Siraha Times
ताजा समाचार

तराईमा जुडशीतलको उल्लास: प्रकृति संरक्षण र सामाजिक सद्भावको मौलिक पर्व

  • वैशाख २, २०८३
  • ६४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल/ सिराहा वैशाख २ । तराई-मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइँदैछ । नयाँ वर्षको आगमनसँगै वैशाख २ गते मनाइने यो पर्वलाई प्रकृतिमैत्री, वातावरण संरक्षण र स्वास्थ्य सचेतनाको अनुपम कडीका रूपमा लिईन्छ । ​ ​जुडशीतलको मुख्य विशेषता भनेकै मान्यजनबाट प्राप्त हुने आशीर्वाद हो ।

आजको दिन बिहानै घरका ज्येष्ठ सदस्य तथा अभिभावकले आफूभन्दा सानाको शिरमा शीतल जल छर्केर आशीर्वाद दिने गर्छन् । वैशाखको प्रचण्ड गर्मीमा शरीर र मस्तिष्क शीतल रहोस्, जीवनमा सुख, शान्ति, आरोग्यता र दीर्घायु प्राप्त होस् भन्ने कामनाका साथ यो विधि सम्पन्न गरिन्छ । ​ ​जुडशीतल केवल मानिसको लागि मात्र नभई सम्पूर्ण चराचर जगत् र वनस्पतिका लागि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । यस दिन घरका रुखबिरुवा र बगैँचामा पानी हाल्ने चलन छ, जसले सुक्खा मौसममा वनस्पतिलाई जीवनदान दिने सन्देश प्रवाह गर्छ ।

​थारू समुदायले यसलाई 'सिरुवा पर्व' का रूपमा मनाउने गर्छन् । कृषि प्रधान क्षेत्र भएकाले यो पर्वमा कृषि उपजको प्रयोग बढी हुन्छ । मिथिला क्षेत्रमा यसलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ, जहाँ धुलो र हिलो खेल्ने परम्पराले कृषिसँगको मानव सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । ​ ​पर्वको पहिलो दिन (वैशाख १ गते) लाई 'सतुवाइन' भनिन्छ । उक्त दिन सात प्रकारका खाद्यान्न (चना, जौ, मकै, चामल, मुँग आदि) मिसाएर बनाइएको सातु र सखरको सर्वत कुलदेवतालाई चढाइन्छ र दान गरिन्छ । ​ ​

बदलिँदो मौसम र बढ्दो तापक्रमका कारण स्वास्थ्यमा आउने समस्याबाट बच्न जुडशीतलको वैज्ञानिक महत्त्व रहेको विज्ञहरूको तर्क छ । शरीरको तापक्रम सन्तुलन राख्न र पाचन प्रणालीलाई सहज बनाउन यस पर्वमा खाइने परम्परागत परिकारहरू लाभदायक मानिन्छन् । ​त्यस्तै, टोलछिमेकमा हिलो र धुलो छ्यापाछ्याप गरेर साथीभाइबीच आपसी सद्भाव, भाइचारा र सामाजिक एकता सुदृढ गर्ने गरिन्छ । जल र जमिनको विनाश भइरहेको वर्तमान अवस्थामा यो पर्वले जल संरक्षण र वातावरण जोगाउने प्रेरणा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१