Siraha Times
ताजा समाचार

विपन्न दलित समुदायको शोकमा साहरा बन्यो नगरपालिका

  • कार्तिक ३, २०८२
  • ९१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआमाको एक साताभित्रै निधन भएपछि नगरपालिका मार्फत आइतबार राहत सामग्री तथा नगद सहयोग प्रदान गरिएको छ । ७० वर्षीय बौधु सदायको निधनपछि क्यान्सरबाट पीडित उनकी श्रीमती कुमारी सदायको पनि ७ दिनभित्रै निधन भएको थियो । श्रीमानको मृत्युको पीडा सम्हाल्दै गर्दा आफैँ पनि गम्भीर क्यान्सरबाट जुधिरहेकी कुमारीको निधनले परिवारलाई दोहोरो पीडामा डुबायो । तर, यस दुःखद घडीमा नगरपालिका उनीहरूको सहारा बनेको छ ।

दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएका शिवशंकर सदायले नगरबाट प्राप्त सहयोगले बाबुआमाको मृत्युकर्म गर्न सहज हुने बताउनुभयो । उहाँले नगरको सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै भन्नुभयो,“हामी गरिब मजदुर, न जग्गा छ, न जमिन । नगरपालिकाले दिएको चामल, दाल, नुन, तेल र खर्चले यो दुःखको समयमा धेरै सहज भयो । दुई जना गुमाउँदा घरमै चुलो बाल्न मुस्किल थियो ।”

नगरप्रमुख महेश चौधरी आफैं पीडितको घरमा पुगेर एक क्विन्टल चामल, दाल, नुन, तेल लगायत खाद्यान्न वितरण गर्नुका साथै क्रियाखर्चका लागि जनही पाँच÷पाँच हजार रुपैयाँ पनि दिने व्यवस्था मिलाइएको बताउनुभयो । उस्तै पीडा लहान–२४ मल्हन मुसहरी टोलमा पनि देखियो । चार दिनअघि ७८ वर्षीय तेजीलाल सदायको निधन भयो । उहाँको परिवारलाई पनि नगरप्रमुख चौधरी घरमै पुगेर आइतबार राहत सामग्री र नगद सहयोग प्रदान गर्नुभयो । मृतक तेजीलालका छोरा प्रभु सदायले भन्नुभयो,“बुवाको नागरिकता छ तर मलाई अहिलेसम्म नागरिकता नै बनेको छैन । आमा पहिल्यै बित्नुभएको हो । सनाखत गर्ने कोही नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन । नगरपालिका बाट सहयोग मिल्ला भन्ने आशा छ ।”

यसबारेमा वडा अध्यक्ष राशलाल रायले प्रभु सदायको नागरिकता बनाउने प्रक्रियामा पहल गर्ने आश्वासन दिनुभयो । नगरप्रमुख चौधरीका अनुसार, नगरपालिका भित्रका दलित, विपन्न तथा विशेष गरी मुसहर समुदायमा कसैको मृत्यु भएमा नियमित राहत तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ । “मैले नगरप्रमुखको जिम्मेवारी सम्हालेदेखि हरेक दुःखद घडीमा साथ दिने प्रयास गरेको छु । मृतकका परिवारलाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो,” उहाँले चौधरीले भन्नुभयो । नगरपालिकाले मृतक परिवारप्रति सहानुभूति प्रकट गर्दै, आगामी दिनमा यस्ता सहयोगलाई अझ संस्थागत र व्यवस्थित ढंगले अघि बढाइने जनाएको छ ।

दलित, मुसहर जस्ता समुदाय, जहाँ मृत्यु भोजका लागि पनि चामल जुटाउन मुस्किल पर्छ । नगरप्रमुख चौधरी यस्ता घरमा आफैँ पुग्नुहुन्छ, राहत दिएर मात्रै होइन, सान्त्वना दिएर फर्कनुहुन्छ । उहाँले अगाडी भन्नुभयो,“सामाजिक न्याय केवल योजनामा होइन, व्यवहारमा देखिनुपर्छ । हामी हरेक मुसहर, दलित परिवारको पीडामा सहभागी हुन खोजिरहेका छौं । सुदिप राउत

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१