रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र नेपाल मेडिकल कलेज प्रा.लि., गोकर्णेश्वर, काठमाडौंले संयुक्त रूपमा ७५ लाख रुपैयाँ सहयोग गरेका छन्।
नेपाल मेडिकल कलेज परिवार र नेशनल मेडिकल कलेज परिवारको संयुक्त योगदानस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (बाढी राहत) मा ७५ लाख रुपैयाँ जम्मा गरिएको हो। रसुवामा बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई राहत, उद्धार र आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरिएको दुवै संस्थाले जनाएका छन्।
स्वास्थ्य सेवामा निरन्तर समर्पित दुवै मेडिकल कलेजले विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिँदै प्रभावित नागरिकको साथमा उभिएको बताएका छन्। उनीहरूको संयुक्त योगदानले राहत वितरण, उद्धार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। मानवीय सेवाको भावनाबाट गरिएको यस सहयोगले विपद्को समयमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा समुदायबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
नेशनल मेडिकल कलेज, वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौंले आगामी दिनमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित नागरिकहरूको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवामूलक कार्यमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic