लहानठाडी सडक सुधारमा डिभिजनको पहल सराहनीय, तर जनताको माग अझै अधुरो

  • साउन २३, २०८२
  • ६८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान साउन २३। केही दिनअघि लहान–ठाडी सडक खण्डको दयनीय अवस्थाबारे सामाजिक सञ्जालमा भिडियोसहितको समाचार प्रसारण भएपछि डिभिजन सडक कार्यालय लहान सक्रिय भएको छ। जनगुनासोको जवाफस्वरूप तत्कालीन रुपमा टालटुल मरम्मत कार्य सुरु गरिएको छ, जसलाई स्थानियवासीहरूले सकारात्मक कदमको रुपमा लिएका छन्।

तर स्थानीय नागरिक, व्यापारी तथा सरोकारवाला निकायहरूले टालटुलको अस्थायी समाधानलाई मात्र पर्याप्त नरहेको बताएका छन्। उनीहरूका अनुसार यो सडक लहान नगरको प्रमुख व्यापारिक नाकामध्ये एक हो, जसले व्यापार, कृषि, स्वास्थ्य सेवा तथा रोजगारीका क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दछ। “केवल खाल्डाखुल्डी पुर्दैमा समाधान हुँदैन। हामीलाई फराकिलो, चिप्लो, सुविधा सम्पन्न र दिगो सडक चाहिएको छ,” एक स्थानीय व्यवसायीले भने। उनका अनुसार दैनिक हजारौं मानिस र सवारीसाधन यस सडक खण्ड भएर आवतजावत गर्छन्, तर सडकको साँघुरो र जिर्ण अवस्थाका कारण दुर्घटनाको जोखिम बढेको छ।

विशेषतः यो सडकको स्तरोन्नति चार लेनको पिच सडकको रुपमा गरिनुपर्ने स्थानीयहरूको माग छ। किनभने लहान–ठाडी मार्ग केवल आवातजावतको मार्ग मात्र नभई, युवा रोजगारी, कृषि उपजको ढुवानी तथा व्यापार विस्तारका लागि मेरुदण्डस्वरूप रहेको जनाइएको छ। यस्तै, केही युवा नेताहरूले सामाजिक सञ्जालमार्फत सरकार र सडक विभागलाई चुनौती दिँदै भनेका छन्, “हामीलाई केवल टालटुल होइन, गुणस्तरीय विकास चाहिएको छ। ठूला ठूला योजनाका कुरा सुनिन्छ तर व्यवहारमा देखिन्न। अब हाम्रो सहनशीलता सकिएको छ।”

डिभिजन सडक कार्यालय लहानका इन्जिनियरहरूपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सडक सुधारको दीर्घकालीन योजना निर्माणको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिएका छन्। तर कार्यान्वयनको स्पष्ट समयसीमा भने तोकिएको छैन। यसैबीच, स्थानीयहरूले चाडै बजेट विनियोजन गरेर लहान–ठाडी सडकलाई चार लेनको स्तरीय सडकमा रूपान्तरण गर्न सरकारसँग जोडदार माग गरेका छन्। “विकास देखिने गरी गर, केवल फोटोसेसन र माटो थुपारेर हामीलाई झुक्याउन खोजिए अब आन्दोलन गर्छौं,” एक युवा संघका प्रतिनिधिले चेतावनी दिए।

सडक निर्माणको गुणस्तर र स्थायित्वबारे निरन्तर निगरानी गर्नका लागि स्थानीय सरोकारवाला, सञ्चारकर्मी र नागरिक समाजले संयुक्त अनुगमन समिति गठन गर्ने प्रस्तावसमेत अघि सारिएको छ। सडकका कारण विकास अवरुद्ध नहोस् भन्ने नागरिकहरूको चाहना छ। उनीहरू भन्छन्, “सडकले मात्र सहर बनाउँछ, त्यसैले यो हाम्रो पहिलो प्राथमिकता हो।”

प्रतिक्रिया दिनुहोस

वीरगन्जमा एमालेको शक ...

रंजित चौरसिया,वीरगंज २३ माघ । नेकपा एमाले वीरगन्ज महानगर कमिटीको आयोजनामा केन्द्रिय उपमहासचिव तथा यु ...

सिरहा नपा–१७ मा जेष् ...

नरेशचन्द्र बरबरिया सिरहा माघ २३  । सिरहा नगरपालिका–१७ मा जेष्ठ नागरिक, एकल महिला, अपाङ्गत ...

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २३ माघ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगञ्जबीच स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१