ओम प्रकाश यादव लहान, साउन १९ । राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानमा टोकन मेशिन बिग्रँदा बिरामीहरूलाई उपचारका लागि सास्ती भोग्नु परेको छ। मेशिन विग्रिएको कारण बिरामीहरू लाइनको पालोमा नपरी हुलमुल र अव्यवस्था झेल्न बाध्य भएका छन्।
अस्पतालमा उपचारका लागि आएका महेन्द्र ठाकुर भन्छन्, "टोकन सिस्टम भएको भए सबै बिरामी लाईन अनुसार सजिलै चेकजाँच गराउन सक्थे, तर अहिलेको अवस्थामा त चिच्याउने, धकेल्ने, पहिले जान खोज्नेहरूकै हालीमुहाली छ।" प्रादेशिक अस्पताल लहानमा बिरामीको चाप दैनिक रूपमा उच्च हुने गरेको छ। यस्तो अवस्थामा टोकन प्रणाली जस्तो व्यवस्थापन प्रणाली बन्द हुँदा बिरामी मात्र होइन, चिकित्सक तथा स्वास्थ्यकर्मी पनि तनावमा पर्ने गरेका छन्।
शशिकला कुमारी महतो नामकी अर्की बिरामीले अस्पतालमा भित्रिने पालोको अनुचित हेरफेर भएको आरोप लगाएकी छन्। "मेरो पुर्जा पाँच नम्बरमा थियो, तर आठ नम्बरसम्मका बिरामी भित्र पुगिसके। म भने अझै पालोको प्रतीक्षामा छु," उनले गुनासो पोखिन्। "कसैको चिनजान छ भने अगाडि पठाइदिन्छन्, टोकन नभएपछि यस्तो गडबडी भइरहेको छ।" अस्पताल स्रोतका अनुसार टोकन मेशिन विग्रेको आज साता दिन पुग्न लागेको छ। साउन २ गते शुक्रबारदेखि मेशिनले काम गर्न छाडेको जानकारी दिइएको छ। यति संवेदनशील सेवामा यति लामो समयसम्म मर्मत नहुनु नेतृत्व र प्रविधिको लापरवाहीका रूपमा हेरिएको छ।
यसैबीच, अस्पताल व्यवस्थापन समिति अध्यक्ष शत्रुधन प्रसाद मण्डलले अस्पताल अनुगमन गर्ने क्रममा टोकन मेशिन बिग्रिएको थाहा पाएको जानकारी दिएका छन्। "मलाई यसअघि मेशिन बिग्रिएको थाहा थिएन, आज अनुगमनमा थाहा पाएँ," उनले भने, "अब चाँडै नै प्राविधिक बोलाएर मर्मत गराउनेछु। अस्पताल जस्तो संवेदनशील स्थानमा यस्तो कमजोरी अब नदोहोरियोस् भनेर सबै क्षेत्रमा ध्यान दिन जरुरी देखिन्छ।" बढ्दो बिरामीको चाप र सेवा प्रवाहको आवश्यकतालाई ध्यानमा राख्दा, टोकन प्रणालीजस्तो प्रविधिको मर्मत र संचालनमा तत्काल पहल नगरे लहान अस्पतालमा सेवा गुणस्तरमा झनै गिरावट आउने चिन्ता बढेको छ। स्थानीय बासिन्दा र बिरामीहरूले पनि अस्पताल प्रशासनलाई शीघ्र समाधानको माग गर्दै, अनियमितता अन्त्य गरी पारदर्शी स्वास्थ्य सेवा सुनिश्चित गर्न आह्वान गरेका छन्।
प्रतिक्रिया दिनुहोस
Water Aid UK टोलीद्वारा लहानका खानेपानी तथा सरसफाइ कार्यक्रमको अनुगमन, नगर विकासमा सहकार्य प्रभावकारी
१८ वर्षदेखि अलपत्र मुक्सारको खानेपानी ट्याङ्की: स्थानीय बासिन्दा काकाकुल, आश्वासनमै सीमित बन्दै योजना
बरियारपट्टी छोटी भन्सार कायम राख्न माग गर्दै जिरोमाईलमा राजमार्ग अवरुद्ध, जनप्रतिनिधि र राजनीतिक दलको समर्थन
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic