Siraha Times
ताजा समाचार

कृषि कार्यक्रमले फेरिँदै दलित बस्तीको मुहार, आत्मनिर्भर बन्दै भूमिहीन परिवार

  • भदौ १६, २०८३
  • ९७ पटक पढिएको
  • रहमुल
alt

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थानीय सरकारको संयुक्त साझेदारीमा सञ्चालित जीविकोपार्जन तथा एकीकृत कृषि सुधार कार्यक्रमले भूमिहीन, सुकुम्बासी, गरिब तथा दलित परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन थालेको छ। संस्था र स्थानीय सरकारको सहकार्यमा विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको कृषि, शिक्षा, स्वास्थ्य, खाद्यान्न, खानेपानी, सरसफाइ तथा आवासीय लगायतका कार्यक्रमले विपन्न परिवारलाई आयआर्जनसँग जोड्नुका साथै आत्मनिर्भर बन्ने आधार तयार गरेको संयुक्त अनुगमनका क्रममा देखिएको हो।

May be an image of one or more people

‘कृषि धमाका’ नाम दिइएको कार्यक्रमअन्तर्गत सामूहिक करार खेती, जैविक तथा अर्गानिक कृषि प्रविधि, मौसमअनुसार कृषि तालिम, बीउ तथा मल, खानेपानी, कृषि यान्त्रीकरणका सामग्री वितरण, सरसफाइ, पोषण, स्वास्थ्य तथा शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको क्लबले जनाएको छ। बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतो र उपाध्यक्ष ममता कुमारी यादव सहितको टोलीले कार्यक्रम सञ्चालन भएका विभिन्न स्थानको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा कार्यक्रमले दलित तथा विपन्न परिवारको आयआर्जन, खाद्य सुरक्षा, सरसफाइ, शिक्षा र सामाजिक चेतनामा उल्लेखनीय परिवर्तन ल्याएको स्थानीयले बताएका छन्।

May be an image of one or more people

बरियारपट्टी गाउँपालिका–१ नर्गी खरहौरियामा रहेको लक्ष्मी महिला कृषक समूह मार्फत विगत दुई वर्षदेखि तरकारी खेती, पोषण, मुडा बनाउने, सरसफाइ तथा विभिन्न कृषि सम्बन्धी तालिमलगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। स्थानीयका अनुसार क्लब र गाउँपालिकाको सहयोगमा सञ्चालित कार्यक्रमबाट उक्त दलित बस्तीका करिब ६० घरधुरीले जीविकोपार्जनका विभिन्न आधार प्राप्त गरेका छन्। रोजगारी तथा आयआर्जनका लागि नयाँ सीप सिक्नुका साथै आफ्नै उत्पादनमा निर्भर हुने अवस्था बन्दै गएको उनीहरूको भनाइ छ।

May be an image of one or more people

कार्यक्रमपछि बस्तीमा सरसफाइको अवस्था सुधारिएको, बालबालिका विद्यालय जान थालेको, पोषणयुक्त खाना खाने बानी विकास भएको र अरुको भर पर्नुपर्ने अवस्था केही हदसम्म अन्त्य हुँदै गएको स्थानीय महिलाहरूले बताए। उनीहरूले आफूहरूमा आत्मविश्वास बढेको र अन्य समुदायसँग प्रतिस्पर्धा गर्दै अघि बढ्न सक्ने वातावरण निर्माण भएको बताएका छन्। रविदास कृषक समूहमा कृषि उपकरणदेखि शिक्षासम्म लगानी बरियारपट्टी गाउँपालिका–५ झीझौलमा रहेको रविदास कृषक समूह पनि विगत तीन वर्षदेखि कार्यक्रमसँग जोडिएर सञ्चालनमा छ। समूहलाई खेतीपातीका लागि हाते ट्र्याक्टर, मोटर तथा बोरिङलगायतका सामग्री उपलब्ध गराइएको छ।

May be an image of one or more people

समूहमा कृषि उत्पादनसँगै शिक्षालाई समेत प्राथमिकता दिइएको छ। दुई जना युवालाई उच्च शिक्षा हासिल गर्न समूह तथा संस्थाको तर्फबाट सहयोग गरिएको जनाइएको छ। घुम्ती कोषमार्फत सदस्यहरूलाई विभिन्न आवश्यकता पूरा गर्न सहयोग पुगेको तथा तालिमबाट जैविक मल उत्पादनदेखि आधुनिक कृषि प्रविधिसम्म सिक्ने अवसर प्राप्त भएको समूहका सदस्यहरूले बताए। ३४ जना महिला सदस्य रहेको उक्त समूहमा दलित समुदायका दास, साफी, मुखिया र राम जातिका महिलाहरूको सहभागिता रहेको छ। कृषि तालिम, बचत तथा घुम्ती कोषको अभ्यासले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सहयोग पुगेको उनीहरूको भनाइ छ। 

May be an image of one or more people

गाउँपालिका–४ तेनुवापट्टीस्थित सदाय बस्तीमा सञ्चालित राजदेवी महिला कृषक समूह पनि कार्यक्रमबाट लाभान्वित हुँदै आएको छ। विगत दुई वर्षदेखि सञ्चालनमा रहेको समूहका सदस्यहरूलाई बाख्रा वितरण गर्नुका साथै खानेपानी, सरसफाइ, पोषण, शिक्षा तथा स्वास्थ्यसम्बन्धी तालिम, गोष्ठी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमले महिलाहरूमा नियमित बचत गर्ने बानीको विकास गरेको छ। बचत रकमलाई घुम्ती कोषका रूपमा परिचालन गरी सदस्यहरूको आवश्यकता र आयआर्जनका काममा लगानी भइरहेको समूहले जनाएको छ। अनुगमनका क्रममा महिलाहरूले आफूहरूले कृषि उपकरण, मौसमअनुकूल बीउ तथा मल, कृषि तालिम र प्राविधिक ज्ञान प्राप्त गरेको बताए। आफ्नै खेतबारीमा उत्पादन गर्न सक्ने क्षमता विकास भएको, तरकारी तथा अन्नपातमा पहुँच बढेको, खानेपानी र सरसफाइमा सुधार आएको तथा बचत गर्ने बानीको विकास भएको उनीहरूको भनाइ थियो।

May be an image of one or more people

अनुगमनका क्रममा महिला कृषक समूहका सदस्यहरूले संस्थाले सञ्चालन गरेका कार्यक्रमले आफूहरूको दैनिक जीवन सहज बनाएको बताए। कृषि सामग्री तथा तालिमका कारण उत्पादन गर्न सिकेको, आफ्नै उत्पादन उपभोग गर्न पाएको र अतिरिक्त उत्पादनबाट आम्दानी गर्ने अवसरसमेत सिर्जना भएको उनीहरूको भनाइ थियो। महिलाहरूले यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन भए विपन्न तथा गरिब परिवारलाई जीविकोपार्जनमा ठूलो सहयोग पुग्ने बताए। कृषि उत्पादनसँगै शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी र सरसफाइलाई जोडेर कार्यक्रम सञ्चालन गरिनु प्रभावकारी भएको उनीहरूको धारणा थियो। 

कार्यक्रमको संयुक्त अनुगमनका क्रममा स्थानीय सरकार र गैरसरकारी संस्थाबीचको सहकार्यबाट विपन्न समुदायमा प्रत्यक्ष प्रभाव परेको सहभागीहरूले बताएका छन्। कृषि तथा जीविकोपार्जनसँगै शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ र सामाजिक चेतनालाई एकीकृत रूपमा अघि बढाउँदा दलित तथा भूमिहीन परिवारलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन सकिनेमा जोड दिइएको छ।

अनुगमनमा गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतो, उपाध्यक्ष ममता कुमारी यादव, कृषि शाखा प्रमुख शत्रुहन यादव, पशु सेवा शाखा प्रमुख प्रमोद जङ्ग अधिकारी, गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष गोविन्दराज विष्ट, दलित जनकल्याण युवा क्लब लहानका अध्यक्ष उमेश कुमार विष्णुके, सम्बन्धित वडाध्यक्षहरू, महिला कृषक समूहका सदस्यहरू, क्लबका कर्मचारी तथा पदाधिकारी र सञ्चारकर्मीहरूको सहभागिता थियो। अनुगमनका क्रममा सहभागीहरूले तीनवटै स्थानमा सञ्चालित कार्यक्रमको अवस्था, लाभग्राहीको प्रगति, कृषि उत्पादन, बचत तथा घुम्ती कोष, खानेपानी, सरसफाइ, शिक्षा र स्वास्थ्य क्षेत्रमा आएको परिवर्तनबारे जानकारी लिएका थिए।

स्थानीय सरकार र दलित जनकल्याण युवा क्लबबीचको निरन्तर सहकार्यले विपन्न तथा दलित समुदायलाई राहतमा निर्भर बनाउनेभन्दा सीप, उत्पादन, रोजगारी र आत्मनिर्भरताको बाटोमा अघि बढाउने प्रयास गरेको अनुगमनबाट देखिएको छ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकाका वडा ...

ओम प्रकाश यादव लहान, भदौ १६ । खडक नगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा मोतियाबिन्दुबाट प्रभा ...

लहान–२० मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ १६ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

राउ प्रादेशिक अस्पता ...

लहान भदौ १६  । सिरहाको लहानस्थित राउ प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति अभाव हुँदा उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१