रहमुल, लहान २१ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिँदै गएको चुनौतीलाई न्यूनीकरण गर्दै किसानलाई दिगो, व्यावसायिक तथा आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यले मधेश प्रदेशमा जलवायु उत्थानशील कृषि कार्यक्रम सञ्चालन भइरहेको छ। CARE Nepal को सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपाल National Farmers Group Federation Nepal (NFGF) ले सञ्चालन गरिरहेको जलवायु उत्थानशील परियोजना (Climate Resilient Project) अन्तर्गत हालसम्म १५० भन्दा बढी भर्मीकम्पोष्ट (गड्यौले मल) युनिट स्थापना भइसकेको महासंघका केन्द्रीय अध्यक्ष पञ्चकाजी श्रेष्ठले जानकारी दिएका छन्।
श्रेष्ठका अनुसार भर्मीकम्पोष्ट प्रविधिले किसानलाई स्थानीय स्रोत–साधनको उपयोग गर्दै जैविक मल उत्पादन गर्न सहयोग पुर्याउनुका साथै रासायनिक मलमाथिको निर्भरता घटाउन र दिगो कृषि प्रणाली विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। यसबाट किसानको उत्पादन लागत घटाउने, माटोको उर्वराशक्ति कायम राख्ने तथा कृषि उत्पादनलाई वातावरणमैत्री बनाउने उद्देश्य राखिएको छ। महासंघले मधेश प्रदेशमा मात्र नभई देशका विभिन्न क्षेत्रमा कृषि क्षेत्रको विकास र किसानको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाइरहेको अध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार महासंघले जैविक प्रविधिमा आधारित खेतीपाती, ‘एक घर–एक प्राविधिक’ अभियान, करार खेती, कृषि आधुनिकीकरण, यान्त्रिकीकरण तथा बजारीकरण लगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ। विशेषगरी भूमिहीन, अतिविपन्न, दलित तथा गरिब किसानलाई समूहमा आबद्ध गराई करार खेतीमार्फत खाद्यान्न उत्पादनमा जोड दिइएको उनले बताए।
यस किसिमका कार्यक्रमले खाद्यान्न संकट न्यूनीकरणसँगै विपन्न परिवारलाई कृषि उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउन सहयोग पुग्ने महासंघको विश्वास छ। किसानलाई उत्पादनदेखि बजारसम्म जोड्ने र कृषि पेशालाई व्यावसायिक बनाउने योजनासमेत सञ्चालनमा रहेको श्रेष्ठले जानकारी दिए। महासंघले कृषि क्षेत्रसँगै विपद्को समयमा किसानलाई आवश्यक सहयोग उपलब्ध गराउने, किसान कार्डको अवधारणा अघि बढाउने तथा शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवास जस्ता आधारभूत आवश्यकतासँग सम्बन्धित कार्यक्रमसमेत निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।
त्यसैगरी खानेपानी तथा सरसफाइ, जलवायु परिवर्तनका नकारात्मक असरबाट कृषि तथा समुदायलाई जोगाउने उपाय लगायतका विषयमा किसान तथा समुदायलाई लक्षित गरी विभिन्न तालिम, गोष्ठी, सभा तथा सेमिनार सञ्चालन भइरहेको अध्यक्ष श्रेष्ठले बताए। जलवायु परिवर्तनका कारण अनियमित वर्षा, बाढी, खडेरी, तापक्रम वृद्धि तथा विभिन्न किसिमका प्राकृतिक विपद्को प्रत्यक्ष असर कृषि क्षेत्रमा परिरहेको अवस्थामा किसानलाई जलवायु अनुकूलनका प्रविधि र अभ्याससँग जोड्नु आवश्यक रहेको उनको भनाइ छ।
“नेपाल कृषि प्रधान देश हो। कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रविधिमैत्री र जलवायु उत्थानशील बनाउन सके मात्र किसानको जीवनस्तर सुधारसँगै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्छ,” अध्यक्ष श्रेष्ठले भने। किसानलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि, उत्पादन, यान्त्रिकीकरण, बजारीकरण, विपद् व्यवस्थापन र सामाजिक सुरक्षासँग जोडेर समग्र रूपमा समृद्ध बनाउने सोचका साथ महासंघ अघि बढिरहेको श्रेष्ठको दाबी छ। उनका अनुसार आगामी दिनमा पनि स्थानीय किसानका आवश्यकता र जलवायु परिवर्तनबाट उत्पन्न जोखिमलाई प्राथमिकतामा राख्दै कृषि क्षेत्रमा थप नवप्रवर्तनशील तथा व्यवहारिक कार्यक्रम विस्तार गरिनेछ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic