उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम्मानमा सप्तरीको बोदे बर्साईनमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। जेन–जी बोदे बर्साईन नगर समितिको आयोजनामा भएको कार्यक्रममा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले देखेको न्यायपूर्ण, समान र समृद्ध नेपालको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय सिताराम साहले देशमा लामो समयदेखि विद्यमान विभेद, जातीयवाद तथा अन्यायविरुद्ध युवाहरूले उठाएको आवाज महत्वपूर्ण रहेको बताए।
आन्दोलनका क्रममा आफ्नो ज्यान गुमाएका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शहीदहरूको बलिदानले देशलाई परिवर्तनको दिशातर्फ अघि बढ्न प्रेरणा दिएको उल्लेख गरे। त्यस्तै, युवा नेता सुरेन्द्र प्रसाद साहले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारले न्याय पाउनुपर्नेमा जोड दिए। घाइते तथा पीडित नागरिकको उचित उपचार, राहत र न्याय सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो। आफ्ना आफन्त गुमाएका परिवारको पीडा सम्बोधन गर्न सरकारले विशेष पहल गर्नुपर्ने उनले बताए।
इन्जिनियर बैजनाथ यादवले देशमा आवश्यक परिवर्तनका लागि संविधान तथा कानुनमा समेत समयानुकूल सुधार आवश्यक रहेको धारणा व्यक्त गरे। जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्दै सरकारले संविधान र कानुनमा आवश्यक संशोधन तथा सुधारका विषयमा गम्भीरतापूर्वक अघि बढ्नुपर्ने उनले बताए। कार्यक्रममा वक्ताहरूले आफूहरूले चाहेको परिवर्तन केवल सरकार परिवर्तनमा सीमित नभई व्यवस्था, सोच र कार्यशैलीमा समेत परिवर्तन हुनुपर्नेमा जोड दिए।
न्याय, समानता, सुशासन, जवाफदेहिता र नागरिकको सम्मान स्थापित हुनु नै वास्तविक परिवर्तन भएको उनीहरूको भनाइ थियो। कार्यक्रममा सहभागी युवाहरूले शहीदहरूले देखाएको बाटोमा देशलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै “शहीदहरूको सपना साकार होस्, पीडितले न्याय पाऊन् र देशमा शान्ति, समानता तथा सुशासन कायम होस्” भन्ने संकल्प गरेका थिए। दीप प्रज्वलनमार्फत आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
राष्ट्रिय कृषक समूह महासंघ नेपालको १६औँ स्थापना दिवस : जलवायुजन्य विपत्तिको क्षतिपूर्ति दिलाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल
भोटेकोशी बाढीपहिरो पीडितको सम्झनामा सिरहाको नर्गी चौकमा बृहत् दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic