Siraha Times
ताजा समाचार

२–२ वर्षमा विश्वकप गर्ने प्रस्ताव

  • जेठ ९, २०७८
  • १५१८ पटक पढिएको
  • रामएकवाल राम
alt

लाउसाने - अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०२४ पछि आफ्नो कार्यक्रममा ठूलो परिवर्तन गर्ने प्रस्ताव अगाडि सारेको छ । त्यसमा विश्वकप प्रत्येक २–२ वर्षमा गर्ने योजना रहेको छ । खेलाडीलाई बढी भार पर्ने र प्रतियोगिताको महत्त्व घट्ने डरबीच फिफाको यो प्रस्ताव अगाडि आएको हो ।

फिफाको ७१ औं कंग्रेसले पुरुष र महिला दुवैको विश्वकप २–२ वर्षमा गर्ने प्रस्तावलाई बहुमतले अगाडि बढाउने निर्णय गरेको हो । फिफाले यसबारे कुनै निश्चित समयसीमा भने तोकेको छैन । तर विश्वकप फिफाका लागि आम्दानीको सबैभन्दा प्रमुख स्रोत हो ।

सन् १९३० देखि पुरुष र सन् १९९१ देखि महिलाको विश्वकप प्रत्येक ४–४ वर्षमा आयोजना हुँदै आएको छ । फिफाको फुटबल विकास प्रमुख आर्सन वेंगरले पछिल्लो मार्चमा विश्वकपसँगै युरोपेली च्याम्पियनसिप र अन्य प्रमुख ठूला प्रतियोगिता २–२ वर्षमा आयोजना गर्नुपर्ने सुझाव दिएका थिए । युरोपेली लिगका आयोजकले यसअघि नै यसलाई अव्यावहारिक प्रस्ताव भनिसकेको छ । युरोपमा ३७ लिगको आयोजना हुने गर्छ । तर फिफाले वेंगरको प्रस्तावलाई गत साता प्रतिवेदनका रूपमा प्रकाशित गरेको थियो । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२४ को विश्व फुटबल संरचनामा परिवर्तन गर्नेबारे आफू खुला मनस्थितिमा रहेको बताएका थिए । उनले वेंगरको प्रस्तावलाई निकै आकर्षक रहेको बताएका थिए ।

प्रत्येक २–२ वर्षमा हुने विश्वकप प्रत्यक्ष प्रशारणकर्ताका लागि आकर्षक रहनेछ । तर संघ, लिग र क्लबले खेलाडीमाथि अझ चर्को भार पर्ने भनेर आलोचना गरेका छन् । म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले यसैक्रममा प्रतिक्रिया दिँदै भनेका थिए, ‘फिफा र यूईएफएलाई हामीले अझ प्रत्येक वर्ष चार सय दिन हुनुपर्छ भनेर माग गर्नुपर्छ ।’ प्रत्येक दुई वर्षमा विश्वकप भयो भने त्यसले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको अवधारणा समाप्त पार्नेछ ।

यस्तै यसले छनोटका खेललाई बढाउने छ भने प्रत्येक वर्ष अन्तर्राष्ट्रिय खेलका लागि बढी विश्राम पनि चाहिनेछ । यसले घरेलु लिगको लोकप्रियतामा पनि बाधा पुग्ने डर रहेको छ । सन् २०२४ पछि यूईएफएले च्याम्पियन्स लिगको ढाँचा पनि परिवर्तन गर्दै छ । त्यसअनुसार थप सय खेल बढी हुनेछन् । यसले क्लबमाथि आफ्ना खेलाडी चोटग्रस्त हुने डर बढी हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१