विसुनदेव सरदार लहान, भदौ १३ । सिराहाको कल्याणपुरमा भएको मोटरसाइकल दुर्घटनाको घटनालाई प्रहरीले उचित कानुनी प्रक्रियाबाट टुंग्याउनुको सट्टा रकम लिएर मिलापत्र गराएको आरोप लागेको छ । पीडित पक्षले दुर्घटनापछि क्षतिपूर्ति पाउन नसकेको तथा उल्टै प्रहरी कार्यालय धाउनुपरेको गुनासो गरेका छन् । कल्याणपुर प्रहरी कार्यालयको मुख्य गेट अगाडि बिहीबार बिहान करिव ११:३० बजे मोटरसाइकल दुर्घटना भएको थियो ।
स्थानीयका अनुसार स १० प ४४७ नम्बरको मोटरसाइकलले कल्याणपुर नगरपालिका–पदमपुर निवासी २६ वर्षीय सुरज माझीको नम्बर २०८० मोटरसाइकललाई ठक्कर दिँदा क्षति पुगेको थियो । ठक्कर दिने मोटरसाइकल कल्याणपुर नगरपालिका निवासी राम रत्न सहनीले चलाएको बताइएको छ । दुर्घटनापछि सहनीले चलाएको मोटरसाइकल प्रहरी कार्यालय परिसरमा राखिएको थियो । त्यसपछि प्रहरीले दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएको र घटनालाई आपसी सहमतिमा टुंग्याउने प्रक्रिया अघि बढाएको पीडित पक्षको भनाइ छ । पीडित पक्षले प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ सई धर्मेन्द्र सिंहले मिलापत्रका क्रममा आफूहरूसँग १ हजार रुपैयाँ लिएको आरोप लगाएका छन् ।
रकम लिइए पनि त्यसको प्रयोजन खुल्ने कुनै बिल वा रसिद नदिइएको उनीहरूको दाबी छ । पीडित पक्षका अनुसार मिलापत्र भएपछि पनि क्षतिग्रस्त मोटरसाइकलको क्षतिपूर्ति उपलब्ध गराइएन । दुर्घटनामा क्षति भएको मोटरसाइकलको मर्मत वा क्षतिपूर्तिको विषय टुंगो नलागेपछि आफूहरू थप समस्यामा परेको उनीहरूको गुनासो छ । उनीहरूले प्रहरीको व्यवहारप्रति समेत प्रश्न उठाएका छन् । दुर्घटनाको विषयमा छलफल गर्ने प्रहरी कार्यालय पुगेका महिलाहरूलाई समेत रातिसम्म पटक–पटक बोलाएर अल्झाउने तथा मोबाइल नम्बर माग्नेजस्ता गतिविधि भएको पीडित पक्षको आरोप छ । सामान्य दुर्घटनाको विषयलाई लामो समयसम्म तन्काएर आफूहरूलाई मानसिक तनाव दिएको उनीहरूको भनाइ छ ।
घटनामा संलग्न भनिएको मोटरसाइकल अझै प्रहरी कार्यालय परिसरमा राखिएको बताइएको छ । दुवै पक्षबीच लेनदेनपछि मोटरसाइकल फिर्ता दिने तयारी गरिएको भन्ने दाबीसमेत गरिएको छ । तर रकम कसले कसलाई कति दिने भन्ने विषय स्पष्ट रूपमा पुष्टि हुन सकेको छैन । यस घटनाले प्रहरी कार्यालयअगाडि भएको दुर्घटनाको अनुसन्धान, मिलापत्रको कानुनी आधार तथा प्रहरीको भूमिकामाथि प्रश्न उठाएको छ । विशेषगरी सेवाग्राहीसँग रकम लिइएको भए त्यसको उद्देश्य, रसिद नदिइनुको कारण र मिलापत्र कानुनी प्रक्रियाअन्तर्गत गरिएको हो भन्ने विषयमा छानबिन आवश्यक देखिन्छ ।
पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दुर्घटनाबाट भएको क्षतिको उचित क्षतिपूर्ति दिलाउन तथा रकम लेनदेन भएको भए त्यसबारे आवश्यक कारबाही गर्न माग गरेका छन् । आरोपबारे सम्बन्धित प्रहरी अधिकारीको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ। यता,कल्याणपुर प्रहरीका वरिष्ठ सब इन्स्पेक्टर धर्मेन्द्र सिँह सानोतिनो कुरामा धाकधम्की दिने, बन्दुक देखाएर सर्वसाधारण थर्काउने, जथाभावी राम्रो नराम्रो पक्षमा पनि भिडियो लिने गर्छन् । कुनै घटना : मिलापत्र बापत पिडितहरुसित मोटो रकम असुल्ने स्थानीयहरुले नाम नखोल्ने सर्तमा बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic