Siraha Times
ताजा समाचार

ई-रिक्सामार्फत सरसफाइ अभियान : पूर्ण खुला दिशामुक्त लहान बनाउने अभियान तीव्र

  • असार २०, २०८३
  • ३८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान असार २०। लहान नगरपालिकाले पूर्ण खुला दिशामुक्त (ओडीएफ) क्षेत्र घोषणा गर्ने लक्ष्यसहित सञ्चालन गरेको सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन ई-रिक्सामार्फत जनचेतना फैलाउने अभियान सुरु गरेको छ। नगरका विभिन्न सडक तथा चोकमा सञ्चालन भइरहेका दर्जनौँ ई-रिक्साको पछाडिपट्टि सरसफाइ, शौचालयको नियमित प्रयोग, हात धुने बानी तथा स्वच्छ जीवनशैलीसम्बन्धी सन्देश लेखिएका व्यानर राखेर नागरिकलाई सचेत बनाउने कार्य भइरहेको छ।

नगरपालिकाका अनुसार पूर्वाधार निर्माणसँगै व्यवहार परिवर्तनलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिएको हो। ई-रिक्सा दैनिक हजारौँ नागरिकको सम्पर्कमा पुग्ने प्रभावकारी माध्यम भएकाले यसको प्रयोगबाट सरसफाइसम्बन्धी सन्देश घर-घरमा पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीका अनुसार अभियानले शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र स्वास्थ्यसम्बन्धी व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन थालेको छ। लहान–१ की सोनिया सदायले घरमा शौचालय बनेपछि महिलाको दैनिकी निकै सहज भएको बताइन्।

उनले भनिन्, "पहिले शौच गर्न राति अँध्यारो पर्खनुपर्ने अवस्था थियो। झाडी, बाँसबारी वा खेतमा जानुपर्दा दुर्व्यवहारको जोखिम, सर्प तथा किराको डर सधैं रहन्थ्यो। अहिले घरमै शौचालय भएपछि महिलाको सुरक्षा, सम्मान र स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ।"

त्यसैगरी, लहान–१ कै सगीता सदायले शौचालय निर्माणसँगै हात धुने बानीको विकास भएको बताइन्। "पहिले साबुनपानीले हात धुनुपर्छ भन्ने जानकारी नै थिएन। अहिले नियमित हात धुने बानी बसेपछि रोगबाट बच्न सहज भएको छ," उनले भनिन्।

लहान नगरपालिका यसअघि खुला दिशामुक्त क्षेत्र घोषणा भए पनि त्यसको निरन्तरता कायम राख्न नसक्दा उपलब्धि पूर्ण रूपमा संस्थागत हुन सकेको थिएन। पछिल्ला वर्षहरूमा कतिपय स्थानमा शौचालयको नियमित प्रयोगमा कमी आउनु, सरसफाइका व्यवहार कमजोर हुनु तथा अनुगमन प्रभावकारी हुन नसक्नु चुनौतीका रूपमा देखिएको थियो।

यही अवस्थालाई सुधार गर्दै नगरपालिकाले पुनः अभियानलाई तीव्रता दिएको जनाएको छ। सबै घरपरिवारमा शौचालयको नियमित प्रयोग सुनिश्चित गर्न तथा सरसफाइलाई दैनिक जीवनशैलीको हिस्सा बनाउन वडा तहदेखि समुदायसम्म विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। लहान–७ का वडाध्यक्ष रामऔतार शर्माले पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यसहित अभियानलाई वडा स्तरसम्म विस्तार गरिएको जानकारी दिए।

उनका अनुसार घरदैलो अभियान, टोलभेला, विद्यालयस्तरीय सचेतना कार्यक्रम, महिला समूह तथा युवा क्लबमार्फत अन्तरक्रिया, सरसफाइ अभियान र ई-रिक्सामार्फत सूचना प्रवाहलाई विशेष प्राथमिकता दिइएको छ। "ई-रिक्साले यात्रु मात्र होइन, जनचेतना पनि बोकेका छन्," उनले भने, "सन्देशमूलक व्यानरमार्फत दैनिक हजारौँ नागरिकसम्म सरसफाइ, शौचालयको नियमित प्रयोग र हात धुने बानीबारे जानकारी पुगिरहेको छ।"

नगरपालिकाले शौचालय निर्माण गरेका सबै परिवारलाई नियमित प्रयोग, सफाइ तथा साबुनपानीले हात धुने बानीलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेको छ। सरसफाइलाई केवल शौचालय निर्माणमा सीमित नराखी व्यवहार परिवर्तनसँग जोड्न सके मात्र पूर्ण खुला दिशामुक्त नगरको लक्ष्य दिगो रूपमा हासिल हुने नगरपालिकाको विश्वास छ। स्वास्थ्यकर्मीहरूका अनुसार खुला दिसामुक्त वातावरणले झाडापखाला, हैजा, टाइफाइड, आन्द्रासम्बन्धी संक्रमण तथा अन्य सरुवा रोगको जोखिम उल्लेखनीय रूपमा घटाउँछ। शौचालयको नियमित प्रयोग, सुरक्षित खानेपानी र साबुनपानीले हात धुने बानीले बालबालिका, महिला तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उनीहरूको भनाइ छ।

स्थानीयवासीको सक्रिय सहभागिता, जनप्रतिनिधिको प्रतिबद्धता तथा ई-रिक्साजस्ता प्रभावकारी सञ्चार माध्यममार्फत सञ्चालन भइरहेको जनचेतनामूलक अभियानले लहानमा सरसफाइ संस्कृतिको विकास हुँदै गएको सरोकारवालाको विश्वास छ। नगरपालिकाले आगामी दिनमा अनुगमन, जनसहभागिता र व्यवहार परिवर्तनमा केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै पूर्ण खुला दिशामुक्त लहान निर्माणको अभियानलाई सफल बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

असार मसान्तमा हतारिए ...

रहमुल, सिरहा, २० असार आर्थिक वर्ष २०८२/८३ को अन्त्य नजिकिँदै गर्दा सिरहाको भगवानपुर गाउँपालिकामा विक ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार २०। सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त ...

सुरुङ्गामा १८० घण्टे ...

ओम प्रकाश यादव लहान असार २०। महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सुरुङ्गा नगरपालिकाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१