लहान नगरपालिकाद्वारा दलित तथा विपन्न बस्तीमा न्यानो कम्बल वितरण

  • पुस १३, २०८२
  • ३५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदायलाई लक्षित गरी न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ । जाडोबाट सबैभन्दा बढी प्रभावित हुने दलित, मुसहर तथा आर्थिक रूपमा कमजोर परिवारलाई राहत दिन नगरपालिकाले न्यानो कम्बल वितरण थालेको हो ।

यसैक्रममा शनिबार लहान नगरपालिकाले वडा नम्बर १५ स्थित बानो टोलका २८ जना विपन्न मुसहर परिवारलाई न्यानो कम्बल वितरण गरेको छ । त्यस्तै वडा नम्बर २४ का ८५ जना दलित तथा विपन्न नागरिकलाई पनि कम्बल प्रदान गरिएको छ । चिसोका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा नगरपालिकाबाट प्राप्त न्यानो कम्बलले राहत मिलेको स्थानीयवासीहरूले बताएका छन् ।

नगर प्रमुख महेशप्रसाद चौधरीले यस वर्षको जाडो मौसममा नगरका सबै वडामा गरी पाँच सयभन्दा बढी कम्बल वितरण गर्ने योजना रहेको जानकारी दिए । “जाडोको समयमा दलित, विपन्न र गरिब समुदाय सबैभन्दा बढी प्रभावित हुन्छन्,” मेयर चौधरीले भने, “नगरपालिकाको दायित्व भनेकै यस्ता समुदायलाई समयमै राहत पुर्‍याउनु हो । त्यसैले सबै वडामा आवश्यकताको आधारमा कम्बल वितरण गरिनेछ ।”

उनका अनुसार नगरपालिकाले वडास्तरमै तथ्यांक संकलन गरी वास्तविक रूपमा आवश्यक पर्ने परिवारलाई प्राथमिकतामा राखेर न्यानो कपडा वितरण गरिरहेको छ । यसले राहत सामग्री दुरुपयोग नहोस् र सही व्यक्तिसम्म पुगोस् भन्ने उद्देश्य लिएको छ । कम्बल वितरणसँगै नगरपालिकाले सर्वसाधारण तथा बटुवालाई लक्षित गरी सार्वजनिक स्थानमा आगो बाल्ने व्यवस्था पनि मिलाएको छ । चिसो अत्यधिक बढेकाले बिहान र साँझको समयमा चोक, बजार क्षेत्र तथा मानिसहरूको बढी आवतजावत हुने स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख चौधरीका अनुसार गाउँ तथा बजारका मुख्य स्थान, बसपार्क, चोक र भिडभाड हुने क्षेत्रहरूमा यस्तो व्यवस्था गरिएको हो । “विशेष गरी वृद्धवृद्धा, बालबालिका, मजदुर र बटुवाहरूलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा आगो बाल्ने व्यवस्था गरिएको छ,” उनले बताए ।

स्थानीयवासीहरूले नगरपालिकाको यस पहलको स्वागत गरेका छन् । चिसो मौसममा न्यानो कपडा र आगो ताप्ने व्यवस्था गरिदिँदा स्वास्थ्य समस्याबाट जोगिन सहयोग पुगेको उनीहरूको भनाइ छ । विशेष गरी दैनिक ज्यालादारी मजदुर र घरबारविहीन बटुवाका लागि यो व्यवस्था निकै उपयोगी बनेको छ ।

नगरपालिकाले आगामी दिनमा पनि चिसोको अवस्था हेरेर राहत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । साथै, आवश्यक परे थप न्यानो कपडा तथा अन्य सहयोग सामग्री वितरण गरिने मेयर चौधरीले जानकारी दिए । चिसोबाट कसैको पनि ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यसहित नगरपालिकाले सामाजिक उत्तरदायित्व वहन गर्दै यस्तो कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया वीरगंज १३ पौष। नेशनल मेडिकल कलेज वीरगंज तथा प्रिस्टिन भ्याली ड्राइपोर्ट वीरगंजको संयुक ...

सहिद आमाको संघर्ष र ...

ओम प्रकाश यादव लहान, पुस १२। उहाँलाई पहिलो नजरमै देख्दा खुसमन्द, सरल र कोमल मन भएकी महिला जस्तो लाग् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१