Siraha Times
ताजा समाचार

वर्षौ देखिको अवरोध तोड्दै जागेश्वर गरहाइ जनता माविमा करार नियुक्तिको छनोट परीक्षा अघि बढ्यो

  • भदौ १४, २०८३
  • ३३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता माध्यमिक विद्यालयमा विगत १४ वर्षदेखि देखिँदै आएको अवरोध र विवादलाई अन्त्य गर्दै करार नियुक्तिका लागि छनोट परीक्षा प्रक्रिया अघि बढाइएको छ। विद्यालयका प्रधानाध्यापक भोला यादव र बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवसहित सम्बन्धित पक्षको पहल तथा सहमतिपछि परीक्षा प्रक्रिया पुनः सञ्चालनमा आएको हो।

विद्यालयले प्लस टु तहत लेखा र अंग्रेजी विषयमा एक–एक जना शिक्षक तथा प्राविधिक धारतर्फ प्रशिक्षक, सहायक प्रशिक्षक र प्रशिक्षण सहायक पदमा करार नियुक्तिका लागि शनिबार छनोट परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। यसअघि बुधबारका लागि तय गरिएको परीक्षा विवाद उत्पन्न भएपछि स्थगित गरिएको थियो।शनिबार पुनः परीक्षा सञ्चालन गर्न खोजिएपछि स्थानीयवासीले विरोध जनाएका थिए। त्यसपछि विद्यालय परिसरमा ठूलो संख्यामा स्थानीयवासी तथा परीक्षार्थीहरू भेला भएका थिए भने सम्भावित तनावलाई मध्यनजर गर्दै सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो।

करार नियुक्तिको प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै बलानबिहुल गाउँपालिका–६ का वडाध्यक्ष सूर्यकुमार दासले विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका थिए। वडाध्यक्ष दासले विद्यालयका प्रधानाध्यापक भोला यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा छनोट समितिका संयोजक नथुनी दास र शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरीका शिक्षा समन्वय अधिकारी शशिकुमार यादवबीच मिलेमतो भएको आरोप लगाउँदै आएका थिए।वडाध्यक्ष दासले नियुक्ति प्रक्रियामा ‘सेटिङ’ भएको दाबी गर्दै निष्पक्ष छानबिन गरी परीक्षा प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने माग राख्दै आएका थिए। उनले गत मंगलबार शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरी परिसरमा समेत धर्ना दिएका थिए।

विवादका कारण परीक्षा सञ्चालनमा अन्योल भइरहेका बेला गाउँबाट अर्को युवाहरूको समूह विद्यालयमा पुगेको थियो। उक्त समूहले परीक्षा तोकिएकै दिन सञ्चालन हुनुपर्ने अडान राखेपछि केही परीक्षार्थीले समेत उनीहरूलाई साथ दिएका थिए।

त्यसपछि विद्यालय तथा सम्बन्धित पक्षबीच पुनः बैठक बसेर समस्या समाधानका लागि छलफल गरिएको थियो। वडाध्यक्ष सूर्यकुमार दास, बलानबिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नथुनी दास तथा विषयगत विज्ञहरूबीच भएको छलफलपछि सहमति जुटेको थियो। सहमतिपछि परीक्षा प्रक्रिया अगाडि बढाइएको विद्यालयले जनाएको छ।परीक्षा प्रक्रियालाई विवादरहित र पारदर्शी बनाउन सिसि टिभी क्यामेराको निगरानीमा तीन चरणमा छनोट परीक्षा सञ्चालन गरिएको जनाइएको छ। भदौ १३ गते पहिलो चरणको वस्तुगत परीक्षा सम्पन्न भएको थियो भने सफल परीक्षार्थीहरूले भदौ १४ गते दोस्रो चरणको परीक्षामा सहभागिता जनाएका छन्।

भदौ १३ गते सञ्चालन गरिएको वस्तुगत परीक्षामा विभिन्न पद तथा विषयतर्फ केही परीक्षार्थी सफल भएका छन्।माध्यमिक तह अंग्रेजी विषयको वस्तुगत परीक्षामा सिम्बोल नं. २ का अमलेश कुमार ठाकुर सफल भई भदौ १४ गतेको परीक्षामा सहभागी भएका छन्।त्यस्तै, प्रशिक्षण सहायक (TSLC) कृषि विषयको वस्तुगत परीक्षामा सिम्बोल नं. १ की सरिता कुमारी साह र सिम्बोल नं. ४ की कञ्चन कुमारी यादव सफल भई दोस्रो चरणको परीक्षामा सहभागी भएका छन्।माध्यमिक तह लेखा विषयको वस्तुगत परीक्षामा भने कुनै पनि परीक्षार्थी सफल हुन नसकेको जनाइएको छ।

यसैगरी, माध्यमिक तह प्रशिक्षक (B.S. Ag.) कृषि विषयको वस्तुगत परीक्षामा सिम्बोल नं. ११ का रुपेश राज यादव सफल भएका छन्।निम्न माध्यमिक तह प्रशिक्षक (I.Ag. / कृषि) विषयको वस्तुगत परीक्षामा सिम्बोल नं. १२ का दीपक कुमार यादव सफल भएका छन्।विवादका कारण पटक–पटक परीक्षा स्थगित भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा स्थानीयवासीमा समेत अन्योल सिर्जना भएको थियो। लामो समयदेखि रोकिँदै आएको नियुक्ति प्रक्रिया सहमतिका आधारमा अघि बढेपछि विद्यालयमा शैक्षिक गतिविधि थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

विद्यालय प्रशासनले परीक्षा प्रक्रियालाई निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन क्यामेराको निगरानी तथा विषयगत विज्ञहरूको सहभागितामा परीक्षा सञ्चालन गरिएको जनाएको छ। लामो समयदेखिको विवाद समाधान गरी योग्य उम्मेदवार छनोट गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको विद्यालय पक्षको भनाइ छ। यससँगै श्री जागेश्वर गरहाइ जनता माध्यमिक विद्यालयमा १४ वर्षदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको नियुक्ति तथा परीक्षा प्रक्रियाले निकास पाउने संकेत देखिएको छ। 

प्रतिक्रिया दिनुहोस

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिराहा: कल्याणपुर प् ...

विसुनदेव सरदार लहान, भदौ १३ । सिराहाको कल्याणपुरमा भएको मोटरसाइकल दुर्घटनाको घटनालाई प्रहरीले उचित क ...

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१