Siraha Times
ताजा समाचार

लहान १२ भोटियाटोलमा आगलागी: पाँच घर पूर्ण रूपमा नष्ट, नगरप्रमुख चौधरीद्वारा तत्काल राहत वितरण

  • चैत २६, २०८१
  • १५७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २६ चैत । सिरहा जिल्लाको लहान नगरपालिका १२ अन्तर्गत भोटियाटोलको सदाय बस्तीमा सोमबार दिउँसो करिब १२ बजे भएको आगलागीमा पाँच परिवारका घरहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विद्युत् लाइनमा अचानक भएको सर्ट सर्किटका कारण आगलागी सुरु भएको पिडित रासलाल सदायले जनाइएको छ।

आगलागीबाट सौदागर सदाय, लबकुश सदाय, कनकी सदाय, अनिल सदाय र रासलाल सदायका घरमा रहेका सामग्रीहरू लत्ताकपडा, अन्नपात, भाँडाकुँडा, नगद र अन्य सरसामान सहित जलेर खरानी भएका छन्। आगलागीको सूचना पाएपछि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिहरूको सक्रियतामा आगो नियन्त्रणमा ल्याउन प्रयास गरिएको थियो, तर दमकल ढिलो पुग्नाले आगोले क्षति गरिसकेको थियो।

स्थानीय वडा अध्यक्ष बद्री नारायण चौधरीका अनुसार, आगलागीको कारण पाँच घर पूर्ण रूपमा नष्ट भएका छन् भने केहि नगद समेत जलेका थिए । उनका अनुसार, "आगो यति छिटो फैलियो कि स्थानीयले केही बचाउनै सकेनन्।"घटना थाहा पाउने बित्तिकै लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी घटनास्थलमा पुगेका थिए। उनले २४ घण्टा नबित्दै राहत सामग्री लिएर आज मंगलवार करिब ११:३० बजे पीडितहरूसम्म पुगेर सामग्री हस्तान्तरण गरेका हुन्। नगरप्रमुख चौधरीले हरेक पीडित परिवारलाई तत्काल राहत स्वरूप २५ किलो चामल, ३ किलो दाल, ३ किलो नुन, १ किलो तेल, १ किलो सोयाबिन, १ थान त्रिपाल, १ थान पिउने पानीको बाल्टिन, ३ थान थाल, ३ थान गिलास, १ थान कराही र १ थान भात पकाउने भाँडो हस्तान्तरण गरेका थिए।

राहत वितरणका क्रममा नगरप्रमुख चौधरीले पीडितहरूसँग संवेदना व्यक्त गर्दै भने, "संकटको यस घडीमा नगरपालिका तपाईंहरूको साथमा छ। तत्काल राहत दिनुका साथै दीर्घकालीन पुनःस्थापना तथा अन्य आवश्यक सहयोगका लागि समेत नगरपालिकाले पहल गर्नेछ।" अहिले पीडित परिवारहरू अस्थायी त्रिपालको छानामुनि आश्रय लिइरहेका छन्। स्थानीय पिडितहरूले  अन्य दातृ निकायहरूबाट थप सहयोगको अपेक्षा गरेका छन्।

स्थानीय समाजसेवी, जनप्रतिनिधि र सरोकारवालाहरूले विद्युत् सर्ट सर्किटबाट हुने घटनालाई गम्भीरतापूर्वक लिनु पर्ने आवश्यकता औंल्याएका छन्। विद्युत् प्राधिकरणसँग समेत समयमा मर्मत तथा निगरानीको माग उठाइएको छ। यता, आगलागीपछि घटनास्थलमा पुगेका प्राविधिक टोलीले क्षतिको आकलन गरिरहेको छ भने नगरपालिकाले पीडितहरूको विवरण संकलन गरी थप राहतका लागि तयारी गरिरहेको छ। सामुदायिक सहकार्य, स्थानीय सरकारको तत्परता र जनप्रतिनिधिको सक्रिय भूमिकाले पीडित परिवारलाई तत्काल राहत दिलाए पनि अब दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१