ट लेखिसकेँ । ‘कर्णाली ब्लुज’बारे उस्तै प्रतिक्रिया पाएँ । पछिल्लो चरणमा ‘फिरफिरे’को राम्रो प्रतिक्रिया पाएको छु । किताबको प्रतिक्रिया प्रायः ढिलो आउने गर्छ ।सिर्जनाकै हिसाबमा त ०७५ मा केही आउलाजस्तो लाग्दैन । तर, कर्णाली ब्लुजको अंग्रेजी संस्करण आउँदै छ । कभर फेरेर फिरफिरे आउँदै छ । सायद नयाँ उपन्यासको पहिलो ड्राफ्ट सकाउँछु कि ! घरायसी काम छ । र, केही यात्रा गर्छु ।

 

 

 

० फिल्म उद्योगमा जान्छु : निकिता चन्डक/पूर्वमिस नेपाल

समग्रमा ०७४ निकै राम्रो बित्यो । यो वर्षले नै जीवनको ट्र्याक परिवर्तन गरिदियो । मिस नेपाल बन्छु भन्ने सपना नै थिएन । त्यही भएर पनि ०७४ मेरो लागि जीवनकै विशेष वर्ष रह्यो । म कलेज ड्रपआउट हो । ०७४ मा अलिकति डिप्रेसनमा पनि थिएँ । मिस नेपालले त्यो कुराको फुलफिल गरिदियो । २०७५ का लागि मैले केही योजना बनाएकी छु । मुभीमा काम गर्ने रहर छ । त्यसका लागि मिहिनेत र अध्ययन गरिरहेकी छु । अर्को कुरा, मैले आफँैलाई एक्सप्लोर गर्नु छ । आफैँलाई बनाउनु पनि छ । आफूसँग भएको विशेष क्षमताबारे थाहा पाउनु छ । नेपाली फिल्म इन्डस्ट्रीभन्दा बाहिर छु । अब नजिक रहेर काम गर्ने योजना छ ।

 

 

 

 

० नयाँ उपन्यास ल्याउँछु : अमर न्यौपाने/साहित्यकार

०७४ मेरालागि सामान्य रह्यो । चैत अन्तिममा किताब बजारमा ल्याउने कुरा थियो, तर, आएन । यो वर्ष लेखनको हिसाबले राम्रो रह्यो । बेलायत भ्रमण गरेँ । त्यहाँ अन्तर्राष्ट्रिय नेपाली 

 

वाङ्मय (अनेवा) नक्षत्र पुरस्कार पाएँ । ०७५ मा मेरो किताब आउँदै छ । प्रकाशकसँग कुरा भइरहेको छ । सायद, दुईतीन महिनाभित्रमा आउँछ होला । अरू किताबमा पनि काम गरिरहेको छु । ०७५ मा त्यसले मूर्त रूप पाउन सक्छ । पहिले धेरै योजना बनाइन्थ्यो । हरकुरा योजनाभन्दा विपरीत भइदिँदो रहेछ । मैलै योजना बनाउनै छाडेँ । अब त उमेरले ४० टेक्न आँटियो । पहिले द्वन्द्वात्मक भौतिकवादका कारण निकै ऊर्जाका साथ योजनाहरू बन्ने गथ्र्यो । अहिले भने गीतालाई विश्वास गर्ने भएको छु । कर्म गर, फलको आशा नगर

 ।

 

 

० यो वर्ष पनि दोधारमै : चन्द्रवीर तुम्बापो/कवि  

२०७४ साल पनि मेरो अन्य वर्षजस्तै गयो । म प्रायः योजना, संकल्प र अठोटविहीन वर्षहरू बाँच्दै आएको छु । यो वर्ष पनि उसैगरी बितेर गयो चियामा, दारुमा । साथीहरूले पढेर, चिन्तन गरेर लेखेर बिताए होलान् । तर, मेरोचाहिँ विरोधमा, असन्तुष्टिमा, गालीमा र एकप्रकारले कुरा काटेर गयो । केही कविता लेखियो । पूरा हुन नसकेका कविता छन्, सायद ०७५ सालमा पूरा गर्छु होला वा गर्दिनँ पनि होला । उस्तै हो, ७५ सालमा पनि कुनै योजना छैन । आफ्ना कवितासँग उति सन्तुष्ट पनि छैन । हरदम मेरो पर्खाइ हुन्छ कि कोही कविबाट धित मर्ने कविता आओस् । मेरा प्रियजनहरूको अनुरोध र दबाब पनि छ कि, मेरो कविता संग्रह आओस् र बिहे पनि होस् । बिहेबारे त सोच नै छैन । तर, मेरा झुर कविताहरूको कचेट बोकेर आऊँ या नआऊँ ! दोसाँधमा उभिएको छु । सायद ७५ साल पनि यो राज्यको विभेदकारी नीतिलाई विरोध गरेर बित्नेछ । र, क्षतिपूर्तिस्वरूप केही कविता लेखेर बित्छ होला ।

 

 

 

 

० एसइईको तयारी गर्छु : करिश्मा मानन्धर/अभिनेत्री

०७४ मेरो लागि त्यति राम्रो, सहज थिएन । तर, मलाई चुनौतीहरू मन पर्छन् । र, लिन्छु । यो वर्ष मैले चुनाव सामना गर्नुप-यो । त्यो मेरो लागि नयाँ अनुभव थियो । पार्टी पनि नयाँ थियो । नौ कक्षाको परीक्षा पनि थियो । त्यति सजिलो थिएन । तर, मैले राम्रोसँग परीक्षा दिएँ । विभिन्न कुराहरू सिक्न पाएँ । नयाँ कुरा बुझ्न र देख्न पाएँ । कलाकार भएकाले पनि निकै व्यस्त भएँ ।०७५ मा बाँकी रहेका काम पूरा गर्नेछु । म यो वर्ष फरक प्रकारले जिउन चाहन्छु । मेरो एसइई आउँदै छ । त्यसको तयारी गर्छु । सबैले मेरो हेल्थलाई लिएर प्रशंसा गर्छन्, तर निकै केयरलेस छु । मेरो हेल्थका लागि पनि ध्यान दिनु छ । राजनीतिक यात्राका लागि ०७४ छुट्टै थियो । अवसरको खोजीमा आएका साथीहरू बाहिर निस्किएका छन् । अब पार्टीलाई मजबुत बनाउन लागि पर्नेछु । आशावादी छु, हरेक बिहान मेरो जिन्दगीमा केही हुनेवाला छ भनेर सकारात्मक भएर हिँड्ने गर्छु ।०७५ पनि त्यसरी नै बित्नेछ । अहिले सिनेमाले राम्रै मार्ग लिएजस्तो लाग्छ । ०७५ मा नेपाली फिल्म हेर्ने दर्शक बढून् भन्ने चाहन्छु । एकै किसिमका फिल्म मात्र नबनून् भन्ने सदीक्षा छ ।

० अन्तर्रााष्ट्रिय मूर्तिकला प्रदर्शनी : धनु याखा/नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभाग प्रमुख

२०७४ अरू वर्षभन्दा विशेष रह्यो र कष्टकर पनि । निकै महत्वपूर्ण काम भए । कोरियामा ३२ नेपाली कलाकार र ५० भन्दा बढी कोरियन कलाकार मिलेर अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शन ग-यौँ ।

कला र संस्कृतिले देश विकासमा भूमिका खेल्छ भन्ने लाग्छ । त्यही उद्देश्य लिएर युरोपियन राष्ट्र लिथुआनियामा पनि पाँचजना नेपाली कलाकार मिलेर चित्रकला प्रदर्शनी ग-यौंँ ।

०७५ मा यहाँ अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी गर्ने योजना छ । यसको आन्तरिक तयारीमा जुटेका छौँ । अन्तर्रााष्ट्रिय मूर्तिकला प्रदर्शनी गर्ने योजना पनि छ । कला र संस्कृतिको माध्यमबाट पर्यटन क्षेत्रमा योगदान दिने योजना छ ।

० आख्यान र अन्तर्राष्ट्रिय देश दर्शन : रामलाल जोशी/साहित्यकार

२०७४ साल विशेष रह्यो । साहित्य क्षेत्रमा यो वर्ष पनि राम्रा कृति आए । व्यक्तिगत रूपमा म साहित्यिक गतिविधिमै संलग्न भइरहेँ । सुदूर र कर्णालीको भाषाजस्तै त्यहाँको संस्कृतिलाई स्थापित गर्न भारतको काँगडादेखि देशका विभिन्न सहर हुँदै नेपालीभाषी रहेको भारतको दार्जिलिङसम्म साहित्यिक सांस्कृतिक देशदर्शन मेरै नेतृत्वमा भयो ।

२०७५ मा नयाँ उपन्यास पस्किने तयारीमा छु । पाण्डुलिपी तयार भइसकेको छ । त्यो छिट्टै आउँछ । नयाँ वर्षमा काली–कर्णालीको संस्कृति समेटेर टोलीसहित अन्तर्राष्ट्रिय साहित्यिक, सांस्कृतिक यात्रा गर्ने योजनामा छु ।

० नथियाजस्तै नयाँ भर्जिन किताब : सरस्वती प्रतीक्षा/साहित्यकार

वर्ष ०७४ उपलब्धिमूलक रह्यो । धेरै वर्षपछि ‘नथिया’मार्फत एउटा सपना साकार भएजस्तो लाग्छ । किताब विमोचन भएको पहिलो बिहान दुई/तीनजना पाठकले सुन्दर प्रतिक्रिया दिनुभयो । त्यो मेरा लागि स्मरणीय रह्यो । किताबको कामले गर्दा व्यक्तिगत जीवन पनि ध्वस्त भयो ।

नयाँ ०७५ मा वैशाखदेखि नथियासँग पूर्वतिर यात्रा हुनेछ । त्यसलगत्तै भदौमा नयाँ किताबका लागि स्थलगत अध्ययनमा लाग्छु । केही ठाउँमा यात्रा गर्छु । पाठकको अपेक्षा बढेको छ । राम्रो किताब दिनुपर्ने चुनौती छ । म नथियाजस्तै भर्जिन विषयवस्तुमा नयाँ किताब लेख्छु ।

०  नयाँ कथा ‘पाइ’ आउँछ : राजव/साहित्यकार

समग्रमा ०७४ राम्रै रह्यो । घुमफिर धेरै भयो । मंसिरदेखि ६ महिना नेपालमै रहेँ । लेखनको कुरा गर्दा नयाँ उपन्यासको दोस्रो ड्राफ्ट सकाएँ । पुराना साथीभाइसँग खुब रमाइलो गरेँ ।

०७५ मा उपन्यासको ड्राफ्ट पूरा गर्छु । मेरो नयाँ कथा संग्रह ‘पाइ’ नयाँ वर्षमा आउँदै छ । ‘एटलान्टिक स्ट्रिट’ उपन्यासको पुनर्संस्करण आउँदै छ । अमेरिका गएपछि केही ठाउँमा घुम्छु होला । जति पनि तनाब छन् त्यो कम होस् भन्ने म चाहन्छु । देशको अवस्था सुध्रियोस् भन्ने कामना गर्छु ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिकामा ...

ओम प्रकाश यादव  लहान, १७ असोज । सिरहाको धनगढीमाई नगरपालिका–४ मा दाजुभाइबीच १९ वर्षदेखि अं ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , असोज १७ । कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा ...

लहानमा EV को ठक्करबा ...

ओम प्रकाश यादव, लहान असोज १५ । आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। लहान नगरपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१