Siraha Times
ताजा समाचार

कटहरियामा जेन–जी शहीद दिवसमा दीप प्रज्वलन, शहीद परिवारलाई न्याय र पीडितलाई राहत दिन माग

  • भदौ २४, २०८३
  • २९० पटक पढिएको
  • रहमुल
alt

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम्मानमा रौतहटको कटहरियामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कटहरियाका सचेत युवाहरूको आयोजनामा भएको कार्यक्रममा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले देखेको न्यायपूर्ण, समान र समृद्ध नेपालको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै कटहरिया नगरपालिकाका नगर सभापति भिखारी पण्डितले देशमा लामो समयदेखि विद्यमान विभेद, जातीयवाद तथा अन्यायविरुद्ध युवाहरूले उठाएको आवाज महत्वपूर्ण रहेको बताए।

आन्दोलनका क्रममा आफ्नो ज्यान गुमाएका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शहीदहरूको बलिदानले देशलाई परिवर्तनको दिशातर्फ अघि बढ्न प्रेरणा दिएको उल्लेख गरे। त्यस्तै, युवा नेता सोनु कुमार कुशवाहाले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारले न्याय पाउनुपर्नेमा जोड दिए। घाइते तथा पीडित नागरिकको उचित उपचार, राहत र न्याय सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो। आफ्ना आफन्त गुमाएका परिवारको पीडा सम्बोधन गर्न सरकारले विशेष पहल गर्नुपर्ने उनले बताए।

राजु भास्करले देशमा आवश्यक परिवर्तनका लागि संविधान तथा कानुनमा समेत समयानुकूल सुधार आवश्यक रहेको धारणा व्यक्त गरे। जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्दै सरकारले संविधान र कानुनमा आवश्यक संशोधन तथा सुधारका विषयमा गम्भीरतापूर्वक अघि बढ्नुपर्ने उनले बताए। कार्यक्रममा वक्ताहरूले आफूहरूले चाहेको परिवर्तन केवल सरकार परिवर्तनमा सीमित नभई व्यवस्था, सोच र कार्यशैलीमा समेत परिवर्तन हुनुपर्नेमा जोड दिए।

न्याय, समानता, सुशासन, जवाफदेहिता र नागरिकको सम्मान स्थापित हुनु नै वास्तविक परिवर्तन भएको उनीहरूको भनाइ थियो। कार्यक्रममा सहभागी युवाहरूले शहीदहरूले देखाएको बाटोमा देशलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै “शहीदहरूको सपना साकार होस्, पीडितले न्याय पाऊन् र देशमा शान्ति, समानता तथा सुशासन कायम होस्” भन्ने संकल्प गरेका थिए। दीप प्रज्वलनमार्फत आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१